दृष्‍टिकोण

श्रीमान वा श्रीमतीलाई घरायसी काम सिकाउने फर्मूला

  • सुमन बराल
  • ५ भदौ शुक्रबार, २०७७ | १०:१३:०० मा प्रकाशित

केही वर्ष अघिको कुरा हो । एक जना पोल्यान्ड मूलकी तर स्वीडेनमा नै बसोबास गर्ने सहकर्मी साथी र म लन्चब्रेकमा लन्च गरी रहेका थियौं । ठूलो हल भित्र अरु सहकर्मी साथीहरु पनि थिए। सबै गफ र आत्मियता साटासाट गर्दै खान व्यस्त रहे। सधैँ हासी खुसी बोल्ने उ आज निकै मौन थिई । अरु बेला भन्दा अलिक फरक देखेर, मैले सोधें "आज तिमीलाई किन अलिक दुखी , निरास जस्तो देख्छु नी ?"

निरास मुद्रामा उनले भनिन् , "खै सुमन म थाकीसकेँ, धेरै तनावमा छु ।"

"किन के भयो र ?"

"केही हैन प्लिज लिभ मि अलोन ।"

"तिम्रो काम वा घर वा स्वास्थ्य  वा अन्य व्यक्तिगत समस्या होला तर कहिले काहीँ आफ्ना दुःख अरुमाझ साट्दा मन हल्का हुन्छ । मिल्छ भने सुनाउ ,के भएर तनावमा छौ ? मैले गर्न सक्ने कुनै सहयोग छ भने गर्ने छु ।"

उनले आँखाभरी आँसु पार्दै म तिर हेरि पीडा पोख्दै भनिन्, " मेरो छोरो १४ वर्ष र छोरी १२ वर्षका छन् । मेरो बुढा र छोराछोरी केही काम गर्दैनन् । म यहाँ ८ घण्टा  काम गरेर थाकेर घर पुग्छु । घरमा गएर एक्लै खाना बनाउने, सर सफाई गर्ने, कपडा धुने लगायत सबै काम आफैँ गर्नुपर्छ  । उनीहरू काम चाहिँ खाने, टिभि हेर्ने, खेल्ने र फोहोर गर्ने मात्रै हो । म चाहीँ नोकर जस्तो भएँ । काम सघाउ भनेर कति अनुरोध गर्छु तर टेर्दैनन् ।"

नेपाल भारत जस्तो अधिकांश पितृसत्तात्मक परिवारमा यस्तो घटना देखेको - सुनेको भए पनि, पोल्यान्ड मूलको र स्वीडेनमा बस्नेमा पनि यो खालको विभेद र हेपाई देखेर छक्क पर्दै सोधे । "तिमीहरुको  पनि केटी मान्छेले घरको काम गर्ने भन्ने मान्यता छ र ?"

"छ नी, झन् पहिला अझै धेरै विभेद थियो । अहिले अलि अलि सुधार हुँदैछ तर अझै पनि प्रायः घरको काम केटी कै हो भन्ने मान्यता छ । तिम्रो  देश नेपालमा चाहि कस्तो छ ?" उत्सुक बनी उसले सोधी ।

"हाम्रो देश पनि मूलतः पितृसत्तात्मक सोचमा जकडिएको छ । घरको खाना बनाउने, सरसफाई  गर्ने, कपडा धुने लगायत काम केटा मान्छेले गर्नु हुँदैन भन्ने मान्यता छ । बुहारीलाई काम सघाउने छोरा खराब तर छाेरीलाई काम सघाउने ज्वाइँ असल भन्ने पाखन्डी मान्यता पनि छ । तथापी, म चहिँ सकेसम्म सबै काम गर्छु । सानो हुँदा पनि घरमा सकेको काम सघाउने गर्थें । आजकाल अलिकति शिक्षित र चेतनशील मानिसले नारीले मात्रै घर भित्रको काम गर्नु पर्छ भन्ने मान्यता राख्दैनन् ।  घरमा काम गर्नका निम्ति छुट्टै कामदार कोहि छैनन् भने घरका सबै सदस्यले मिलेर काम गर्नु पर्छ भन्ने मान्यता विस्तारै स्थापित हुँदैछ । मेरो घरका अन्य पुरुष सदस्यहरुमा पनि क्रमिक रूपमा घरायसी काम  पुरुषले पनि गर्नु पर्छ भन्ने मान्यता आएको छ ।"

"ए ए, तिम्रो श्रीमती त भाग्यमानी रहिछन् ।"

"हामी दुवै जना मिलेर काम गर्छाैं, दुवै भाग्यमानी ।" 

एकछिन सोचेर मैले भने "म एउटा फर्मूला दिन्छु, आज बेलुका घर पुगेपछि कोसिस गर्नु है । तिम्रो बुढा र छोरा छोरी सबैले काम गर्ने छन् ।"

चिन्ता र खुसी मिश्रित हाँसोमा उनले भनिन् "के होर त्यस्तो फर्मूला ? के गर्नु पर्छ ?"

"त्यस्तो खास केही गर्नु पर्दैन, अलिकति झुटो अभिनय गर्नु पर्छ ।

"कस्तो झुटो अभिनय ?"

"प्रयोग गर्ने हो भने मात्रै भन्छु"

"ल भन न त, म कोसिस गर्छु तर मेरो घर परिवारले मलाई सहयोग गर्लान भन्ने अलिकति पनि विश्वास छैन ।"

 "ल कोसिस गर्नु अनि काम गरे वा नगरेको भोली मलाई सुनाउनु है । "

" हुन्छ । तर के हो भन न ? प्लिज ।"

"आज कामबाट घर पुगेपछि, सुरुमा नै मलाई  टाउको दुख्यो, सञ्चो छैन भनेर सुत्नु ।  यति गरेपछि तिम्रो कहिले काम नगर्ने बुढो र छोरा छोरी काम गर्न बाध्य हुन्छन् । तिमीलाई हेपेको मात्रै हुन् । तिमीले एक्लै दलिएर काम गरेपछि, उनीहरू आनन्दले दलाउँछन नै । घरको काम गर्न नै नजानेको नाटक गर्छन् । केटी मान्छेले मिठो बनाउँछन भनेर फकाउँछन् पनि तर केटाले पनि मिठो नै बनाउँछन र अधिकांश रेस्टुरेन्ट र होटल हरुमा पुरुष सेफ नै हुने गर्छन् । त्यै भएर घर पुगेर, आनन्दले सुत्नु, आराम गर्नु आज ।"

"हाहा, यो फर्मुला ले काम गर्ला र ? भोकै सुत्नु पर्ला मैले अनि मेरो परिवारले आज ?"

"हाहा, पक्कै पर्दैन । मानिसलाई भोक लागेपछि, खाना बनाउनै पर्छ नी । एकदिन रेस्टुरेन्टबाट मगाउलान तर सधैं सम्भव हुँदैन नी ।" 

यतिकैमा लन्च ब्रेक सकियो र म "कोसिस गर्नु है" भन्दै आफ्नो काम तिर लागे । उ ट्वाल्ल परि मलाई हेरिरही ।

फर्मुला त भने, तर विचरी भोकै पो सुत्ने हो की भन्ने पनि लाग्यो मनमा । रातभर छटपट भयो । फोन गरि सोध्न नम्बर थिएन । भोलीपल्ट काममा भेट भयो । उ मन्द मुस्कान दिदै म भए ठाउँमा आई । मलाई भने फर्मुलाले काम गर्यो भन्ने अडकाल काटेँ ।

मैले सोध्नु अघि नै हतार हतार मुस्कुराउँदै उनले भनिन "धेरै धेरै धन्यवाद सुमन, फर्मुलाले काम गर्यो नी ।"

"ए होर, ल गजब भएछ, अनि मैले काम गर्छ भनेकै थिए नी । के के गर्यौ भन त घर पुगेपछि ? "

"तिमीले भने जस्तै, घर पुगे अनि सञ्चो छैन भनेर सुतेँ । १-२ घण्टा सम्म पनि सुतिराखेँ । बुढा र छोरा छोरी पटकपटक सोध्न आउँथे । म, टाउको दुखिरहेको छ, ज्वरो आउला जस्तो छ भन्थेँ । अभिनय गर्न सजिलो भने थिएन, मन मनमा हाँसी रहेकी थिएँ । मैले कुनै हालतमा खाना नबनाउने, सरसफाई नगर्ने निर्णय गरेर सुतेँ । २-३ घण्टा पछि, मलाई के खान्छेस् भनेर सोध्न थाले । अनि उनीहरूले मिलेर जुठो भाँडा माझे, घरको सरसफाई गरे, खाना बनाए । समग्रमा उनीहरूले सबै काम गरे ।"

"ए ल धेरै खुसी लाग्यो, तर सधैं विरामीको अभिनयले काम भने गर्दैन । तथापी, तिम्रो छोरा छोरीले काम गर्न सक्छन् भन्ने पुष्टि भयो । सबै काम मिलेर गर्नु पर्छ, म पनि थाकेको छु । अन्यथा म पनि टिभि हेरेर अनि गेम खेलेर बस्छु भन्न सक्नु पर्छ । अफिसको काम बुढाबुढी दुवैले गरेपछि, घरको काम पनि दुवै जनाले मिलेर वा पालै पालो गर्नु पर्छ । महिलाले मात्रै गर्न सक्ने भनेर प्रकृतिले नै छुट्याएको काम भनेको बच्चा जन्माउने मात्रै हो । बाँकी काम महिला र पुरुष दुवैले गर्नु पर्छ ।"

"हुन्छ धेरै धेरै धन्यवाद सुमन तिमीलाई, म उनीहरूलाई बुझाउन - सम्झाउन अवश्य कोसिस गर्नेछु।"

केही हप्ता पछि पुन उ सङ्ग भेट भयो। उनले खुसी हुँदै भनिन्, "सुमन, आजकाल मैले बिरामीको अभिनय गर्नै पर्दैन । बुढा, छोराछोरी सबैले काम गर्छन् । हामी मिलीमिली काम गर्छौं । एक्लै कसैलाई बढी कामको बोझ भएको छैन । तिमीलाई फेरि पनि धेरै धेरै धन्यवाद ।"

नेपाल वा विदेशमा भएको हामी नेपालीमाझ पनि कतिपय परिवारमा घर भित्रको काम केटीले मात्रै गर्नु पर्छ भन्ने पितृसत्तात्मक मानसिकता रहेको छ । कतिपय शिक्षित नारीहरुले समेत "मेरो बुढालाई भाडा मोल्न दिन्नँ, आफैँ खाना बनाउँछु, घरको सरसफाई पनि आफै गर्छु" भनेर गर्व गरेको पाइन्छ । पितृसत्तात्मक मानसिकता कहिले काही नारीमा अझै धेरै हुने गर्छ ।

यदि तपाईंको श्रीमान वा श्रीमती वा छोराछोरीले घरको भित्री काममा सहयोग गर्दैनन् भने, मेरो  'फर्मूला' प्रयोग गर्नुहोस है । यो सत्य घटना हो र मैले प्रतिपादन गरेको 'फर्मूला' ले पक्कै काम गर्नेछ । एक जनाले मात्रै काममा दलिनु पर्ने श्रीमान वा श्रीमतीलाई अझै काम लाग्छ । नपत्याए कोसिस गर्नुहोस है ।

सुमन बराल

तपाईँको मत