विद्युत

तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो ।

निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्त्वपूर्ण काशेढुङ्गा बनेको छ । सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मेमा बाँध निर्माण गरी, करिब छ किलोमिटर तल तिङ्लाको भदौरेस्थित भूमिगत पावरहाउसमा पानी झारेर विद्युत् उत्पादन गरिएको हो । पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरी खोलाको बहावलाई नियन्त्रण गर्दै ऊर्जा उत्पादन गर्ने संरचना निर्माण गरिएको छ ।

सहायक प्रबन्धक चौधरीले भने, ”४१/४१ मेगावाट क्षमताका दुईवटा पेल्टन टरबाइन जडान गरिएको छ ।दुवै युनिटको ग्रिडमा सफल परीक्षण सम्पन्न भइसकेको छ । अब नेपाल विद्युत् प्राधिकरणले आगामी १५ दिनसम्म उत्पादन परीक्षण गर्नेछ ।” परीक्षणपछि विद्युत् प्राधिकरणको स्वीकृति प्राप्त गरेपछि आयोजनाले व्यावसायिक रूपमा नियमित विद्युत् प्रवाह सुरु गर्ने जनाइएको छ ।

सन् २०१६ मा सुरु गरिएको यस विद्युत् निर्माणको सुरुआतदेखि नै आयोजनालाई भौगोलिक कठिनाइ, प्राविधिक जटिलता र जलवायुजन्य अवरोध आएको थियो । निर्माण अन्तिम चरणमा पुगेका बेला, पहिरोले पेनस्टकसहितको संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । जसका कारण सबै संरचना पुन: निर्माण गर्नु परेको आयोजना सहायक प्रबन्धक चौधरीले बताए ।

यो फेरबदलले लागतमा केही वृद्धि गरेको भए पनि दीर्घकालीन टिकाउपनामा फाइदा पुग्ने अपेक्षा गरिएको छ । एफएमओसहितका विभिन्न युरोपियन बैंकहरूको १६ अर्ब लगानीमा निर्माण भएको यो आयोजना, निजी क्षेत्र र अन्तरराष्ट्रिय सहकार्यको नमूना बन्न पुगेको छ । यति ठूलो परिमाणको लगानी, जोखिम व्यवस्थापन तथा समयभन्दा अगावै निर्माणसम्पन्न हुनु आफैंमा एक सकारात्मक भएको आयोजनाका जानकारहरु बताउँछन् ।

निर्माण कम्पनीले आयोजनालाई सेप्टेम्बर २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि निर्माण कार्य दुई महिनाअघि नै सम्पन्न गरी विद्युत् उत्पादन प्रारम्भ गरेको बताइएको छ । यस तल्लो सोलु आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । उत्पादन भएको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको छ ।

यो आयोजना सरकारको ‘सुपर सिक्स’ परियोजनाको हिस्सा हो, जसअन्तर्गत निजी लगानीमा निर्माण भइरहेका ६ वटा प्रमुख जलविद्युत् आयोजना समावेश छन् । नेपालमा निजी क्षेत्रबाट अहिलेसम्म निर्माण भएको सबैभन्दा ठूलो आयोजना भने ८६ मेगावाटको सोलु दूधकोशी हो । जुन यसअघि नै सञ्चालनमा आइसकेको छ । तल्लो सोलु आयोजनाले निजी लगानीको दोस्रो ठूलो जलविद्युत् आयोजना हो ।

विद्युत् उत्पादनसँगै यस आयोजनाले सोलुखुम्बु जिल्लामा रोजगार, पूर्वाधार, व्यावसायिक गतिशीलता र आर्थिक क्रियाकलापमा उल्लेखनीय योगदान दिएको छ । सुरुङ खन्नेदेखि पेनस्टक राख्ने, टरबाइन जडानदेखि पावर हाउस सञ्चालनसम्म दर्जनौँ स्थानीय युवा प्राविधिक र अप्राविधिक क्षेत्रमा संलग्न भएका थिए । स्थानीय जनप्रतिनिधिहरूले यो आयोजना सोलुखुम्बुको समृद्धिको मूल आधार बन्ने विश्वास व्यक्त गर्दै आएका छन् । विद्युत् उत्पादनसँगै पर्यटन, उद्योग, सेवा र पूर्वाधार विकासमा थप गति आउने अपेक्षा गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत