राजनीति

लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान, बानियाँको दाबी पेस

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत गरेका छन् ।

उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

आह्वानलगत्तै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दाबी पेस गरेका छन् । नेकपा (एमाले) संसदीय दलका नेताको समर्थनसहित बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न साउन २० गते दिउँसो २ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।

नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामाले आइतबार बेलुकी राजीनामाको घोषणा गरेका थिए । पार्टी संसदीय दलको नेतामा पराजित भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

लामालाई राजीनामा दिएर नवनिर्वाचित दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने मार्ग खोलिदिन सभापति शेरबहादसर देउवाको निर्देशन दिएका दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत