खेल

चितवनको विजयी सुरुवात, विराटनगरको हार

काठमाडौं। डविड मलानको उत्कृष्ट ब्याटिङ र कमल ऐरिको कसिलो बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ। 

आज पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवनले एनपीएलमा सुखद सुरुवात गरेको हो। 

चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर ३ बल अगावै १ सय ४९ रनमा अलआउट भयो। 

विराटनगरका लागि ओपनर इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए। आन्द्रे रसेल ३३ रन बनाउँदै पेभेलियन फर्के। एंगेलो म्याथुसले १४ र बसिर अहमदले १३ रन थपे। रुपेश सिंह, प्रतिश जि.सी र कप्तान सन्दीप लामिछाने शुन्य रनमा नै आउट भए। 

चितवनका लागि कमल ऐरिले ४ विकेट लिए। उनले आफ्‌नो स्पेलमा २६ रन खर्चे।  रिजन ढकालले २ विकेट लिए। रन्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट आफ्‌नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको थियो।

चितवनका लागि ओपनर डविड मलानले ७० रनको महत्वपुर्ण योगदान दिए। उनले ५० बलमा ५ चौका र ५ छक्का सहयोगमा ७० रन बनाउँदा आन्द्रे रसेलको बलमा बोल्ड आउट हुन पुगे। 

अर्का ओपनर देव खनालले १५ बलमा १२ रन बनाउँदा आउट भए। अर्जुन साउद ३ रन बनाउँदा क्याच आउट हुन पुगे। 

कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहे। रविले २६ बलमा १ चौका र २ छक्का प्रहार गरे। 

विराटनगरका लागि एंगेलो म्याथुस, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्नेछन्। खेल साँझ ५ बजे सुरु हुनेछ।

गाउँ सहर संवाददाता

तपाईँको मत