दृष्‍टिकोण

कोरोनाभाइरस : भ्रष्टचारीका निम्ति कमाउने धन्दा

  • सुमन बराल
  • ३० श्रावण शुक्रबार, २०७७ | १०:१४:०० मा प्रकाशित

कतिपयले मलाई "स्वीडेनको बारेमा सधै राम्रो कुरा मात्रै लेख्ने गर्छस्, त्यहाँ नराम्रो केहि पनि छैन ?" भन्ने गर्नु हुन्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारीलगायत सबै आधारभूत आवश्यकताहरुको ग्यारेन्टी लिने एउटा लोककल्याणकारी देश हो स्वीडेन । अर्थात्, एउटा औसत नागरिकका निम्ति स्वर्ग जस्तै हो । हामी नेपाली नागरिकका निम्ति त राम राज्य जस्तै भने फरक पर्दैन । तथापी, यहाँपनि अनेकन नराम्रा पक्ष र बेथितिहरु छन् । राम्रो पक्ष सिक्न-अनुशरण गर्न काम लाग्ने भएकाले मैले राम्रो पक्षबारे धेरै लेख्ने गरेको हो । तर कहिले कहिँ नराम्रो पक्ष लेख्दा पनि 'यस्तो गल्ति गर्नु हुँदैन' भन्ने कुरा सिक्न सकिन्छ ।

स्वीडेनले चाहेको भए १० औँ लाख कोरोना संक्रमण (पुष्टि भएको चाहिँ करिब ८३,००० मात्रै हो, तर टेस्टको दायरा अत्यन्त न्यून भएकाले वास्तवमा १० औँ लाख संक्रमण रहेको स्वीडेनका सरकारी अधिकारीहरुकै दावी हो) अनि ५७७६ जनाको कोरोनाका कारण मृत्यु हुने थिएन भन्ने मेरो गम्भीर आरोप छ । हो, लकडाउन अनन्त कालसम्म गर्न सकिने थिएन र पर्याप्त मेडिकल सामग्री नभएको अवस्थामा केहि समय तयारी गर्न गरिने विधि मात्रै हो लकडाउन भन्ने कुरा अब अलिकति पढे लेखेका सबैले बुझ्न थालेको छन् । तथापी, स्वीडेनमा सार्वजनिक स्थलमा मास्क प्रयोग गर्न अनिवार्य गर्नु त परको कुरा मास्क लगाउन प्रोत्साहन समेत गरिएको छैन । 'स्वीडेनमा मास्क लगाइँदैन । बिरामी भइयो भने, घर बस्ने हो, बिरामी भएकै दिनदेखि निको नहुन्जेल तलबी बिदा पाइन्छ' भन्ने जिम्मेवार सरकारी अधिकारीको भनाई लज्जास्पद छ ।

अहिलेसम्म प्राप्त बैज्ञानिक तथ्यको आधारमा पनि कयौँ केशहरुमा संक्रमणको कुनै पनि लक्षण हुँदैन वा सामान्य लक्षण भएकाले कोरोना भन्ने नलाग्न सक्छ । अर्थात, उनीहरुले जान-अन्जानमा कोरोना पाका उमेर र दिर्घराेगी समूहमा संक्रमण फैलाईरहेको हुन्छन् । साथै, स्वास्थ जस्तो अत्यन्त संवेदनशील कुरालाई मानव अधिकार र स्वतन्त्रतासंग जोडेर 'सरकारले कुनै पनि कडा नीति, दण्ड, जरिवाना गर्नु हुँदैन । नागरिक आफैँ सचेत छन्' भनिने कुरा पनि लज्जास्पद छ । वास्तवमा नै नागरिक सचेत भएको भए, अनि सरकारले दिएको निर्देशन पालना गरिदिएको भए १० औँ लाख संक्रमण अनि ५७७६ भन्दा धेरैको मृत्यु हुने थिएन । युरोपकै कतिपय देशमा सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना तिर्ने बनाइएको छ तर स्वीडेनमा अपवादबाहेक कसैले मास्क लगाउँदैनन् । अपवादबाहेक २ मिटरको भौतिक दुरी पनि कायम गर्दैनन्, कतिपय अवस्थामा (सार्वजनिक यातायात, सपिङ्ग मललगायत) चाहेर पनि सम्भव हुँदैन । बाहिर निस्किँदा, स्वीडेन र विश्व नै कोरोना महामारीसंग जुधिरहेको छ भन्ने खासै सतर्कता पाइँदैन ।

मेरो विचारमा छिट्टै भ्याक्सिन बनेन वा कोरोना आफैँ कुनै कारणले कमजोर भएन भने, नेपालमा १० औँ लाख संक्रमण र ५० औँ हजारको मृत्यु हुनसक्छ । यदि सरकार र नागरिक अहिलेको जस्तै गैर जिम्मेवार हुने हो भने ५० औँ लाख संरमण र २-३ लाख मानिस मर्न सक्छन् । ३-४ महिनाको लकडाउनभरी उखान, टुक्का, कबिता फ़ुराएर बित्यो प्रधानमन्त्री ओलीको । भेन्टिलेटर र आइसीयु बेड थप्ने काम पर्याप्त मात्रामा गरिएन । सरकारको सम्पूर्ण समय र उर्जा आफ्नो कुर्सि जोगाउन, रामलाई नेपाली नागरिकता दिलाउन र भ्रष्टचारी चोख्याउनमा व्यतित भयो, हुँदै छ ।  सरकार भ्रष्ट र गैर जिम्मेवार छ तर नागरिक सचेत हुने हो भने नेपालमा कोरोनाका कारण हुने मृत्यु न्यूनीकरण गर्न सकिन्छ । सबै नागरिकले सकेसम्म घरमा नै बस्ने, सार्वजनिक स्थानमा अनिवार्य उचित ढंगले मास्क प्रयोग गर्ने, सकेसम्म २ मिटर सामाजिक दुरी कायम राख्ने, अनावश्यक रुपमा हातले अनुहार तिर नछुने र साबुन पानीले आवश्यकता अनुसार राम्ररी हात धुनेलगायत कुरा मात्रै गरियो भने पनि आफू र अरुलाई पनि बचाउन सकिन्छ ।

हो, पछिल्लो तथ्यांक अनुसार संक्रमितमद्धे करिब १% लाई मात्रै जटिल लक्षण देखिएको छ भने करिब ९०% लाई कुनै औषधि बिना वा सामान्य औषधिले नै निको हुन्छ । तर करिब १% संक्रमितलाई आइसीयु बेड-भेन्टिलेटरलगायत साधन आवश्यक पर्छ । अहिले नै बिरामीहरुलाइ कोरोना लागेको आशंका गर्दै अस्पतालले भर्ना गर्न नमान्ने अनि बिरामी उपचारबिहीन भएर मर्न बाध्य हुने स्थिति देखि सकिएको छ । कोरोना संक्रमण निरन्तर बढ्ने हो भने, जटिल समस्या हुने सर्वसाधारणको पहुँच बाहिर हुने छ अस्पताल । भएका आइसीयु बेड र भेन्टिलेटर पहुँचवाला र सम्पन्नहरुको कब्जामा हुनेछ। तसर्थ, कोरोना संक्रमण हुन् नदिनु नै सबै नागरिकको एक मात्र उद्धेश्य हुनु पर्छ। विशेषगरी पाका उमेरका र दिर्घराेगीहरुले अझै ख्याल गर्नु पर्छ ।

कोरोनाभाइरसलाई लिएर नेपालमा प्रधानमन्त्री डा. केपी ओली, निक्कै पढे लेखेका देखि सर्वसाधारण नागरिक, पत्रकार, चिकित्सक, कोरोनापछि भाइरल बनेका केहि विज्ञ समेतमा अनेकन भ्रम देखिन्छ । प्रधानमन्त्री ओलीको कोरोनाभाइरस सम्बन्धीको गीता ज्ञान, बेसार र तातो पानि प्रवचनलगायत कारण धेरै नागरिक अझै भ्रमित भएको छन् ।  कृपया एक जना पत्रकारले कोरोनाभाइरस बारे मज्जाले अध्ययन गरेका २-३ जना वास्तविक विज्ञ र चिकित्सक संग टेलिभिजनमा १-२ घण्टे बहस चलाइदिन पनि अनुरोध गर्छु । कोरोनाभाइरसलाई लिएर बजारमा भएका भ्रम (कोरोना संक्रमित सबैलाई अस्पताल राख्नु पर्छ, संक्रमित सबैलाई क्वारेन्टाइन वा आइसोलेसन मा राख्नै पर्छ, कोरोना संक्रमण भयो भने सबै मरिन्छ, लकडाउन र सिलले कोरोनादेखि जोगाउँछ, कोरोना सर्ने डर भएकाले पीसीआर टेस्ट बिना अस्पतालले बिरामी हेर्नै हुँदैन लगायत) अत्यन्त घातक छन् । बैज्ञानिक कारण सहित नेपालको वस्तुस्थिति अध्ययन गरेका बिज्ञहरुले नेपाल सरकार र नेपाली जनतालाई कोरोना बारेका सबै भ्रम चिर्ने कोशिश गर्नुपर्छ ।

स्वास्थ मन्त्रालयका जनस्वास्थ बिज्ञ डा. सुरेश तिवारीका अनुसार "कोरोना भाइरस ५७ औँ खतरा रोग हो अहिलेको परिपेक्षमा अनि कोरोना बाहेक भोकमरी, क्यान्सर, मुटुरोग लगायत अन्य धेरै रोगले प्रत्येक दिन लाखौँ मानिस मर्छन् । मास्क उचित ढंगले लगाउने - कम्तिमा २ मिटरको भौतिक दुरी कायम राख्ने - साबुन पानीले आवश्यक मात्रामा हात धुने मात्रै गर्यो भने पनि संक्रमण फैलिने सम्भावना धेरै न्यून हुन्छ। लकडाउन केहि समयका लागि स्वास्थ उपकरण थप्ने लगायत तयारी गर्नका निम्ति मात्रै प्रयोग गरिने विधि हो । वर्षाैँसम्म लकडाउन गर्न सम्भव र आवश्यक दुवै छैन ।"

कोरोना संक्रमण बाट बच्ने नाममा एक्लै भएको बेला, सुत्दा वा घर भित्र/बाहिर आफ्नै परिवारका सदस्यबीच मास्क लगाउनु हुँदैन, पर्दैन । तर अन्य मानिसहरु संग कम्तीमा २ मीटरको भौतिक दूरी कायम गर्न नसकिने भिडभाडमा भने अनिवार्य मास्क लगाऊँ । सही तरिकाले लगाइएको मास्कले कोरोना संक्रमण बाट आफू जोगिन र अरुलाई जोगाउन धेरै सहयोग गर्ने कुरा प्रमाणित तथ्य हो । स्वीडेनमा पर्याप्त अस्पताल भएर वा 'दीर्घरोगी र बुढाबुढी मरे मरुन' भनेर वा किन मास्क लगाउन सरकारले प्रोत्साहन गरेन भन्ने मलाई जानकारी छैन । म पनि लगाउँदिन र अपवादबाहेक स्वीडेनमा कसैले लगाउँदैनन् तर नेपालमा कृपया सबैले मास्कको सदुपयोग गरिदिनु होला । मास्क प्रहरीका लागि वा चिउँडो र कानका लागि नभई आफ्नै स्वास्थ्यका लागि लगाउने हो तर राम्ररी लगाउन जानिएन भने मास्कले झन् संक्रमण जोखिम बढाउँछ । आशा गर्छु नेपालमा टिभि, रेडियो, पत्रपत्रिकामार्फत मास्क कसरी लगाउने र कसरी मास्कलाई पुनः प्रयोग गर्ने भन्ने कुरा जनतालाई सिकाइएको छ । उचित मास्क प्रयोग र भौतिक दूरी कायम भए,कोरोना तपाईंलाई संक्रमण हुने सम्भावना धेरै कम हुन्छ ।

अस्पतालले भर्ना नगरेका कारण बिरामीको मृत्यु हुनु अपराधिक र अमानवीय घटना हो । दोषी अस्पताल सबैलाई हदै सम्म दण्डित गरिनु पर्ने हो तर दायाँ बायाँ प्रधानमन्त्री र मन्त्रीहरु राखेर हिँड्ने हैसियत भएका स्वास्थ माफियाहरुलाई कारबाही हुँदैन । अस्पताल र चिकित्सकले बिरामीको उपचार नगर्ने हो भने, तुरुन्त बन्द गरेर कुखुरा पाल्नेलगायत अन्य पेसा - व्यवसाय गर्नु उचित हुन्छ । PCR  रिपोर्ट नभएकाले अस्पतालमा भर्ना नलिने भन्ने कुरा असाध्यै लज्जास्पद र अलिकति पनि कोरोनाबारे जानकारी नभएकाहरुको कुकृत्य हो । PCR रिपोर्ट नेगेटिभ आएकामा पनि कोरोना संक्रमण हुन् सक्छ किनकी PCR ले सतप्रतिशत सहि रिपोर्ट दिँदैन । साथै, केहि हप्ता वा दिन अघिको PCR रिपोर्टमा  नेगेटिभ हुनुको खास अर्थ हुँदैन किनकी स्वाब टेस्ट गरेपछि उक्त मानिस संक्रमित भएको हुन् पनि सक्छन् । अर्को कुरा, अहिले अधिकांस अस्पतालमा चिकित्सकहरु संग PPE, N-95 मास्क लगायत कोरोन संक्रमणबाट जोगिन आवश्यक हुने साधन छन् । यसका बाबजुद पनि कुनै बिरामीलाइ भर्ना नलिनु भनेको मानवीय र चिकित्सकीय धर्मविपरित छ ।

कोरोनाभाइरसले नेपालमा गरिब हरुलाई अझै गरिब तर भ्रष्ट राजनीतिज्ञ र सरकारी कर्मचारी हरुलाई भने धनी बनाउने भयो । कुनै पनि बैज्ञानिक आधार बिना नै विभिन्न स्थानीय स्तरमा गरिएको लकडाउन, सिल, कर्फ्यु, क्वारेन्टाइनलगायत अनेक नाममा अर्बैँ खर्च गर्न पाइने, पारदार्सिता हुनु नपर्ने । गरिबलाई बिहान बेलुका के खाऊँ भन्ने चिन्ता अनि भ्रष्टहरुलाई कसरी करोडौँ खाउँ भन्ने चिन्ता । कल्पना गरेभन्दा धेरै भ्रष्ट र मुर्खहरुबाट शासित देश रहेछ नेपाल । 'कहिलेसम्म लकडाउन गर्ने र यसले कसरी कोरोना नियन्त्रण गर्न सहयोग गर्छ ?' भन्ने प्रश्नको बैज्ञानिक आधार नै नखोजी हावाको तालमा गरिने कथित लकडाउनको लुट/अपराध कहिले सम्म ? मेरो निम्ति 'नेपालमा यति दिन वा हप्ता वा महिना वा वर्ष लकडाउन गर्ने र यसरी कोरोना नियन्त्रणमा ल्याउने' भन्ने जवाफ दिने बिज्ञ वा जो कोहि संसारकै सबैभन्दा ठूलो विद्वान हो । हुँदा खानेलाई खान पुग्ने गरी खाद्यान्न वा पैसा देऊ, त्यसपछि दुई वर्ष कर्फ्यू गरे पनि हुन्छ । मलाई एक पैसा पनि दिनु पर्दैन सरकार वा कसैले, तर हुँदा खाने ४० औं लाख नेपाली नागरिकलाई खान पुग्ने गरी राहत देऊ अथवा सुरक्षित भएर मापदण्ड बमोजिम काम गरी खान देउ ।

३-४ घण्टा बजार खोल्नु अझै जोखिमयुक्त हुन्छ ।  ३-४ घण्टा कोरोना निदाउने वा संक्रमण नहुने हो वा अन्य कुनै बैज्ञानिक आधार पनि छ ? मेरो विचारमा जतिसक्दो धेरै समय उचित मापदण्ड बमोजिम बजार खोलिनु पर्छ । लामो समय बजार खुल्ला रहने हो भने भिडभाड पनि कम हुन्छ । साथै, कर तिर्नका निम्ति आजको युगमा नागरिक ठेला ठेल गरेर बस्ने स्थिति आउनु अत्यन्त लज्जास्पद हो । अनलाइन कर तिर्न मिल्ने वा तोकिएको समयमा लाइन नबसी सेवा लिन जान पाइने व्यवस्था सुचारु गर्न कठिन छैन तर त्यति गर्ने हो भने भ्रष्टचारी र बिचौलियाले अतिरिक्त कमाई भने गुमाउँछन ।

सबै नागरिकको कोरोना टेस्ट गर्न आवश्यक र सम्भव दुवै छैन । नेपालले मात्रै होइन, अमेरिका, चीन, बेलायत वा करोडौँ जनसंख्या भएका कुनै पनि विकशित देशहरुले पनि आफ्ना सबै नागरिकको टेस्ट गर्न सक्दैन । अर्थात्, भ्याक्सिन नबनेसम्म सबैले एक अर्कालाई कोरोना संक्रमित सम्झिनु पर्छ । सामान्य लक्षण भएमा घरमा नै आराम गर्नु पर्छ । अस्पताल जानुपर्ने गरिको लक्षण देखिएमा मात्रै कोरोना टेस्ट गर्ने र सोहि बमोजिम आवश्यक उपचार गर्ने गर्नुपर्छ । सरकारले कोरोना संक्रमितलाई छुट्टै अस्पतालमा उपचार गर्नु पर्छ । अन्य  जटिल रोग भएका हरुलाई कोरोनाको जोखिम धेरै हुने भएकाले, कोरोना संक्रमित माझ संगै राख्नु हुँदैन । चिकित्सक र स्वास्थाकर्मी संक्रमित भएको खण्डमा धेरै बिरामी र अन्यलाई कोरोना फैलिन सक्ने भएकाले PPE, मास्क लगायत आवश्यक सामग्री सरकारले उपलब्ध गराउनु पर्छ । राम मन्दिर बनाउन आदेश दिने प्रधानमन्त्रीले कोरोना संक्रमितलाई उपचार गर्ने अस्पताल बनाउने आदेश पनि दिन आवश्यक छ । 

सुमन बराल

तपाईँको मत