स्वास्थ्य

कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

काठमाडाैँ। सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ।

परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार कार्यक्रमका लागि देशभर औषधि पठाइसकिएको छ। कार्यक्रम सञ्चालन गर्न करिब ५१ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १० हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन्।

देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन हुने कार्यक्रममा बालबालिकालाई भिटामिन ‘ए’ को कमी, रतन्धो तथा पोषणसम्बन्धी समस्याबाट जोगाउने उद्देश्य राखिएको छ।

निर्धारित समयमा औषधि खुवाउन छुटेका बालबालिकाले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी औषधि लिन सक्ने व्यवस्था गरिएको छ। सरकारले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकको वितरण केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत