खेल

नेपालले खेल नजितेकाे मन जितेकाे नेदरल्याण्ड्ससँगकाे खेल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल जित नजिक पुगेर पनि पराजित भएको छ । तथापी पछिल्लाे समय राम्राे खेलिरहेकाे नेपालले साेमबारकाे खेलमा धेरैकाे मन भने जितेकाे छ । नतिजालाई छाड्ने हो भने नेपाली खेलाडी र टिमको प्रदर्शनले मन जित्यो ।उक्त खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।

निर्धारित २० ओभरको खेल टाइ भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाइ भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले बाजी मारेको हो ।

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन नै बनाएको थियो ।

दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन नै जोडेपछि खेल फेरि तेस्रोपटक सुपर ओभरमा गएको थियो ।

तेस्रो सुपर ओभरमा भने नेपालले रन नै जोड्न सकेन । पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । १ रनको लक्ष्य नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर जित्यो ।

त्यसअघि निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि स्कोर बराबर भएर खेल सुपर ओभरमा गएको थियो ।

कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाएर फिनिस भने गर्न सकेका थिएनन् । कुशल भुर्तेलले ३४ रन बनाए ।

नेपाललाई अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा सन्दीप लामिछाने र नन्दन यादव क्रिजमा थिए । सन्दीपले पहिलो बलमा २ रन लिए, दोस्रो बलमा १ रन लिएर नन्दनलाई स्ट्राइक दिए ।

तेस्रो बलमा नन्दनले चौका प्रहार गरे । चौथो र पाँचौं बलमा २-२ रन लिएर अन्तिम बलमा ५ रन आवश्यक हुँदा नन्दनले चौका प्रहार गरेका थिए ।

नेदरल्याण्ड्सका डानियल डोरामले ४ ओभरमा १४ रन मात्र दिएर ३ विकेट लिए । विक्रमजित सिंहले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए । काइल क्लेइन, बेन फ्लेचर र जाच लायनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाउँदै नेपाललाई १५३ रनको लक्ष्य दिएको थियो ।

नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए भने विक्रमजित सिंहले ३० तथा साकिब जुलफिकरले अविजित २४ रन बनाए ।

ओपनर माइकल लेभिटले २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । जाच लायन काचेटले ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । नन्दन यादवले २.५ ओभरमा १८ रन दिएर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।

यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२०आईमा ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले डेब्यू गरेका छन् ।

यो नेपालको १००औं टी-२०आई खेल पनि हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत