गाउँ सहर

कर सप्ताहमा लेखनाथका व्यवसायीलाई कर शिक्षा

लेखनाथ । हरेक वर्ष मङ्सिर १ गते देखि मङ्सिर ७ गतेसम्म नेपालमा 'कर सप्ताह' मनाउदै आएका सन्दर्भमा कास्कीको लेखनाथका व्यवसायीलाई करदाता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालमा २०६९ सालदेखि हरेक वर्ष मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवस का रूपमा र त्यसपछिको सातालाई कर सप्ताहका रूपमा मनाउन थालिएको हो। आन्तरिक राजस्व कार्यालय पोखराको सहकार्य तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा लेखनाथ क्षेत्रका व्यवसायीलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

करदातालाई कर प्रणाली, करसम्बन्धी नीति नियम तथा व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आन्तरिक राजस्व कार्यालय कास्कीले जनाएको छ । कर दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा पुगेर करदाता शिक्षा प्रदान गरिने कार्यालयका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिए ।

व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि यस वर्ष सरकारले कर छुटको व्यवस्था ल्याएको उल्लेख गर्दै त्यसको भरपूर उपयोग गर्न आग्रह गरे । व्यवसायीहरू कर प्रणालीबारे अनभिज्ञ हुँदा विभिन्न समस्या भोग्नुपर्ने अवस्था रहेकाले व्यवसायको प्रवद्र्धन र सहज सञ्चालनका लागि कर शिक्षा आवश्यक रहेको उनको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षमा एक अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म दुई अर्ब चार करोड रुपैयाँ संकलन गर्न सफल भएको उनले जानकारी दिए ।करदाता र कार्यालयबीचको दूरी कम गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए ।कर देशको मेरुदण्ड भएको उल्लेख गर्दै उनले करदाताबाट संकलित राजस्वबाटै देशको प्रशासनिक तथा विकासका गतिविधि सञ्चालन हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले करदाताका लागि सरकारले ल्याउने विभिन्न सहुलियत तथा योजनाबारे जानकारी गराउँदा व्यवसायीलाई लाभ पुग्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले व्यवसायीका समस्या समाधान गर्न संघले लेखा प्रणालीदेखि कर शिक्षासम्मका तालिम सञ्चालन गर्दै आएको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपर्ने समस्या समाधानमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन उपमहासचिव गंगा कुमारी मल्लले गरेकी थिइन् ।

कर सप्ताहका अवसरमा काठमाडौँ लगायत पोखरा, नेपालगन्ज, हेटौँडा र देशभरका आन्तरिक राजस्व कार्यालयहरूले प्रभातफेरी, करदाता शिक्षा, उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया तथा राजस्व छुट तथा सहुलियत सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। यस वर्षको राष्ट्रिय कर दिवसको नारा …कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता रहेको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत