स्वास्थ्य

भारी वर्षाको जोखिम : अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। हाल विभिन्न क्षेत्रमा वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको हो।

निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट दुर्घटना, चोटपटक र अन्य जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न आग्रह गरेको छ। साथै, आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न र विपद्का समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

सम्भावित विपद्को समयमा तत्काल उपचार तथा उद्धारसम्बन्धी स्वास्थ्य सेवा प्रभावकारी बनाउन अस्पताल तथा स्वास्थ्य संस्थाले आफ्नो आपत्कालीन तयारीलाई थप मजबुत बनाउनुपर्ने मन्त्रालयले जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत