राजनीति

"म एमालेको झोले हुँ, तर यो झोलामा देशको सपना बोकेको छु" — प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा उभिनु ‘झोले’ भन्ने आरोपको डरले छाड्नु नपर्ने स्पष्ट सन्देश दिएका छन्।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले परिवर्तन, राष्ट्रिय एकता र समृद्ध नेपालको पक्षमा अडिग रहन सबैलाई आह्वान गरे।

ओलीले आत्मविश्वासका साथ भने, “म एमालेको झोले हुँ। तर यही झोलामा देश र जनताको परिवर्तनको चाहना बोकेको छु, र यसमा मलाई गर्व छ।” उनले स्पष्ट गरे कि व्यक्तिगत महत्वाकांक्षा होइन, राष्ट्रहित र समृद्धिको मार्गमा अघि बढे एमालेले आगामी निर्वाचनमा एकल बहुमत प्राप्त गर्न कसैले रोक्न नसक्ने दाबी गरे।

ओलीले एमालेमाथि अनेक दलहरूको मोर्चाबन्दी र षड्यन्त्र भए पनि पार्टी अझ मजबुत भएर उदाएको बताए। “मलाई हटाएर पार्टीलाई धुलो चटाउँछु भन्नेहरूले एमालेलाई कमजोर बनाउन सकेनन्। बरु आज एमाले फेरि लोकप्रियताको शिखरमा पुगेको छ,” उनले हुंकार गरे।

अध्यक्ष ओलीले अबको लक्ष्य ‘मिशन २०८४’ मा केन्द्रित भएको बताएका छन्। "जो जहाँ छौँ, त्यहीँबाट योगदान गरौँ। समृद्ध नेपाल बनाउने साझा यात्रामा बुद्धिजीवी वर्गको भूमिका पनि निर्णायक छ," भन्दै उनले राष्ट्र निर्माणमा सबैलाई सक्रिय बन्न आग्रह गरे।

सो कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको उपस्थिति रहेको थियो। विभिन्न क्षेत्रका बुद्धिजीवीहरूलाई विशेष सम्मान प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत