पूर्वाधार

सात वटै प्रदेशहरुमा सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरका अस्पतालहरु निमार्ण गर्छु : मन्त्री त्रिपाठी

  • अंगद यादव
  • २६ फाल्गुण बुधबार, २०७७ | २२:२०:०० मा प्रकाशित

नवलपरासी पश्चिम । नेपालका सात वटै प्रदेशहरुमा एक-एकवटा अन्तराष्ट्रिय स्तरका सुविधा सम्पन्न अस्पतालहरु निर्माण गर्ने योजनामा आफू अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । गृह जिल्ला नवलपरासी पश्चिममा बुधबार स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री त्रिपाठीले उक्त कुरा बताएका हुन्  । 

सरकारले खोप खरिदका लागि ४८ अर्ब रुपैयाँ छुट्याइएको भएपनि बढीमा १० अर्ब रुपैयाँमा सम्पूर्ण नेपालीलाई खोप लगाउने मन्त्री त्रिपाठीले प्रतिबद्धता व्यक्त गरे ।  

बचेको ३८ अर्ब रुपैयाँले सातै प्रदेशमा एक-एक वटा अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्ने उनकाे भनाइ थियाे ।

अस्पताल खोल्न हरेक प्रदेशमा ३ अर्बका दरले कुल २१ अर्ब लाग्ने पनि उनले अनुमानित खर्च सुनाए । बाँकी रकम हेपापाटइटिस सि र महिलाहरुमा देखिने पाठेघर समस्या निधानका लागि आवश्यक पर्ने खोप खरिद गर्ने मन्त्री त्रिपाठीले बताए । उक्त खोपका लागि प्रकृया अघि बढाउन थालिएको पनि बताए । हेपाटाईटिस सि कलेजो सुनिने बिरामीहरुको निधानका लागि हो ।

नेपाली नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्ला मध्ये नवलपरासी जिल्ला पश्चिममा ६९ औं जिल्लाका रुपमा सुरु भएको छ ।

उनले अहिले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम कुनै मेयर, उप-मेयर र सांसदहरुका लागि ल्याएको नभइ जनताको लागि केन्द्रविन्दु बनाएर ल्याईएको भएकाले यसलाई सफलतामा पुर्याउने अठाेट व्यक्त गरे । 

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा सुरु गरिएका जिल्लामध्ये नवलपरासी ६९ औं रहेको बताए । उनले यो वर्षभित्र बाँकी ८ जिल्लामा पनि कार्यक्रम सुरु गरी सकिने बताए । सरकारले ५ जना परिवारलाई एक युनिट मानेर ३५ सयमा परिवारको बीमा गर्ने गरेको छ ।

अंगद यादव

तपाईँको मत