दृष्‍टिकोण

यो देशमा म एउटा.. मानिस खोजिरहेछु !

  • सुमन बराल
  • २३ भदौ मंगलबार, २०७७ | १३:१६:०० मा प्रकाशित

“छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु, भेटे कहि बताई हे राष्टका बटुही, रक्षार्थ जन्मिएका छन कि सपुत कोहि, यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु ।”

डा.विश्वनाथ बरालको शब्द तथा संगीत अनि गायक शिशिर योगीको स्वर भएको यो गीत प्रत्येक नेपालीको मनमा बसेको छ । नेपाली जनताले २००७ सालको प्रजातन्त्र स्थापनापछि आफ्नो भाग्य विधाताको रुपमा एउटा मानिसनै खोजिरहेका छन् । बिपी कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह, मदन भण्डारी, प्रचण्ड, बाबुराम भट्टराई, केपी ओली लगायत केहि नेतालाई धेरै नेपालीले 'एउटा मानिस' को रुपमा हेरेका थिए । उनीहरु मध्ये केहिले अवसर पाएर पनि अपेक्षा अनुसारको काम गरेनन्, केहिले अवसर पाएनन् अनि  केहि परिक्षित हुनु अघिनै षड्यन्त्रपूर्वक ढंगले मारिए ।

संसारकै एक गरिब र भ्रष्ट देशको पर्याय बनेको नेपाललाई विकास र निकास दिन सक्ने मानिसको खोजि अझै जारी छ । नेपालमा युवा र शिक्षितहरु नेतृत्व तहमा नपुगेको, वैदेशिक हस्तक्षेप भएको लगायत अनेकन कारण देखाउँदै दोषारोपण गर्ने गरिन्छ । युवा वा शिक्षित मानिस प्रधानमन्त्री  हुने हो भने मात्रै नेपालले निकास र विकास पाउँछ भन्ने कुरा पुरा सत्य होइन । नेतृत्व गर्ने मानिस इमान्दार र सक्षम छन् भने उमेरले युवा वा पाको हुने कुराले खासै फरक पर्दैन । लिबिया, उत्तर कोरियालगायत कयौँ देशमा युवा उमेरमा राष्ट्रप्रमुख भएर आफ्नो देशलाई अझै गरिबी र द्वन्दमा धकेलेर तानाशाही बनेका पनि प्रशस्त उदाहरण छन् । पाको उमेरमा राष्ट्रप्रमुख भएर पनि देश र जनताको पक्षमा उल्लेखनीय राम्रा काम गरेका पनि उरुग्वे, भारतलगायत देशहरुका कयौँ उदाहरण पनि छन् ।  निसन्देह: युवा संगै इमान्दार र सक्षम पनि हुनु सुनमा सुगन्ध हो किनकि युवामा तुलानात्मक रूपमा धेरै जोश र नयाँ सोच हुने सम्भावना बढी हुन्छ । तथापि, नेपालमा कतिपय युवा ओली, प्रचण्ड, देउवा भन्दा भ्रष्ट र असक्षम पनि छन् । भ्रष्ट नेतृत्वको चाकडी गर्ने अनि उनीहरुका निम्ति सडकमा मर्न र मार्न तयार हुने पनि अधिकांश युवा नै छन् । तसर्थ, देश र जनताको हित गर्न गरिने राजनीतिमा इमान्दारिता, नेतृत्व क्षमता र सामान्य सुजबुझ अत्यावश्यक सर्त हो, उमेर गौण विषय हो ।

'पाका उमेरका नेताहरुले स्व-इच्छाले पार्टी र सत्ता छोड्नु पर्छ' भन्ने युवाहरुको बिन्ति र अनुनय बिनय नेपालको सन्दर्भमा हाँस्यास्पद देखिन्छ । युवा र प्रभावशाली नेता मानिने नेपाली काँग्रेसका गगन थापा र नेकपाका योगेश भट्टराईलगायत कतिपय युवा नेताहरु आफ्ना वृद्द भत्ता खाने उमेरका पाका र प्रमाणित असक्षम नेताहरुलाई 'पार्टी र सत्ता बाट बिदा लिनुस्' भनेर धेरै पटक बिन्ति गरेका छन् । पछिल्लो समय थापाले, पुरानो नेतृत्वले ठाउँ खाली नगरेको खण्डमा चुनावी मैदानबाट नै परास्त गर्ने रणनीति लिएको कुरा भने राम्रो संकेत हो ।  इमान नै नभएका अनि राजनीति बाहेक अन्य कुनै पेसा नै नभएका भ्रष्ट नेताहरुलाई 'स्व-इच्छाले पार्टी र सत्ता छोड्नुस' भन्ने बिन्तिले काम गर्दैन । इमान्दार र नेतृत्व क्षमता भएको युवाको उदय भएपछि, जनताको मन र मत जित्दै चुनावी मैदान बाटै पार्टी र सत्ताको नेतृत्वमा पुग्न सकिन्छ । 'पाका उमेरका नेताले छोडिदिए, हाम्रो पालो आउने थियो' भन्ने लाचारिपूर्ण आश गर्ने युवाहरु इमान्दार र सक्षम होइनन् ।

इमान्दार नेतृत्व सत्तामा भएको भए कोरोना महामारीमा कोहि जनता भोकै हुनु पर्ने थिएन, उपचारबिहिन भएर अस्पताल चाहर्दै बिरामीको मृत्यु हुने थिएन, महामारीमा समेत औषधिलगायत सामग्री खरिदमा भ्रष्टाचार हुने थिएन । फेरी अर्को पुस्ताले यो देशमा एउटा मानिस खोज्नु नपरोस् ।

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलालगायत केही अत्यन्त नैतिकवान नेतृत्व पनि विश्वमा हुन्छन जसले चाहँदा जीवनभरि पदमा रहन सक्छन तर उनीहरूले सहजै नयाँ पुस्तालाइ पद हस्तान्तरण गर्छन् । इमान्दार र सक्षम नेताले आफ्नो उत्तराधिकारीका निम्ति दर्जनौँ योग्य पात्रलाई तयार पार्ने गर्छन् तर नेपालमा बाँचुन्जेल आफैँ पदमा रहने अनि कुनै पद दिनु पर्दा पनि आफ्ना आफन्त, गुट र लेनदेनका आधारमा हुने गर्छन् । प्रजातान्त्रिक देशहरुमा अधिकांश नेताहरुले एक वा बढीमा दुई कार्यकाल सम्म नेतृत्वतहमा बसेर देश र जनताको सेवा गर्छन् । त्यसपछि, राजनीतिदेखि अलग रहेर प्राध्यापन, समाज सेवा, पेसा, व्यवसाय गर्ने गर्छन् । नेपालमा अपवाद बाहेक स्थानीयदेखि केन्द्रसम्मका अधिकांसश नेताहरुको पेसा भनेकै राजनीति हो र उनीहरू आजीवन नेतृत्व तहमा रहेर ७ पुस्तालाई पुग्ने गरि भ्रष्टाचार गर्न चाहन्छन् । राजनीतिलाई पेसा बनाएकाले नै खाली खुट्टा काठमाण्डौ पसेका अधिकांश नेता करोडपति भएका छन् । झुपडीमा जन्मिएका नेताहरुले जनताको घरलाई गोठ भन्न थालेका छन् ।  उनिहरु बिपी कोइराला र मदन भण्डारीको नाम भजाएर देश र जनता प्रतिघात गरिरहेका छन् ।

'१० क्लास पनि नपढेका धेरै नेता भएर नेपाल बिग्रेको हो' भन्ने पनि अर्को एउटा आवाज छ । निसन्देह इमान्दार र  विद्वान दुवै भएको नेता पाउनु देश र जनताको सौभाग्य हो ।  तथापी, संसारकै विद्वान तर भ्रष्ट नेता भने झन् खतरनाक हुन्छ । जसरी एउटा सलाइको काँटीले पुरै जंगल खरानी पार्न सक्छ त्यसरीनै एउटा खराब नेताले पुरै देशलाई तहसनहस बनाउन सक्छ । सामान्य लेखपढ मात्र गर्न सक्ने इमान्दारको सट्टा विद्यावारिधी गरेको तर नियत खराब भएको नेताको हातमा शासन पुग्नु हजार गुणा घातक हुन्छ किनकि एउटा इमान्दार नेताले आवश्यकता अनुसार कुनै पनि क्षेत्रका विज्ञ सहयोगी राखेर राम्रो काम गर्न सक्छन तर नियतनै खराब भएकाले देशलाई ध्वस्त पार्छन् । सफल नेता हुन नेतृत्व क्षमता, प्रभावशाली व्यक्तित्व, दुरदर्शिता, विश्व अर्थ व्यवस्था र राजनितीको ज्ञान लगायतका धेरै गुण चाहिन्छ तर पहिलो र निर्विकल्प सर्त भनेको उसको इमान्दारिता नै हो । 

नेपालको आफ्नै मौलिक सिद्दान्त नभएकाले नै नेपालले विकास र विकास नपाएको निष्कर्ष सहित मौलिक जारोकीलो पार्टी जनता माझ जाने तरखर गरि रहेको छ । जारोकिलोले निर्माण गर्ने नेपाल सुहाउँदो भनिएको प्रणाली वा अन्य विश्वमा प्रचलित प्रणाली आफैँमा राम्रो वा नराम्रो भन्ने हुँदैन । व्यवस्था नभई चलाउने व्यवस्थापक मुख्य कुरा भन्ने प्रमाणित तथ्य हो । नेपालमा तानासाही राणा शासन, निर्दलीय पञ्चायत, बहुदलिय प्रजातन्त्र, सक्रिय राजतन्त्र, गणतन्त्र लगायत संसारमा सफल भएका प्रायः सबै व्यवस्था प्रयोग भए तर देश र जनताको अवस्था बदलिएन किनकि अधिकां नेतृत्वतहमा हुनेहरु भ्रष्ट र असक्षम थिए ।

नेपालको विकास गर्न असाधारण क्षमता वा अलौकिक शक्ति भएको नेता आवश्यक पर्दैन । परम प्रतापी, अजय नायक, महा मानव नभई जनतालाई सचेत बनाएर सत्तामा पुग्ने अनि देश र जनताको हित गर्ने इमान्दार मानिस भए पुग्छ । तसर्थ कुनै अलौकिक मानिसले मात्रै नेपाललाई बचाउन सक्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्छ । नेपाल बनाउन कुनैपनि व्यवस्था बाधक थिएन, छैन । सामाजीक, आर्थिक र राजनैतिक व्यवस्था निरन्तर परिवर्तन हुन सक्छन तर जुनसुकै व्यवस्थामा पनि राष्ट बलियो बन्न इमान्दार पात्रको हातमा सत्ता हुन आवश्यक हुन्छ । 

आफ्नो र दलको आर्थिक गतिविधि पारदर्शी नराख्ने, व्यापारीले कर छली गरेको रकम चन्दाको रुपमा ग्रहण गर्ने, इमान्दार कार्यकर्ता नभई पेसेबर गुण्डाहरु अघिपछि लगाएर हिँड्ने, माफिया अनि बिचौलियाहरुसंग उठबस गर्ने, भ्रष्टचारीहरुलाई संरक्षण गर्ने, शक्तिराष्टहरुको कठपुतली बन्ने, दक्षताका आधारमा नभई आफ्ना कार्यकर्ता र आफन्तलाई सरकारी निकायमा भर्ति गर्ने, भ्रष्टाचार र कालोबजारीलाई संस्थागत गर्ने, जनतामाझ नभई विदेशी नियोगमा सत्ता प्राप्तिको बिन्ति लिएर पुग्ने र देशको अस्मितामाथि खेलबाड गर्दै सम्झौता गर्ने नेताहरुबाट विकास र निकासको अपेक्षा गर्नु मुर्खता हो ।

अधिकांश नेपाली जनताले गगनचुम्बी महलमा बस्ने, अत्याधुनिक सवारी साधन चलाउने, बिरामी हुँदा एयर एम्बुलेन्समा विदेशमा उपचार गर्न जाने र विदेशमा सन्तान पढाउनेजस्ता सपना समेत देखेका हुँदैनन् । सरकारले जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभुत आवश्यकताको ग्यारेन्टिको मात्रै अपेक्षा गरेका छन् । नेपाली जनताले इमान्दार नेतृत्वलाई सत्तामा पुर्याएमा कम्तिमा नागरिकको जनजीविकाको समस्या सजिलै सामाधान गर्न सकिन्छ । नेकपा, नेपाली कांग्रेसलगायत पुराना दल वा नयाँ दलबाट इमान्दार नेतृत्व सत्तामा पुर्याउने नागरिक धर्म निभाउनु पर्छ । इमान्दार नेतृत्व सत्तामा पुग्ने बित्तिकै अख्तियार, न्यायालयलगायत सबै सरोकारवाला निकायमा इमान्दारहरुले नियुक्ति पाउँछन् । अहिलेजस्तो आफ्ना भ्रष्ट कार्यकर्तालाई नियुक्ति दिने काम बन्द भएपछि स्वतः भ्रस्टाचार धेरै हदसम्म न्यूनीकरण हुन्छ ।

२०४७ साल पछि सत्तामा बसेका अधिकांश उच्च पदस्त सरकारी कर्मचारी र नेताहरुको श्रोत नखुलेको सम्पत्ति राष्ट्रिय कारण हुनुका साथै जेल जरिवाना हुन्छ। तसर्थ, उखान, टुक्का, गफ र कविता चुट्ने भ्रष्ट नेता नभई देश र जनतालाई प्राथमिकतामा राख्ने इमान्दार नेतालाई नेतृत्वतहमा पुर्याउन अत्यावश्यक छ । इमान्दार नेतृत्व सत्तामा भएको भए कोरोना महामारीमा कोहि जनता भोकै हुनु पर्ने थिएन, उपचारबिहिन भएर अस्पताल चाहर्दै बिरामीको मृत्यु हुने थिएन, महामारीमा समेत औषधिलगायत सामग्री खरिदमा भ्रष्टाचार हुने थिएन । फेरी अर्को पुस्ताले यो देशमा एउटा मानिस खोज्नु नपरोस् ।

[email protected]

 

सुमन बराल

तपाईँको मत