गाउँ सहर

नारायणी नदिको किनारबाट १७ क्विन्टल क्यानेडियन केराउ बरामद

  • अंगद यादव
  • २० असोज मंगलबार, २०७७ | १३:१०:०० मा प्रकाशित

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीले क्यानेडियन मटर (केराउ) बरामद गरेको छ । मध्यराती ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेय र प्रहरी चौकी रामनगरका इन्चार्ज जनक थापाको संयुक्त गस्ती टोलीले केराउ बरामद गरेको हो ।

रातीको करिब साढे १२ बजेको समयमा सुस्ता-५ पक्लिहवाको ठोक्कर नं.-२ स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको १७ क्विन्टल क्यानेडियन मटर (केराउ) गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

लामाको अनुसार प्रहरीले गस्ती गर्ने क्रममा नारायणी नदिको किनारमा पुग्दा बोरा जस्तो देखिएपछि नजिक पुगेर हेर्दा मटर (केराउ) रहेको र प्रहरीको गाडी देखेर तस्कर भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

बरामद भएको मटर (केराउ) आवश्यक कामकारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने तयारी भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेयले जानकारी दिए । 
 

अंगद यादव

तपाईँको मत