सङ्घीय संसदमा यी विषयमा छलफलकाे कार्यसूची, अवरोध जारी राख्ने विपक्षीकाे तयारी
- गाउँ सहर संवाददाता
- २० जेठ मंगलबार, २०८२ | ०७:३७:०० मा प्रकाशित

काठमाडौँ। आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ । तर गृहमन्त्रीको राजीनामा नआए मंगलबारको बैठकमा पनि अवरोध जारी राख्ने तयारी विपक्षी दलको छ ।
प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ ।
राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।
संसद्को अवरोध हटाउन सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ सिंहदरबारमा छलफल भए पनि आ–आफ्नो अडानमा रहेकाले सहमति हुन नसकेको हो ।
विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गर्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जाने नेपालीबाट असुल हुने गरेको प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयका कर्मचारी संलग्न रहेको आरोप विपक्षी दलको छ । उक्त आधारमा गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने माग राखी विपक्षीहरूले संसद् अवरोध गर्दै आइरहेका छन् । गृह मन्त्रालयले बनाएको मापदण्डको आडमा अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिएर लाखौं असुल्दै आएको भन्दै विपक्षी दलले अनुसन्धानको माग गरेका हुन् ।
प्रतिनिधिसभाका जेठ १३ र १४ का बैठक विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए । जेठ १५ मा बजेट ल्याउन संसद् बैठकमा अवरोध गरिएको थिएन । गृहमन्त्रीको राजीनामा नआए मंगलबारको बैठकमा पनि अवरोध जारी राख्ने तयारी विपक्षी दलको छ ।
प्रधानमन्त्री ओलीले भने गृहमन्त्रीले राजीनामा नगर्ने र संसद्मा विपक्षीको अवरोध भए पनि कारबाही अगाडि बढाउनुपर्ने बताएका छन् ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संसद् अवरोधबीच पनि चल्ने र त्यसका लागि तयार रहन सांसदहरूलाई निर्देशन दिएका हुन् । शीर्ष नेताबीचको बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले एउटा कर्मचारीलाई अख्तियारले अनुसन्धान गर्दैमा मन्त्रीको राजीनामा माग्नु उपयुक्त नभएको भन्दै संसद्मा अवरोध नगर्न आग्रह गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेदरल्याण्ड्समाथि नेपालकाे शानदार जित
- “युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न- परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ”
- नेदरल्यान्डलाई जित्न नेपालले २२६ रन बनाउनुपर्ने
- भोलिसम्मका लागि सर्यो प्रतिनिधिसभाकाे बैठक
- राष्ट्रियसभा बैठकमा के छलफल भइरहेकाे छ ? (लाइभ)
- सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार पनि ५ अर्बमै सीमित
- यी प्रदेशमा धेरै वर्षाको सम्भावना
- संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, के गर्लान् विपक्षी ?
- राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने गण्डकी सरकारको निर्णय
- यातायात बन्द फिर्ता, यस्ताे भयाे सहमति
प्रतिकृया दिनुहोस