खेल

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले जानकारी दिए ।

उनका अनुसार बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेसँगै कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारीले थप गति लिनेछ । प्रतियोगिता निर्धारित मितिमै सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिइने उनले बताए ।

कर्णालीमा पहिलोपटक राष्ट्रियस्तरको ठूलो खेलकुद प्रतियोगिता आयोजना हुन लागेकाले यसलाई प्रदेशको खेलकुद विकासका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । प्रतियोगिताले कर्णालीका खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशमा खेलकुद पूर्वाधार विकास र खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्बन्धित निकायसँग समन्वय गरेर तयारी अघि बढाउने जनाएको छ ।

यसअघि विभिन्न कारणले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको मिति अन्योलमा पर्दै आएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत