राजनीति

कांग्रेस सहमहामन्त्रीमा ओमबहादुर घर्तीमगरको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आदिवासी जनजातितर्फबाट सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घाेषणा गरेका हुन्।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नेतृत्व गर्दै आएका घर्तीमगरले पार्टी संगठनभित्र समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।

घर्तीमगर सामाजिक तथा बौद्धिक क्षेत्रमा समेत सक्रिय व्यक्तिका रूपमा परिचित छन्। नेपाली कांग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनबाट उनी २०८१ असारमा अध्यक्षमा सर्वसम्मत चयन भएका थिए। महासंघको नेतृत्वमा रहँदा उनले संगठन विस्तार, प्रशिक्षण तथा आदिवासी जनजातिका राजनीतिक, सामाजिक र अधिकारका विषयलाई पार्टीभित्र उठाउँदै आएका छन्।

महासंघको नेतृत्व सम्हालेपछि देशभरका जिल्ला पार्टी नेतृत्व तथा आदिवासी जनजाति समुदायसँग समन्वय गर्दै संगठनलाई सक्रिय बनाउने प्रयास गरेको घर्तीमगरले बताउँदै आएका छन्। उनको नेतृत्वमा महासंघको प्रथम राष्ट्रिय महाधिवेशनसमेत सम्पन्न भएको थियो।

घर्तीमगरले नेपाली कांग्रेसभित्र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व र सहभागितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। आदिवासी जनजाति मात्र नभई पिछडिएको क्षेत्र, सीमान्तकृत तथा अवसरबाट वञ्चित समुदायका सवाललाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा स्थापित गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

उनका अनुसार पार्टीभित्र विभिन्न समुदायको सहभागिता सुनिश्चित हुनु मात्र पर्याप्त नभई उनीहरूका वास्तविक सवाल र आवाज नेतृत्व तहसम्म पुग्नुपर्ने आवश्यकता छ। यही उद्देश्यले आफूले सहमहामन्त्री पदमा उम्मेदवारीको तयारी गरेको उनले बताएका छन्।

‘पार्टीलाई समावेशी, सुदृढ र गतिशील बनाउन आदिवासी जनजाति, पिछडिएको क्षेत्र तथा अवसरबाट वञ्चित समुदायका सवाललाई प्रभावकारी रूपमा उठाउन आवश्यक छ,’ घर्तीमगरले भने।

उनले आफूले लामो समयदेखि पार्टी संगठन र आदिवासी जनजातिका क्षेत्रमा गरेको काम, राजनीतिक अनुभव तथा संगठन सञ्चालनको क्षमतालाई उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन्।

घर्तीमगर २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको उम्मेदवारका रूपमा मैदानमा उत्रिनुका साथै पार्टीको भ्रातृ संगठनको नेतृत्व गरिसकेको अनुभवलाई उनले आगामी महाधिवेशनमा सहमहामन्त्री पदको उम्मेदवारीसँग जोडेर अघि बढाएका छन्।

घर्तीमगरले आफ्नो राजनीतिक यात्रा, संगठनप्रतिको निरन्तर योगदान, अनुभव र कार्यक्षमताको मूल्याङ्कन गर्दै आफूलाई सहमहामन्त्री (आदिवासी जनजाति) पदमा मत दिएर विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

घर्तीमगरले आदिवासी जनजाति समुदाय र नेपाली कांग्रेसबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा समेत जोड दिँदै आएका छन्। महासंघको अध्यक्षका रूपमा उनले आदिवासी जनजाति समुदायलाई पार्टीको नीति, विचार र लोकतान्त्रिक प्रक्रियाबारे थप जानकारी गराउने तथा संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्।

उनले आदिवासी जनजातिका भाषा, संस्कृति, पहिचान र अधिकारका विषयलाई राजनीतिक बहसको हिस्सा बनाउनुपर्ने धारणा राख्दै आएका छन्। साथै पार्टी संगठनलाई वडा, पालिका, प्रदेश क्षेत्र, जिल्ला हुँदै प्रदेश र संघीय तहसम्म थप सक्रिय बनाउनुपर्ने उनको जोड छ।

अब सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेसँगै घर्तीमगरले महाधिवेशन प्रतिनिधिसँगको भेटघाट तथा आफ्नो राजनीतिक एजेन्डाबारे छलफललाई समेत अघि बढाउने तयारी गरेका छन्।

कांग्रेसको आगामी १५औँ महाधिवेशनमा विभिन्न समावेशी समूहबाट नेतृत्वका लागि आकांक्षीहरू अघि बढिरहेका बेला घर्तीमगरले आदिवासी जनजातितर्फबाट सहमहामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

गाउँ सहर संवाददाता

तपाईँको मत