दृष्‍टिकोण

हिन्दू धर्म यति कमजोर छ? ‘अबको तीज नो व्रत प्लिज’ गीतले धर्म मासिन्छ?

  • सुमन बराल
  • १३ श्रावण मंगलबार, २०७७ | ०९:१८:०० मा प्रकाशित

नेपाल र संसारभरी छरिएर रहेका नेपालीमाझ सोफिया थापाको 'अबको तीज नो व्रत प्लिज' र दुर्गेश थापाको 'माछा माछा भ्यागुतो यसपालीको तीज' भन्ने गीत र पाना पल्टाएर हजारौं पेजको पुस्तक २-४ मिनेटमा स्मरण गर्न सक्ने भनिएका विजय शाही अहिले चर्चामा छन्। उनीहरुलाई राम्रो र नराम्रो भन्ने अनि गाली र ताली दिने दुवैथरिका मानिस छन्। 'अबको तीज नो व्रत प्लिज' भन्ने गीतले हिन्दू धर्म मास्ने भयो भन्ने खालको केहि स्टाटस सामाजिक संजालमा देखेको थिएँ तर गीत भनेको सुनेको थिइनँ। हिन्दू धर्मका 'रक्षक' हरुले गीत बन्द गर्न बाध्य पारेको र सोफियालाई भौतिक कारबाही देखि मार्ने सम्मको धम्की दिएको थाहा पाएपछि 'गीत साँच्चै आपत्तिजनक छ त्?' भनेर फेसबुकमा स्टाटस लेखेँ। केहि साथीहरुले उक्त गीतको भिडियो मेसेन्जरमा पठाइदिनु भयो । गीत सुनेपछि, हिन्दू धर्म नै मासिने खालको अनि गायिकालाइ मार्ने धम्की नै दिनुपर्ने खालको केहि पनि मैले भेटिनँ।  

म अपवादवाहेक दुर्गेश थापा, सोनिया थापा, भीटेनलगायत बेलाबेला भाइरल हुने अधिकांश नयाँ पुस्ताका 'गायक - गायिका' हरुको गीत सुन्दिन - हेर्दिन। विवादित भएर भाइरल भएका कारण मात्रै मैले उनीहरुलाई चिनेको - सुनेको हो। नारायण गोपाल र उदित नारायण झा का समयका बाहेक अरु धेरै गीत नसुन्ने मेरा निम्ति  उनिहरु गायक पनि होइनन्। उनीहरुका गीतका शब्द, संगीत, स्वर, भिडियो केहि पनि मन पर्दैन। तथापी, समाजमा सबै भजन सुन्ने मात्रै हुँदैनन भन्ने मलाई जानकारी छ। मलाई ५ सेकेन्ड सुन्दा पनि दिनभरी टाउको दुख्ने हेभी मेटल गीत सुन्ने पनि हाम्रै समाजमा बस्छन्। तसर्थ, कस्तो गीत सुन्ने वा नसुन्ने भन्ने कुरा आफ्नो छनौट हो।

देशको स्वतन्त्रता, धर्म वा समुदायमा अत्यन्त द्वेष फैल्याउने बाहेकका अरु गीत वा कुनै रचनालाई बन्द गर्न दवाव दिनुको कुनै तुक छैन। मासु नखाने हिन्दूले मासु खानु हुँदैन भन्ने खालका गीत लेख्दा अरु मासु खाने हिन्दू तर्सिनु पर्दैन। 'व्रत बसेर श्रीमानको खुट्टाको पानि खान्छु वा खाँदिन' भन्ने गीत कसैले गायो भने पनि कोहि धर्म मासिन्छ भनेर डराउनु पर्दैन। केहि कथित रक्षकहरुले रक्षा गर्नु पर्ने गरि कमजोर धरातलमा हिन्दू धर्म उभिएको छैन। मलाई वा अरु कसैलाई समाजमा हुने कतिपय कुरा मन नपर्न सक्छ तर त्यस प्रकारका सबै घटनालाई धर्मविरुद्ध भन्न मिल्दैन  ।

सोफिया वा दुर्गेशहरुको एउटा जाबो गीतले हिन्दू धर्म कमजोर बनाउने ल्याकत राख्दैन। आफूलाई हिन्दू धर्मका रक्षक ठान्नेहरुले पशुपंक्षी बली दिने र मासु खाने अनि बली नदिने र मासु नखाने, मन्दिर र मूर्ति पूजा गर्ने अनि नगर्ने, व्रत र पूजा पाठ गर्ने र नगर्ने, कुनै विशेष भगवान मान्ने अनि प्रकृति लाई नै भगवान् मान्ने, मृत्यु क्रियाकर्म गर्दा नुन समेत नखाने देखि मासु खाने सम्म लगायत धेरै समुदाय हिन्दू धर्मभित्र अटाएका छन् भन्ने बुझ्न आवश्यक छ । यही फराकिलो कुरा हिन्दू धर्मको सबै भन्दा सुन्दर र सबल पक्ष हो । तसर्थ, आफूलाई मन परेन भन्दैमा सबै कुरालाई धर्मसंग जोड्न आवश्यक छैन।

श्रीमतीलाई खुट्टाको पानी खुवाएर आफ्नो आयु बढाउनुलाई नै धर्म र संस्कार मान्नेहरु 'अबको तीज नो व्रत प्लिज, नो खुट्टाको पानी' भन्ने कुरामा मुर्मुरिन वा अतालिन आवश्यक छैन । तीजलाई जबर्जस्ती हिन्दू धर्मसंग जोड्न पनि आवश्यक छैन किनकि नेपालभित्र पनि विशेष गरी पहाडे बाहुन-क्षत्री समुदायका हिन्दूले मात्रै तीज मनाउँछन्। भारतलगायत अन्य देशका अर्बौ हिन्दूहरुले श्रीमानलाई भगवान ठानेर तीजमा खुट्टाको पानि खाएर ब्रत बस्दैनन्।

सोनिया थापाले एक लेख मार्फत, 'मेरो आमा बुबा पनि हिन्दू हुन् र म पनि हिन्दु हुँ। ब्रत बस्ने कुराको विरोध गरेको होइन तर नारी पुरुष बराबर भएका कारण, श्रीमानलाई भगवान भन्दै खुट्टाको पानि खाने कुरालाई मात्रै गलत भनेको हुँ र भनिरहन्छु' भनेकी छन्। मलाई पनि कतिपयले विधर्मी वा डलर खाएको भन्लान तर म पनि हिन्दू नै हुँ र एक पैसा कसैको खाएको छैन। नेपालमा तिब्र गतिमा भइरहेको धर्म परिवर्तनको मुख्य कारण गरिबी, जातीय र लैंगिक विभेद, हिन्दू धर्मसंग जबर्जस्ती जोडाइएको छाउपडी प्रथा - दाइजो प्रथा - बोक्सी प्रथा लगायतका कुप्रथाहरु हुन्।

आफूलाई हिन्दू धर्मको रक्षक ठान्ने अधिकांश धर्म परिवर्तनको मूल कारण गरिबी र जातिय विभेदबारे रोजी रोटी गुम्ने डरले चुइँक्क बोल्दैनन्। नेपाली समाजको चेतनास्तरका कारण जातीय छुवाछुतको विपक्षमा बोल्न धेरै डराउँछन। उनीहरु धर्मको नाममा आफ्नो दुनो सोझ्याउन र राजनीति गर्नमा केन्द्रित छन्। नारीलाई सुन्दरता र श्रृंगारसंग मात्रै जोडेर वस्तु सरह व्यवहार गर्ने हरुलाई 'नो नक्कल प्लिज' भनेको अनि 'महिला पुरुष दुवै नै बराबरी' भनेको अलिकति पनि मन परेको छैन। जातीय छुवाछुत लादेर हिन्दू धर्मको मर्म विपरित क्रियाकलाप गर्ने कथित रक्षकहरु रोइ कराई गर्नु व्यर्थ छ। तसर्थ, हिन्दू धर्मको आडमा थोपरिएको पुरुषवादी सत्तामाथि प्रश्न उठाउँदा कोहि तड्पिनु पर्दैन।

पुरुष र महिलाको दुवैको आधाआधा शरीर भएकाले भगवान शिवलाई अर्ध्वनारिश्वर समेत भनिन्छ। शिव र शक्ति मिलेर शिवशक्ति बनेको कुराले नारीपुरूष बराबर हुन् भन्ने सन्देश पनि दिन्छ। तथापी 'जय भोले नाथ, जय शम्भो' लाई थेगो बनाएका धर्मका 'रक्षक' हरुले आफ्नो आमा, श्रीमती, छोरी, दिदी बहिनीलाई पुरुषभन्दा कमजोर ठान्छन्। श्रीमानलाई भगवान मानेर पुजा गर्न - ढोग्न लगाउँछन र श्रीमतीलाई एउटा सेवक जस्तो व्यवहार गर्छन्। पुरुषले आफ्नो श्रीमती वा हुने वाला श्रीमतीको निम्ति व्रत बस्ने, उनीहरूको खुट्टा धोएर पानी खाने कुरा कल्पना समेत गर्न तयार हुँदैनन् । 'तीजको व्रत नबसे निसन्तान हुने, श्रीमान छिट्टै मर्ने' लगायत अनेकन हाँस्यास्पद मान्यताको डर देखाएर नारीहरु लाई खुट्टाको पानि खान बाध्य बनाइन्छ। रजस्वला जस्तो एउटा प्राकृतिक कुरालाई 'रजस्वला भएका बेला नछुनु पर्ने कुरा छोएकोमा पाप पखाल्न' ऋषि पंचमी पुजा गराइन्छ।

भविश्यमा मैले पूजा पाठ र ब्रत बस्ने, गेरु बस्त्र र तिलक लगाउने सम्भावना पनि छ तर आज म व्रत बस्दिन अनि मलाई व्रत बसेर श्रीमान, श्रीमती वा कसैको आयु लामो हुन्छ भन्ने विश्वास पनि छैन। हो, कहिले कहीँ निराहार भएर बस्नु स्वास्थ्यका लागि पनि हितकर हुन सक्ने कुरामा वैज्ञानिक आधारहरु छन् तर धर्म कमाउन सकिन्छ भन्ने लाग्दैन । साथै, व्रत बस्ने भनेर पेटभरी फलफुल, जुसलगायत कुरा खाँदा चाहिँ स्वास्थको हिसावले पनि व्रतको फाइदा लिन सकिँदैन। मलाई भोकै ब्रत बसेर भन्दा पनि कुनै आर्थिक अभावले भोकै बस्न बाध्य भएका एक जनालाई मात्रै भए पनि पेटभरी एक छाक खाना दिएर धेरै पुण्य कमाइन्छ भन्ने लाग्छ। तथापी व्रत बसेर वा नियमित पूजा पाठ गरेर धर्म कमाउनेप्रति पनि मेरो कुनै विरोध छैन र वाश्तविक हिन्दू धर्मावलम्बीले मैले व्रत नबसेको वा नियमित पूजापाठ नगरेकोमा पनि विरोध गर्न आवश्यक छैन। मुस्लिमलगायत अन्य कतिपय धर्म जस्तो कठोर नियम नभएकै कारण हिन्दु धर्म बृहत र विशाल छ। 

मलाई कुनै समयमा नारीहरुलाई घरको काम धन्धा छोडेर माइत गएर विश्राम गर्न, साथी भाइहरुसंग भेटघाट गर्न अनि मिठो मसिनो खानका निम्ति तीजको दर खाने परम्परा सुरु गरियो भन्ने लाग्छ। पतिको सुस्वास्थ्य र लामो आयुको निम्ति पानी पनि नखाई निराहार व्रत बसिदिने चलनका कारण पुरुषहरु पनि खुसी थिए, छन्। आज मानिसको आर्थिक - सामाजिक स्थितिमा परिवर्तन  भए सँगै तीजको स्वरूप पनि बदलिएको छ। एक दिन खाने दर अहिले महिनौँ दिन अघि र पछि सम्म चल्ने गर्छ। धेरै सुन लगाउने र देखाउने, महंगा सारी लगाउने अस्वस्थ प्रतिस्पर्धा देखिन्छ। 

झट्ट तीज हेर्दा आजकल अलिक खर्चिलो र भड्किलो देखिन्छ र व्यक्तिगत रुपमा मलाई पनि अस्वाभाविक लाग्छ। तथापि मलाई वा अरु कसैलाई मन परे पनि मन नपरे पनि संसार यसरी नै चलेको छ। सबै चाड पर्वहरु आफ्नो आफ्नो आर्थिक हैसियत अनुसार नै मनाइने गरिन्छ र समय संगै परिवर्तन हुने गर्छन्। ५० वर्ष अघि र आज दसैँ, तिहार, तीजलगायत चाडपर्व मनाउने तरिकामा धेरै परिवर्तन आएको छ र अर्को केहि दशकमा अझै परिवर्तन हुन्छ। साथै, दसैं तिहारमा करोडौं खर्च गर्ने अनि ऋण खोजेर सन्तानलाई एक जोर नयाँ कपडा किनिदिने, अर्बौ खर्चेर विवाह गर्ने देखि २-४ हजारमा सम्पन्न हुने साधारण विवाह गर्ने हाम्रो समाजमा नै छन्।  सकारात्मक पाटो बाट हेर्दा, महिनौँसम्म मनाइने तीज वा अन्य कुनै चाडपर्वले आर्थिक गतिविधि र रोजगारी बढाउँछ, जसले मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाउँछ।

‘वास्तवमा 'तीज अत्यन्त भड्किलो भयो। एक दिन मनाइने तीजको दर महिनौँ मनाउन थालियो' भन्ने भन्दा पनि चिन्ता अर्कै छ जस्तो लाग्छ। ३६५ दिन नै विभिन्न वहानामा जाँड रक्सी र जुवा तासमा मस्त हुने, आफ्नो खुसीले टाई कोट लगायत पश्चिमी भेषभूषा लगाउने तर नारीलाई सारी चोली मा सजिनु पर्ने भन्नेहरुलाई नारीले भेटघाट गरेको, रमाइलो गरेको, रक्सी खाएको कुरा पचेको छैन। महिलाले धर्म र संस्कृति सिध्याए भन्ने आरोप लगाउँछन् जुन काम पुरुष हरुले वर्षौदेखि गर्दै आएका छन्। म जाँड रक्सी नखाने अनि जुवा तास नखेल्ने मानिस हुँ तर अरुको खाने र खेल्ने स्वतन्त्रताको मैले आरिस वा रिस गरेर हुँदैन। मलाई जाड रक्सी, जुवा तास, सुर्तीजन्य पदार्थ, लागु औषध, बन्दुक, गोला बारुद, आणविक हतियार लगायत कुरा नभएको विश्व मन पर्छ तर कतिपयलाई तिनै कुरा बिना विश्व नै नरहे जस्तो हुन् सक्छ।

कतिपयले 'व्रत बस्न वा नबस्न कसैले जबर्जस्ती गर्दैनन्' भन्ने गरेको पाइन्छ तर आफ्नो इच्छा मात्रै ले हुँदैन। घर परिवार, समाजको डरले पनि धेरै अनावश्यक ठान्दा ठान्दै पनि व्रत बस्न अनि श्रीमानको खुट्टाको पानी खान बाध्य हुन्छन्। साथै, शरीर नारीको भए पनि केही नारीहरुमा पुरुषहरुको भन्दा बढी पितृसत्तात्मक मानसिकता हुने गर्छ। 'म मेरो श्रीमानको खुट्टाको पानि खान्छु किनकी वहाँ मेरो भगवान हो' भन्ने केहि 'शिक्षित' नारी पनि हाम्रै समाजमा छन्। केहि वर्ष अघिसम्म कुरा नबुझेकाले दोष नारीलाई पनि दिने गर्थे, उनीहरु आफैँ सेवक हुन् खोज्छन भन्ने ठान्थे। तथापी उनीहरू लाई पितृसत्तात्मक समाजले सिकाए - लादे अनुसारको व्यवहार गर्ने हुन, उनीहरूको दोष छैन भन्ने व्याचलर पढ्न सुरु गरेपछि मात्रै बुझ्न सकेँ। 

श्रीमानको मृत्यु पश्चात श्रीमती जिउँदै श्रीमानको चितामा जल्नुपर्ने सतीप्रथा लाई राम्रो मान्ने पनि मानिस हुन्थे। सती हुन तयार नहुनेलाई खेदेर, कुटेर भए पनि सँगै जलाउने गरिन्थ्यो। धन्न, चन्द्र शमशेरले सती प्रथा उन्मूलन गरे अन्यथा आज पनि धर्मका रक्षकहरु दाहसंस्कार गर्ने ठाउँमा सती हुन तयार नभएका नारिहरुलाई घिसारेर चितामा पुर्यारहेका हुने थिए। हिन्दू धर्ममाथि सबै भन्दा बढी खतरा हिन्दू धर्मको 'रक्षक' भनिने कतिपय मानिसहरु देखि छ। उनिहरु गरिबी, जातिय - लैंगिक विभेद बारे चुइँक्क बोल्दैनन अनि अनेकका कु-प्रथा लाई धर्मसंग जोडेर हिन्दू धर्मको अपमान गर्छन्।   

[email protected]

 

सुमन बराल

तपाईँको मत