गाउँ सहर

कुश एकप्रकारकाे घाँस मात्रै हाेइन, यस्ताे छ आवश्यकता र महत्व

खासगरी हिन्दु समाजमा जन्मदेखि मृत्युसम्म मात्र होइन, मृत्युपर्यन्तका संस्कार कर्ममा पनि कुश (एक प्रकारकाे घाँस) नभई नहुने वस्तु हो । वैदिक साहित्य र हिन्दु धार्मिक कार्यमा कुशलाई पवित्र मानिएको छ । 

सनातन संस्कृति परम्परामा भाद्र कृष्ण औँशी अर्थात् कुशेऔँशीकै दिन घर घरमा कुश भित्र्याइन्छ, जुन विशेष परम्परा, पहिचान, धार्मिक, सामाजिक, वैज्ञानिक र आयुर्वेदिक महत्त्व भएको बहु उपयोगी वनस्पति हो । कुशको वैदिक परम्परादेखि नै ठूलो महत्त्व रहेको छ । हरेक वर्ष मनाइने यो पर्व केवल धार्मिक रीतिरिवाजमा मात्र सीमित नभई हाम्रो परम्परा र पहिचानसँग गहिरो सम्बन्ध राख्दछ ।

पुरोहितले मन्त्रोच्चारणपूर्वक काटको कुश यजमानका घरमा लग्ने चलन छ । यसरी काटिएका कुशलाई ढोकामाथि सिउरिने गरिन्छ । यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्ने विश्वास गरिन्छ । यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक र पितृकार्यमा प्रयोग गर्ने चलन छ ।

जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने शास्त्रमा बताइएको छ । सबैकहाँ नहुने कारणले कुशेऔँसीका दिन पुरोहितले कुश काटेर यजमानका घरमा लग्ने र वर्षभरि प्रयोग गर्ने चलन चलेको हो ।

कुशको महत्त्व

कुशलाई संस्कृतमा पवित्र, दर्भ भनिएको छ । कुश पनि संस्कृत शब्द हो । नेपाली समाजमा कुशेऔँसीमा काटेको कुश एक वर्षसम्म पूजाआजा पितृकार्यका लागि प्रयोग गर्ने चलन छ । कुश औँसीमा बाहेक अरु दिन काट्नु हुँदैन भनिन्छ । कुश जरादेखि टुप्पोसम्म भएको प्रयोग गर्नुपर्ने बताइन्छ । सनातन धर्मावलम्बीहरूका देवकार्य वा पितृकार्य कुशविना सम्पन्न हुन सक्दैन । प्रत्येक कार्यमा कुशका कुड्का, औँठी र पवित्र, अनिवार्य मानिन्छन् ।

मांगलिक कार्यमा पुजिने कतिपय देवताका प्रतिमा र श्राद्धमा ब्राह्मणसमेत कुशबाटै बनाइन्छ । श्राद्धमा विशेषगरी कुशका ‘मोटक’ प्रयोग गरिन्छ । विवाह संस्कारमा वरणी गर्दा दुलहाका बाबुले कुशबाटै बनेको ‘बिष्टर’ विधान चलन छ । कुनै पनि संस्कारमा संकल्प गर्दा कुशकै आवश्यकता पर्छ । कुशका टुक्रा कर्मपात्रमा पानीमा राखी पूजा वा श्राद्ध अवधिभर प्रयोग गरिन्छ । देवता र ब्राह्मणलाई आसन पनि कुशकै दिइन्छ । त्यसैले कुशलाई पवित्र वस्तु मानिएको हो ।

पौराणिक ग्रन्थहरूमा कुशको उत्पत्तिका बारेमा अनेकौं कथा पाइन्छन् । कतिपय पौराणिक ग्रन्थमा भगवान् श्रीविष्णुलाई श्राप परेकाले कुश हुनुपरेको बताइएको छ । यसैले पनि कुशलाई भगवान् विष्णुको रूप मानिएको छ । महाभारतको एक प्रसंगअनुसार भीष्मले श्राद्ध गर्दा पिण्ड दिने समयमा बाबु शान्तनुले हात थापे । भीष्मले सुनको बाला लगाएका आफ्नो बाबुको हात हो भन्ने चिने तर पनि हातमा पिण्ड दिएनन् । पिण्डवेदीमा ओछ्याइएको कुशमूलमै दिए ।

आयुर्वेदमा कुशबाट बनेका विभिन्न औषधिहरूको चर्चा गरिएको पाउन सकिन्छ । क्षयरोग, चर्म, रक्त, मूत्रलगायतका रोगका लागि कुशबाट बनेका औषधिहरूको प्रयोग गरिन्छ । कुशको जरा र पातबाट विभिन्न प्रकारका औषधी । कुशको प्रयोगबाट हृदयरोग नहुने शिरको दुखाइ नहुनेजस्ता आयुर्वेद र पुराणहरूमा समेत बताइएको छ । नवजात शिशुलाई खुवाउने दूध नआएमा आमाले कुशको औषधिबाट फाइदा लिनसक्ने बताइएको छ ।

कुशको टुप्पामा ‘फोनेटिक भाइब्रेसन’ सुचालन गर्ने क्षमता भएको वैज्ञानिकहरू बताउँछन् । यसले विभिन्न उपकरणहरूबाट आउने हानिकारक विकिरणहरूलाई नाश गर्ने क्षमता राख्छ । कुशबाट उत्पन्न हुने चुम्बकीय प्रभावले रक्तसञ्चारलाई समेत सहज बनाइदिने वैज्ञानिक अनुसन्धानले बताएको छ । कुशको आसनमा बसेर कुशकै औठी लगाएर कुशकै वस्तुहरू प्रयोग गर्ने हाम्रो चिन्तन कति उच्च थियो भन्ने यसबाट प्रष्ट हुन्छ । ढोकामाथि सिउरिएको कुशले कोठाको वातावरणलाई स्वच्छ बनाउने अनुसन्धानबाट पत्ता लागेको छ ।

जीवनमा सुख समृद्धि चाहनुहुन्छ भने कुशलाई आफ्नो जीवनको एक हिस्सा बनाउनु फाइदाजनक हुन्छ । खेत, पाखामा पाइने यो घासलाई सामान्य रुपमा लिनु गल्ती हुने छ । कुशले तपाइँको जीवनमा धन समपत्ति दिन सक्छ । 

धार्मिक मान्यता अनुसार कुशलाई रातो कपडामा बेरेर घरमा राख्नाले समृद्धि प्राप्त हुन्छ । 

कुश दीर्घजीवी घास हो । जराको एक हिस्सा मात्र जमिनमा बाँकी रहे यसले आफ्नो अस्तित्व बनाइहाल्छ । कुशको पात धारिलो खालको हुन्छ । यो व्लेड जत्तिकै धारिलो हुन्छ । 

धार्मिक मान्यता अनुसार यदी कसैको मृत्यु पञ्चकमा परेको खण्डमा घरमा पाँच सदस्यको मृत्यु हुन्छ । यसको निवारणका लागि वा कसैको पञ्चकमा मृत्यु भएका ५ कुशको पुत्ला बनाएर मृतकका साथ जलाउँदा अन्यमाथि दुर्घटना आइपर्दैन भन्ने मान्यता रहिआएको छ । 

कुशको जराबाट बनेको दानाको माला लगाउँदा कलंक हट्ने, प्रदुषण मुक्त हुने र रोग व्याध नाश हुनेछ । 

कुशको आशनमा बसेर पूजा पाठ गर्दा ज्ञानमा वृद्धि र सर्वसिद्धी प्राप्त हुन्छ । कुशको आशनमा बसेर ध्यान साधना गर्दा तन मन पवित्र भएर बाधाबाट सुरक्षित भइन्छ । 

कुशलाई रातो कपडामा बेरेर घरमा राख्दा समृद्धि प्राप्त हुन्छ । 

ग्रहणको समय भन्दा पहिला सूतकमा यसलाई अन्न जल आदीमा राख्नाले ग्रहणको दुष्प्रभावबाट बच्न सकिन्छ । 

कुश धारण गर्नाले कपाल झर्दैन ।

देवी भागवतको १९ औं अध्यायको ३२ औं श्लोकमा भनिएको छ–
नास्य कैशान् प्रवपन्ति, नोरसि ताडमानते ।

अर्थात कुश धारण गर्नाले कपाल झर्दैन ।

कुशको प्रयोगले हर्ट अट्याकको सम्भावना कम हुन जान्छ । वेदले कुशलाई तत्काल फल दिने औषधि, आयुको वृद्धि गर्ने र दुषित वातावरणलाई पवित्र गर्ने र संक्रमण फैलनबाट राक्नेवाला भएको बताएको छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर संवाददाता

तपाईँको मत