राजनीति

बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गते बिहीबार अपरान्ह ४ः०० बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजै आफ्नो पदबाट राजीनामा दिएका थिए। नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए।

गत ६ साउनमा नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

प्रदेश प्रमुख देवकोटाले गरेको आह्वानअनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले दलहरूको समर्थनसहित मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ।

मुख्यमन्त्री बानियाँले प्रदेश सभाबाट विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

अब नयाँ सरकार गठनका लागि प्रदेश सभामा बहुमत जुटाउने दलहरूबीच कसरत सुरु भएको छ । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ ।

नेकपा र नेकपा एमालेबीचको गठबन्धनले अन्य दलको समर्थनमा सरकार गठन गर्ने तयारी गरेका छन् । दुई दलको भागबण्डाअनुसार बागमतीमा एमालेबाट मुख्यमन्त्री हुनेछन् ।

एमालेभित्र वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाविरूद्द आफ्नै दलभित्र अविश्वासको प्रस्ताव दर्ता भएकाले प्रस्तावको छिनोफानोपछि मात्रै भावि मुख्यमन्त्रीको टुंगो लाग्नेछ । १६ जना सांसदको हस्ताक्षरमा भक्तपुरका किरण थापा मगरलाई दलको नेता बनाउन माग गर्दै २७ साउनमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । भोलि मंगलबार दलको बैठक बोलाइएको र अविश्वास प्रस्तावको टुंगो लगाइने थापाले बताए ।

बागमती प्रदेश सभा १०४ सदस्यीय रहेको छ  । नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत