गाउँ सहर

छठ पर्वमा प्रधानमन्त्री बालेनको शुभकामना : सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा होस्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रकृति र आस्थाको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन्।

भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने परम्परा बोकेको उनले उल्लेख गरेका छन्। साथै, छठले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने सन्देश दिने बताएका छन्।

‘छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ। जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ,’ प्रधानमन्त्री शाहले लेखेका छन्, ‘यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।’

प्रधानमन्त्री शाहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वका धार्मिक तथा सांस्कृतिक परम्पराबारे पनि उल्लेख गरेका छन्। उनका अनुसार पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा छ।

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले छठ पर्वले समाजमा सकारात्मक ऊर्जा र आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस्,’ उनले शुभकामना सन्देशमा भनेका छन्।

उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमाथि सधैँ रहिरहोस् भन्ने कामना पनि गरेका छन्।

यसैगरी, प्रधानमन्त्री शाहले मैथिली भाषामा समेत छठ पर्वको शुभकामना व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत