राजनीति

‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम

काठमाडौँ। जेन–जी अगुवा रक्षा बमले पत्रकारमाथि प्रहरीको धरपकड र सञ्चारमाध्यममाथि भइरहेको दबाबप्रति कडा आपत्ति जनाएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।

शुक्रबार एकैपटक विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई पक्राउ गरिएको तथा पक्राउ गर्ने प्रयास भइरहेको घटनाप्रति प्रतिक्रिया जनाउँदै बमले रास्वपाले अब सुशासनको नारा लगाउन उचित नहुने टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ। कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने।’

शुक्रबार प्रहरीले नेपाल प्रेसका संवाददाता विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै पक्राउ गरेको छ। त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल पनि पक्राउ परेका छन्।

यसैगरी, नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली पुतलीसडकस्थित कार्यालयमै पुगेको बताइएको छ। अन्य पत्रकारहरूलाई समेत पक्राउ गर्न प्रहरी परिचालित भएको विवरण सार्वजनिक भएका छन्।

पत्रकारमाथिको यस्तो कारबाहीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको छ। घटनालाई लिएर सञ्चार क्षेत्र तथा विभिन्न व्यक्तिहरूबाट विरोध र चासो व्यक्त हुन थालेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत