खेल

लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो

काठमाडौं । लगातारको वर्षाले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा आजको पहिलो खेल रद्द भएको छ।

साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच आज पहिलो खेल हुने तालिका थियो। नेपाल क्रिकेट संघ (क्यान) ले खेल रद्द भएको जनाएको छ।  दुबै टोलीको यो दोस्रो खेल थियो। दुबैले जितका साथ सिजन ३ को सुरुवात गरेका थिए। 

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेट र चितवनले विराटनगर किंग्सलाई ८ रनले हराएको थियो। खेल रद्द भएको अवस्थामा १/१ अंक बाडेका छन् । दुबै टोलीको समान ३ अंक छ। 

अघिल्ला दुई संस्करणमा चितवनले लुम्बिनीलाई हराउन सकेको छैन। दुवै पटकलुम्बिनीले चितवनमाथि जित निकालेको थियो।

एनपिएलको पहिलो संस्करणमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। जवाफमा चितवनले ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो।

त्यस्तै, दोस्रोमा लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो। चितवनले दिएको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

आज साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम बीच खेल हुने तालिका छ। पहिलो खेलमा लुम्बिनीसँग पराजित सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो। विराटनगर भने पहिलो खेलमा चितवन र दोस्रोमा कर्णाली याक्ससँग पराजित भएको थियो। 

गाउँ सहर संवाददाता

तपाईँको मत