दृष्‍टिकोण

के रवि लामिछाने दोषी हुन त ? सुमन बरालकाे ताैलदार विचार

  • सुमन बराल
  • ३१ श्रावण शुक्रबार, २०७६ | १९:२१:०० मा प्रकाशित

शालिकराम पुडासैनीको आत्महत्याको अनुषन्धानमा समातिएपछि चर्चित पत्रकार रवि लामिछानेको पक्षमा दशाैँ हजारौँ जनता स्वतस्फूर्त रुपमा सडकमा आएका छन् । स्मरणीय कुरा के छ भने, ति  मानिस हरुलाई कांग्रेस, नेकपा लगायतका ठूला दलहरुले जसरी गाउँ गाउँबाट आफ्नै खर्चमा बसमा जबरजस्ती ल्याएका होइनन् । न त  रविले ति जनतालाई खाजा खर्च दिन्छन, न नारा लगाएको पारिश्रमिक नै । हजाराैँ नागरिक  रवि लामिछानेको पक्षमा सडकमा आउने कुराले जनता सरकार र उसको संयन्त्रलाई अलिकति पनि विश्वास गर्दैनन् भन्ने देखाउँछ । अदालत र पुलिस विश्वसनीय नभएको यथेष्ठ प्रमाण भएकाले, पैसा र पहुँचका आधारमा अपराधी छुटाउने र निर्दोष पनि फसाउँने सिलसिला वर्षौ देखि चल्दै आएकाले, कम्तीमा नेपालको न्यायालय र प्रहरीलाई आँखा चिम्लेर विश्वास गर्नु हुँदैन भन्ने लाग्छ । कुनै अपराधी नछुटोस् भन्न र कुनै निर्दोष नफँसाइयोस् भन्न, जनआवाज आवश्यक पक्कै पर्ला भन्ने लाग्छ । जस्तै, निर्मला पन्तको बलात्कार र हत्यामा जनता नबोलेको भए, नक्कली अपराधी बनाइएका ४-५ जनाले जेल जीवन पाइसकेका हुने थिए ।

कुनै मानिसले, ‘मलाई फलानोले अन्याय गर्याे, म वहाँको कारणले मर्दैछु’ भनेर आत्महत्या गरे भने, तुरुन्त उक्त व्यक्तिलाई समात्ने हो वा केहि अनुसन्धान पश्चात समात्ने हो ? केहि दिन अघि आफू निर्दोष रहेको बताउँदै एक पूर्व कर्मचारीले आत्महत्या गरे र उक्त दोष अख्तियार प्रमुखलाई लगाए । के अब अक्तियार प्रमुखलाई जेल जरिवाना गर्ने नयाँ कानून अनुसार ? कुनै सांसदले प्रधानमन्त्री ओलेले आफूलाई मन्त्री नबनाएको भन्दै आत्महत्या गरे भने, प्रधानमन्त्री लाई जेल जरिवाना गर्ने ? कुनै युवतीले राजेश हमालले विवाह गर्न नमानेकोले आत्महत्या गरिन भने के गर्ने ? आफ्नो छोरालाई एउटा जागिर समेत दिलाउन नसकेकाले तत्कालिन एमालेको बल्खु पार्टी कार्यालयको रुखमा झुण्डिएर आत्महत्या गर्ने डिगेन राजबंशीको दोषी कसलाई मान्ने ? अरोप लाग्ने बित्तिकै कुनै अनुसन्धान बिना नै समात्ने ?   रवि लामिछाने कतै नभागेको र उनले आफू दोषी पाइए दण्डित हुन् तयार रहेको बताउँदै आएको अवस्थामा हतार गरेर उनलाई समात्न आवश्यक थियो वा थिएन भन्ने प्रश्न पनि जन्मिन्छ । 

पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या अघिको भनिएको भिडियो टेप लाई धेरैले शंका गरेका छन् । आत्महत्या गर्नु अघि खिचिएको भनिएको भिडियो, कसरि कुनै मिडिया माझ पुग्यो ? केहि दिन अघि सम्म रविलाई आफ्नो गुरु मान्दै उनको प्रसंसा गर्ने पुडासैनीले कसरी उनलाई अपराधी भन्दै भिडियो बनाए ? सयाैँ अपराधिक क्रियाकलाप पर्दाफास गर्ने पुडासैनीले आफूमाथि वर्षौँदेखि भएको अन्याय किन पर्दाफास गरेनन् ? भनिन्छ, मर्ने मानिसलाई कसैको डर हुँदैन तर  रवि लामिछानेले बदमासी गर्ने गरेको प्रमाण भएको दाबी गर्ने पुडासैनीले किन पर्दाफास गरेनन ?  रवि लामिछानेसंग खिचिएको तस्बिर पुडासैनीको फेसबुकमा कसैले जबजस्ती राखिदएको हो वा उनले खुसी भएर राखेका हुन् ?  

लाखाैँ मासिक कमाउने मानिस १५ हजार तलब पाइने जागिर खान किन जान्छ ? करोडौँ सम्पत्ति जोडिदिएको छु भन्ने मानिसले १५ हजार किस्ता तिर्न नसकेर डिप्रेसनको औषधि खाएको भन्छ ? पुडासैनीका भाइले दाबी गरे जस्तै झुण्डिएको मानिसको खुट्टा कसरी खाटमा लत्रिएको हुन्छ र आत्महत्या गरेको मानिसको शरिरमा निलडाम कसरी आउँछ ? कसैले प्रलोभन देखायो भन्दैमा विवाहित मानिस घरमा श्रीमती छोडेर परस्त्रीसंग सम्बन्ध कायम गर्दै अस्ट्रेलिया जान खोज्छ ? पैसा थोरै दिएको भन्दै धेरै कमाउन हिँडेको करिब दुई महिनामा आत्महत्या गर्नुपर्ने कारण देखिँदैन । साथै, पुडासेनीले भिडियोमा स्वतस्फूर्त बोलेको नभइ लेखिएको कुरा पढे जस्तो देखिन्छ ।  यस्ता अनेकन प्रश्नहरु अनुत्तरित छन् । धेरै कोणबाट हेर्दा पुडासैनीको आत्महत्या नभई हत्या भएको हुन् सक्छ । पोस्टमार्टम रिपाेर्ट आएपछि थप केहि कुरा खुल्ने नै छ ।

 रवि लामिछानेको सबै भन्दा धेरै विरोध गर्नेमा पत्रकारिता पेसाको नाममा वर्षाैँदेखि अनैतिक तरिकाले लाभ लिइरहेका केहि खराब पत्रकारहरु छन् । समाचार बनाउने वा नबनाउने बार्गेनिङ्ग गर्दै वर्षौँदेखि अकूत पैसा कमाउने हरुको पेसामा ठूलो धक्का  रविले दिएकै हुन् । साथै, भ्रष्टचारी, तस्कर, गुण्डा, कर छल्ने ब्यापारी, खराब म्यानपावर र ठेकेदार लगायत अपराधजन्य गतिविधिमा संलग्न सबैका निम्ति रबि आँखाका कसिंगर भएका छन् । कतिपयले  रवि लामिछाने बाहिर देखिए जस्तो इमान्दार मानिस होइनन, उनि शक्तिकेन्द्रबाट परिचालित छन, अर्बाैँ भ्रष्टाचार गर्नेसंग करोडाैँ पैसा असुल्छन लगायतका अनेकन आरोप लगाउने गरेका छन् । 

आरोप लगाउनेहरु  रविको लोकप्रियताबाट अतालिएका होइनन भने,  रवि इमान्दार नभएको प्रमाण जनता माझ पर्दाफास गर्नु पर्छ । निसन्देह प्रेम र वैवाहिक समन्धमा  रवि चुकेकै हुन जुन कुरा उनले पनि स्वीकारेको छन् तर पत्रकारितामा उनले बदमासी गरेको अहिले सम्म ठोस प्रमाण पाइएको छैन । सम्भवत त्यस्तो कुनै कर्तुतमा  रवि मुछिएको भए प्रमाण धेरै अघि नै बाहिरिने थियो किनकि  रवि र उनको टिमले भ्रष्ट कर्मचारी, नेता, तस्कर, माफिया, अपराधी लगायत सयौँको भण्डाफोर गरेर दुष्मनी कमाएका छन् । यति ठूलो शक्तिले रबिबिरुद्ध आजसम्म कुनै प्रमाण पेस गर्न सकेका छैनन् ।

 रवि किन लोकप्रिय भन्ने कतिपयले प्रश्न गरेको पाइएको छ । उनले केहि भ्रष्ट नेताहरुले चुनावको बेला रक्सी र मासुमा भोट किनेर लोकप्रिय मत जिते जस्तै पैसाले सम्मान र लोकप्रियता किनेका होइनन् । उनि र उनको टिमले एक हिसाबले असाधारण काम गरेको छ । सरकारले गर्न सक्ने र गर्नु पर्ने तर नैतिक बल र इमान्दारिताको अभावमा गर्न नसकेको कयाैँ काम रविको नेतृत्व वा पहलमा भएका छन् । न्यायाधिश, अक्तियार आयुक्त, प्रहरी प्रमुख, उच्च पदस्त कर्मचारी, राजनीतिज्ञ अपवाद बाहेक भ्रष्ट भएको देशमा आवाज बिहिनहरुले न्याय खोज्दै  रविमाझ पुग्ने अवस्था उनले ल्याएका  छन् । शारीरिक र यौन हिँसामा परेका, विदेशमा बेचिएका, ठगिएका हजाराैँ नागरिकका लागि उनी आशाका केन्द्र बनेका छन् । सरकारी कर्मचारी र कानूनको रक्षक हुनु पर्ने प्रहरीले नै घुस लिँदै गरेको रंगेहात समातेका छन् । उपचार बिहिन भएर मृत्यु कुरेर बस्न बाध्य भएका सयाैँलाइ उपचार खर्च जुटाइ दिएका छन् । दुर्गम बस्तीमा हस्पिटल बनाउन पहल गरेका छन् । बाढी पीडितका लागि सामुहिक बस्ती निर्माण गरेका छन् । तसर्थ रविले आफ्नो कामले जनताको माया पाएका हुन् ।

आफ्नो कालो धन्दामा अवरोध आएका कारण  रविको २४ घण्टा रिस अनि आरिस गरेर विरोध गर्ने केहि भ्रष्टहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा  रवि लामिछाने समातिँदैमा अदालतले दोषी प्रमाणित गरे झैँ गरी दिप प्रज्वलन गरेर खुसी हुन् आवश्यक छैन अहिले । साथै,  रवि लामिछाने भनेका देउता नै हुन् भन्ने कट्टर समर्थकहरुले पनि अनेक तर्क, कुतर्क गरेर समय खेर नफालेको उचित हो । रविले ‘पुडासैनीले लगाएको कुनै पनि आरोपमा आफू दोषी भएको प्रमाणित भए दण्ड भोग्छु’ भनेकै छन् । कामना गरौँ सरकारले यो प्रकरणमा निष्पक्ष छानबिन गर्ने छ । 

निर्मला पन्तको बलात्कार र हत्यामा सरकार (प्रहरी) ले देखाएको अनेक नौटंकी (जबजस्ती कुटेर निर्दोषलाई अपराध स्वीकार गर्न लगाउने, अनेक झाल झेल गर्ने, प्रमाण नस्ट गर्ने लगायत) जस्तै नबनोस भन्ने कामना गरौँ । पुडासैनीले लगाएको आरोप अनुसन्धानबाट निर्क्योल गर्न सकिने प्रकृतिका छन् । रवि दोषी भएको प्रमाण पाइए, उनलाई सामान्य कानून भन्दा पनि बढी दण्डित गर्नु पर्छ ।  

केहि कट्टर समर्थकहरुले कुनै शक्ति केन्द्र वा सरकार नै लागेर  रवि लामिछानेलाई फँसाउन लगिएको भन्दै छन् । स्मरणीय छ, जनदवाबले गर्दा नै निर्मला पन्त बलात्कार र हत्यामा फँसाइन लागेका केहि निर्दोष नागरिकले सफाई पाएका थिए । कुनै ठोस प्रमाण बिना रविलाई ५ वर्ष जेल र ५० हजार जरिवाना गर्ने निर्णय भयो भने लाखाैँ जनता सडकमा उत्रिने छन् ।

तसर्थ,  रविलाई फँसाइएला भन्ने कुरामा भने उनिहरुले धेरै चिन्ता लिन आवश्यक छैन किन भने पुडासैनीले भिडियोमा लगाएका आरोपहरु प्रमाणित नभएसम्म उनलाई कसैले पनि दण्डित गर्न सक्दैन । लाखौँ नेपाली जनताले विश्वास गरेका  रविप्रति चिन्ता हुनु जायज हो । कतै एउटा आशाको दियो भ्रष्टहरुले निभाइदिने हुन् कि भन्ने डर पनि जायज हो तर खबरदारी गर्दै अनुसन्धान प्रक्रियामा सघाउनुको विकल्प छैन । 

पक्राउ परेका तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले शुक्रबार आदेश दिएको छ । अनुसन्धान भइरहेकाे छ ।  

रवि निर्दोष प्रमाणित भए भने अझै बढी जोस र जाँगरका साथ फेरी पत्रकारितामा फर्कने छन अनि उनलाई फँसाउन खोज्नेहरु पुनः असफल बन्ने छन् ।  तसर्थ, केहि समय कुराैँ ।

[email protected]

सुमन बराल

तपाईँको मत