एनपीएल : लिग चरणका अन्तिम दुई खेल आज, दोस्रो स्थानका लागि काठमाडौंको प्रतिस्पर्धा
- गाउँ सहर संवाददाता
- २९ कार्तिक आइतबार, २०८३ | १०:३२:०० मा प्रकाशित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत लिग चरणका अन्तिम दुई खेल आज हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजले कर्णाली याक्स तथा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछन्।
दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवनका लागि यो खेल अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने अवसर हुनेछ। सात अंकसहित चौथो स्थानमा रहेको चितवनले जित निकाले नौ अंक पुर्याउनेछ। यद्यपि, टोलीको अन्तिम स्थान काठमाडौं गोर्खाजले पोखराविरुद्ध प्राप्त गर्ने नतिजामा समेत निर्भर रहनेछ।
चार अंक जोडेको कर्णाली भने प्लेअफ दौडबाट बाहिरिसकेको छ। त्यसैले कर्णाली आजको खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ।
आजै अपराह्न ५ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज भिड्नेछन्। प्लेअफमा स्थान पक्का गरिसकेको काठमाडौंका लागि भने यो खेल दोस्रो स्थानमा उक्लिने अवसरका रूपमा रहेको छ।
आठ अंकसहित तेस्रो स्थानमा रहेको काठमाडौंले पोखरालाई पराजित गरे १० अंक पुर्याउनेछ। यस्तो अवस्थामा नेट रनरेटका आधारमा सुदूरपश्चिम रोयल्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिने सम्भावना छ। दोस्रो स्थान हासिल गरे काठमाडौंले क्वालिफायर–१ मा शीर्ष स्थानको लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो स्थानमा पुग्न नसके काठमाडौंले तेस्रो वा चौथो स्थानमा रहेर एलिमिनेटर खेल्नुपर्नेछ।
अर्कोतर्फ, दुई अंकसहित अंकतालिकाको पुछारमा रहेको पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेको छ। प्लेअफको सम्भावना समाप्त भइसके पनि पोखराका लागि आजको खेल जित्दै प्रतियोगिताको अन्त्य गर्ने अवसर हुनेछ।
शनिबार लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेपछि प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो लागेको थियो। ११ अंकसहित लुम्बिनी शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो स्थानमा छ। काठमाडौं गोर्खाज आठ अंकसहित तेस्रो र चितवन राइनोज सात अंकसहित चौथो स्थानमा छन्।
यससँगै लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन्। विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने लिग चरणबाटै बाहिरिएका छन्।
आजका खेलपछि प्लेअफमा पुगिसकेका चार टोलीको अन्तिम स्थानक्रम निर्धारण हुनेछ। साथै क्वालिफायर–१, एलिमिनेटर र क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्ने टोलीको समीकरण पनि स्पष्ट हुनेछ। एनपीएलको प्लेअफ चरण आगामी मंगलबारदेखि सुरु हुनेछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
- रारातर्फ जाँदै गरेको हाइलक्स ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
- छठको रौनक: अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो ‘सझिया अरख’
- एनपीएल–३ : कर्णाली याक्ससँग पराजित हुँदै चितवनले लिग चरण टुंग्यायो
- मधेशका आठै जिल्लामा छठको रौनक, जनकपुरधामका पोखरी झकिझकाउ
- छठ पर्वमा प्रधानमन्त्री बालेनको शुभकामना : सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा होस्
- लुम्बिनी लायन्ससँग विराटनगर किंग्स ६ विकेटले पराजित
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
- आज छठ पर्वको ‘खरना’, साँझ खीर प्रसाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस