राजनीति

रास्वपा नेतृत्वप्रति असन्तुष्टि, सभापति लामिछानेलाई जिम्मेवारीबाट अलग हुन सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्वप्रति असन्तोष झन् चर्किन थालेको छ । पार्टी सभापति रवि लामिछानेलाई पदबाट अलग हुनुपर्ने औपचारिक सुझाव सुदूरपश्चिम प्रदेश समितिले केन्द्रमा पठाएको छ ।

६ असोजमा बसेको बैठकमा सदस्यहरूले व्यक्त गरेका धारणा संकलन गरेर पठाइएको पत्रमा भनिएको छ, “पार्टी सभापति स्वयंले उदारता देखाउँदै सर्वोच्च अदालतबाट विचाराधीन मुद्दामा अन्तिम निर्णय आउँदासम्म जिम्मेवारीबाट अलग रहनु उपयुक्त हुन्छ ।”

समितिले लामिछाने नख्खु कारागारबाट ‘जेनजी विद्रोह’को दोस्रो दिन बाहिरिएको घटनाले समर्थकहरूको भावनामा ठूलो चोट पुर्‍याएको निष्कर्ष निकालेको छ । ४० लाखभन्दा बढी नागरिकको हस्ताक्षर संकलन गरेर गरिएको आन्दोलनको भावना कमजोर हुनेगरी नेतृत्वले हतारमा अपरिपक्व निर्णय गरेको आरोप समितिले लगाएको हो ।

पत्रमा उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य गणेश पराजुली र ज्वाला संग्रौला नख्खु प्रकरणमा संलग्न भएको भन्दै छानबिन गरी कारबाही गर्नुपर्ने माग राखिएको छ ।

यस्तै, पार्टी सचिवालयको पुनर्गठन, प्रदेश समितिलाई स्वायत्त अधिकार दिने व्यवस्था, व्यक्तिपूजक प्रवृत्ति अन्त्य लगायतका मागहरू समेत समितिले अघि सारेको छ ।

समितिले पूर्व सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामालाई पनि नेतृत्वको कमजोरीको परिणाम भन्दै दुःखद घटना भनेर उल्लेख गरेको छ । पार्टीमा केन्द्रीय निरंकुशता बढ्दै गएको र नेतृत्वव्यक्तिप्रति अन्धविश्वास बलियो बन्दै गएको आरोप समेत गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत