राजनीति

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै, प्रतिस्पर्धामा तीन उम्मेदवार

दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिस्पर्धामा सहभागी छन् ।

सत्तारूढ एमालेकातर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा कुल १०९ पालिका रहेका छन् । तीमध्ये काँग्रेसले ४८ पालिकामा जितेको छ । एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, काँग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा र जनमतले ३–३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १–१ सिट जितेका छन् । स्वतन्त्रबाट भने २ जनाले जितेका छन् । स्वतन्त्रबाट ३ जनाले जिते पनि निर्वाचित भइसकेपछि एक जना स्वतन्त्र निर्वाचित व्यक्ति नेकपा (माओवादी केन्द्र)मै फर्किएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत