सडक/यातायात

भद्रपुर विमानस्थलमा स्तर वृद्धिपछि दैनिक आठ वटासम्म जहाजले उडान भर्दै

झापा । हवाई यात्राका लागि नेपाली आकाश असुरक्षित छ भन्ने बुझाई आममानिसमा परिरहेका बेला झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको भौतिक र प्राविधिक स्थितीमा उल्लेख्य सुधार भएको पाइएको छ । 

विमानस्थल प्रशासनले विमानस्थलको अवस्था सुधार गर्न योजनावद्ध रुपमा काम अघि बढाउन थालेपछि गएको वर्षहरुको तुलनामा स्तरवृद्धि  भएको हो ।

२०२६ सालमा निर्माण भएको र लगभग ६५ बिगाहा जमिनमा फैलिएको यो विमानस्थल पुरानै प्रविधि र भौतिक स्थितीमा चल्दै आएको भएपनि केही समय अघिबाट त्यसलाई समय सापेक्ष प्रविधि र भौतिक रुपमा रुपान्तरण गर्ने कार्यले तिब्रता पाएको छ । करिब १५ सय मिटरको रनवे रहेको विमानस्थलमा पहिले भिएफआर प्रविधि अन्तर्गत विमानहरु अवतरण गर्दै आएकोमा अहिले सेटलाइट वेस आइएफआर प्रसिडर प्रविधि प्रयोग गरिएको छ । 

पुरानो अवस्थामा विमान अवतरण गर्न कम्तिमा ५ हजार मिटरको भिजिविलिटी आवश्यक रहेकोमा अहिले नयाँ प्रविधिको प्रयोगसँगै २२ सय मिटर भिजिवीलिटी मै विमान अवतरण गर्न सक्नेछ । यो प्रविधिका कारण मौसममा भैरहने बदलावले समेत कम असर पार्ने विमानस्थलको भनाइ छ ।

त्यस्तै विमानस्थलको धावनमार्ग समेत आधुनिक प्रणाली अन्तर्गत निर्माण गरिएको छ । त्यसका कारण विगतमा दैनिक तीनचार वटा मात्रै उडान भर्ने यो विमानस्थल मार्फत अहिले दैनिक आठ वटा सम्म जहाजले उडान भर्दै आएका छन् । यस्तै विमानस्थलमा जडित पुराना बत्तिहरु समेत विस्थापन गरि नयाँ फर्र्डलाइट जडानको कार्य अन्तिम चरणमा पुगेको छ । आगामी दिनमा विमानस्थलको रात्रि उडान समेत गर्ने योजना अनुरुप धावनमार्गका बत्ति जोड्ने कार्य अन्तिम चरणमा पुगेको विमानस्थलको भनाई छ ।

यतिमात्र होइन विमानस्थलमा उडान भर्ने विमानको संख्यासँगै यात्रुहरुको चाप समेत बृद्धि भएको छ । हाल यो विमानस्थलमार्फत करिब एक हजार यात्रुले दैनिक ओहोर दोहोर गर्दै आएका छन् । यात्रुको चापलाई मध्यनजर गर्दै विमानस्थलले प्रतिक्षलयको क्षमता स्तर वृद्धि गरेको छ । विगतमा ५० सिट क्षमता रहेको प्रतिक्षालयमा अहिले १ सय पचास यात्रु व्यवस्थापन गर्न सकिन्छ । त्यस्तै विमान वेटिङ गर्ने समयमा यात्रुहरुलाई दिक्क नलागोस भन्ने उद्धेश्यले विमानस्थलको सौन्दर्यता स्तर वृद्धि  गरिएको छ । विमानस्थल परिसरमा बगैचा, चिल्डेन पार्क र फ्रि वाइफाईको समेत व्यवस्था मिलाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत