दिगोविकास

भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह

काठमाडौँ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा ननिस्कन पर्यटकलाई आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण पदयात्रीको सुरक्षामा जोखिम बढ्न सक्ने भन्दै विभागले जोखिमयुक्त क्षेत्रमा नजान र पदयात्रामा रहेकालाई सुरक्षित स्थानमा रहन निर्देशन दिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीलाई आधार मान्दै गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले यस्तो आग्रह गरेको हो । विभागले मौसममा आउन सक्ने प्रतिकूल परिवर्तनका कारण हिमाली क्षेत्रमा जनधनको क्षति हुन सक्ने जोखिम रहेकाले पर्यटक, ट्रेकिङ एजेन्सी तथा गाइडलाई विशेष सतर्कता अपनाउन भनेको छ ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईँले सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेका छन् । पदयात्राका क्रममा रहेका पर्यटकलाई आफू रहेकै स्थानमा सुरक्षित रहन र मौसमको अवस्था अनुकूल नभएसम्म जोखिमपूर्ण यात्रा अघि नबढाउन निर्देशन दिइएको छ ।

प्रतिकूल मौसमलाई ध्यानमा राख्दै विभागले मंगलबारदेखि नै कात्तिक १२, १३ र १४ गतेका लागि निषेधित क्षेत्रमा पदयात्रा अनुमति जारी गर्न रोक लगाएको जनाएको छ । यसबाट सम्भावित हिमपात र हिमपहिरोका कारण हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ ।

विभागले ट्रेकिङ एजेन्सी, पदयात्रा गाइड तथा सम्पूर्ण पदयात्रीलाई मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन, जोखिमयुक्त मार्गबाट टाढा रहन र जारी निर्देशनको पूर्ण पालना गर्न अपिल गरेको छ ।

हिमाली क्षेत्रमा मौसमले छोटो समयमै प्रतिकूल रूप लिन सक्ने भएकाले पदयात्रामा निस्कनुअघि मौसमको पछिल्लो अवस्था बुझ्न र सुरक्षालाई प्राथमिकतामा राख्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत