जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये १९ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २३ भदौ सोमबार, २०८२ | २०:३९:०० मा प्रकाशित

काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।
मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ ।
यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको छ भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ८ जनालाई अन्यत्र रेफर गरिएको छ ।
यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।
मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ ।
काठमाडौँ उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको मन्त्रालयले बताएकाे छ ।
बिहान माइतीघर मण्डलाबाट सुरू भएको 'जेन जी' पुस्ताका युवा र किशोर किशोरीहरूको प्रदर्शन मध्यान्ह नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको निषेधित क्षेत्र पुगेपछि झडप सुरु भएको थियो । भ्रष्टाचार, नातावाद र बेथितिविरुद्ध नारा लगाउँदै अघि बढेका केही प्रदर्शनकारीहरू तारबार र पर्खाल तोडेर संसद् भवनको परिसरसम्म प्रवेश गरेर तोडफोड र आगजनी गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो पटक महिला अध्यक्ष
- ललितपुरमा मध्यरातिसम्म यी ठाउँमा कर्फ्यू
- काठमाडौँमा कर्फ्युको समय पुनः बढाइयो
- आजबाट सरकारको औचित्य समाप्त : शेखर कोइराला
- गृहमन्त्री लेखकले दिए राजीनामा
- त्रिविले सार्यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
- सोह्र श्राद्ध (पितृ पक्ष) आजबाट सुरु, यसको महत्व
- एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन पारित, फेरियाे झण्डामा अंकित हँसिया हथौडाको रंग
- नेप्से परिसूचक र काराेबार रकम सर्लक्कै घट्याे
- सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द होइन - कांग्रेस
प्रतिकृया दिनुहोस