सरकारले खारेज गर्याे सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा
- ८ असोज बुधबार, २०८२ | ०९:०८:०० मा प्रकाशित

काठमाडौं । सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । असोज ५ गते सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरिने भएको हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले भने स्वकीय सचिव राख्न पाउनेछन् ।
त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाउने भएका छन् ।
अर्थ मन्त्रालयले मुलुकको सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र स्रोतको प्रभावकारी परिचालन सुनिश्चित गर्न यस्ता सुविधा खारेज गरेको जनाएको छ।सार्वजनिक संरचनाको पुनर्निर्माण, मर्मत, सार्वजनिक सेवा प्रवाह, निर्वाचन खर्च व्यवस्थापन, र आर्थिक पुनरुत्थान जस्ता तत्काल आवश्यक क्षेत्रहरूमा स्रोत केन्द्रित गर्न विकास आयोजनाहरूको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता सम्बन्धी नयाँ निर्देशनहरू जारी गरिएको हो।
मन्त्रालयले सरकारी मन्त्रालय, निकाय, प्रदेश सरकार, र स्थानीय तहमा कार्यान्वयनका लागि पठाइएको छ।
सरकारले स्रोत सहमति लिई निर्माणाधीन आयोजनाहरूलाई बजेटको कमी हुन नदिई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
तर, मन्त्रालयगत बजेट सूचना प्रणालीमा नयाँ, पूर्वतयारी नभएका, र कम महत्वका साना आयोजनाहरूको बजेट रोक्का गर्ने निर्णय गरिएको छ। उद्देश्यभन्दा बाहिर र कम महत्वका क्षेत्रमा विनियोजित बजेट, साथै पहिचान नभएका र उपयोगिता नदेखिएका एकमुष्ट बजेट पनि रोक्का गरिएको छ। प्रदेश र स्थानीय तहबाट सञ्चालन हुन सक्ने प्रकृतिका साना र खुद्रे आयोजनाहरूमा विभिन्न मन्त्रालयहरूबाट भएको बजेट विनियोजनलाई पनि रोक्का गरिएको छ।
तर, अघिल्लो आर्थिक वर्षमा दायित्व सिर्जना भइसकेको तर भुक्तानी बाँकी रहेका क्रियाकलापहरूका लागि भने सम्बन्धित मन्त्रालयको मागबमोजिम रोक्का फुकुवा गरिनेछ। राष्ट्रिय प्राथमिकताका, स्रोत सहमति भएका, र क्रमगत आयोजनाहरूमा दायित्व सिर्जना भइसकेको तर न्यून बजेट विनियोजन भएका आयोजनाहरूका लागि रोक्का रहेका उपशीर्षकहरूबाट रकमान्तर गरी खर्चको व्यवस्थापन गरिनेछ।
चालु खर्चमा व्यापक कटौती
चालु खर्च घटाउनका लागि सरकारले कडा उपायहरू अपनाएको छ। अबदेखि, अत्यावश्यकबाहेकका तालिम, गोष्ठी, र सेमिनार सञ्चालन गरिने छैन र गर्नै परेमा सरकारी हल वा अनलाइन माध्यमको प्रयोग रिने। सरकारी खर्चमा हुने विदेश भ्रमणमा पनि रोक लगाइएको छ।
त्यस्तै, सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीहरूलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध गराइने छैन। तर, कानुनबमोजिम गठन भएको समितिको काममा कार्यालय समयभन्दा बाहिरको बैठकका लागि भने भत्ता दिन सकिनेछ।
संरचनागत सुधार र अन्य खर्च कटौती
सङ्गठन संरचनामा सुधार गर्दै, सरकारले अत्यावश्यक अवस्थामा प्राविधिक जनशक्तिबाहेक थप दरबन्दी सिर्जना नगर्ने र विशेषज्ञ सेवाका लागि स्थायी दरबन्दीको सट्टा परामर्श सेवा लिने नीति लिएको छ।
अर्थ, गृह, र परराष्ट्र मन्त्रालयलगायतका केही मन्त्रालयहरूको सङ्गठन र व्यवस्थापन सर्वेक्षण गरी अनावश्यक संरचना र दरबन्दी घटाउन निर्देशन दिइएको छ।
सवारी साधनको उपयोगमा पनि मितव्ययिता अपनाइनेछ। एकभन्दा बढी सवारी साधन प्रयोगमा रोक लगाइएको छ भने नयाँ सवारी साधन खरिद नगरी उपलब्ध साधनबाटै व्यवस्थापन गरिनेछ। यी निर्णयहरूको कार्यान्वयनको अनुगमन सम्बन्धित निकायका प्रमुखहरूले नियमित रूपमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ। यी उपायहरूले सरकारको वित्तीय अनुशासन कायम गर्न र पुँजीगत खर्चलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस