दृष्‍टिकोण

किन कमेडियन अपूर्वमाथि यो हदको अत्याचार ? कहाँ छन् कथित अधिकारवादीहरू

  • सुमन बराल
  • ४ कार्तिक शुक्रबार, २०७९ | २०:३२:०० मा प्रकाशित

अपूर्वले गरेको स्ट्यान्डअप कमेडी विरुद्ध 'नेवारी संस्कृति अभियन्ताहरुको' उजुरीका कारण अपूर्व दसैंअघि नै १२ दिन थुनामा परिसकेका थिए। १२ दिनसम्म निवेदकहरूलाई हात जोडेर माफी माग्दा पनि प्रधानाध्यापक समेत रहेका अपूर्व बाबु जयशंकरले आफ्नो छोरालाई छुटाउन सकेका थिएनन् तर थुनामै रहँदा कोभिड संक्रमण भएपछि प्रहरीले हाजिरी जमानीमा छाडिदिएको थियो । दोस्रो पटक थुनामा परेर अहिले धरौटीमा छुटेका छन् । अभियन्ताले आपत्ति व्यक्त गरेपछि अपूर्वले तत्काल माफी माग्दै भिडियो हटाएका थिए । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी भरत बोहराले ‘उजुरी परेपछि मुद्दा नचलुन्जेल हामीले हिरासतमा लिनैपर्छ' भन्दै अपूर्वमाथिको कारबाहीलाई प्रहरीले भने सामान्य प्रक्रिया भनेको छ । के उजुरी पर्ने सबैलाइ प्रहरीले यसरी नै हत्कडी लगाएर थुन्ने गरेको छ ? उत्तर सिधा छ थुन्ने गरेको छैन र थुन्न आवश्यक पनि हुँदैन । गम्भीर अपराध नभएको खण्डमा अनि आरोपित व्यक्ति भाग्ने, उसले प्रमाण नस्ट गर्ने सम्भावना वा आरोप लगाउने माथि सुरक्षा खतरा हुने लगायत अवस्था बाहेक कसैलाई पनि हिरासतमा नलिकन मुद्दा अघि बढाउन सकिन्छ । दोषी पाइए दण्डित हुन्छन् ।

विवादित भनिएको अपूर्वको कमेडी भिडियो मैले पनि केही समय अघि नै हेरेको थिएँ, यदि उक्त भिडियो नै फेरि अपूर्व थुनिनुको आधार हो भने, यो भन्दा ठूलो अन्याय अरु केही हुनै सक्दैन । सम्पन्न र पहुंच छ भन्दैमा यो हदको अन्याय गर्न मिल्छ जाबो एउटा कमेडी भिडियोको आधारमा ? मान्छे कुट्दै - मार्दै हिँडेका हत्यारा र गुण्डाहरु सांसद, मन्त्री, प्रधानमन्त्री बनेको देशमा एउटा जाबो कमेडी गर्ने लाई जेल ? म कानुनको नभए पनि मानव अधिकारको विद्यार्थी हुँ, अपूर्वले कमेडीमा भनेको कुनै पनि कुरा कानुन विपरीत छ जस्तो लाग्दैन । उनको कुराले कमेडीलाई कमेडीका रूपमा लिन नसक्नेहरुको चित्त दुःखाएको भने हुन सक्छ । माफी माग्नु पर्ने गरि गैर कानुनि काम नगरेको भए भने उनले चित्त दुखाएको हरुको सम्मान गर्दै माफी मागेर भिडियो हटाए ।

म उनी वा उनी जस्ता कमेडियनको दर्शक होइन। अपूर्व व्यक्तिगत रूपमा चिन्दिन, यो भिडियो विवाद हुनु अघि नाम समेत सुनेको थिएन । यत्तिको कमेडी नपच्ने हो भने त गीत, संगीत, फिल्म, पुस्तक, साहित्य सबै बन्द गरे हुन्छ त । प्रायः सबै मनोरञ्जनका लागि उत्पादन हुने सामग्री कुनै न कुनै समुह, व्यक्ति लाई चित्त नबुझ्न सक्छ / रिस उठ्न सक्छ । एउटा लाई नै चित्त नबुझ्ने कुरा पनि त ठीक नहोला । साथै, यस्तो कमेडी नेपालमा मात्रै होइन विदेशमा पनि गरिन्छ । अनि नेपालमा बाहुन - क्षत्री - मधेसी - पहाडी - लगायत सबै समुदाय बारे यस्ता कमेडी सयौँ बनेका छन् । फिल्ममा पनि यस्ता कमेडी हुन्छन् । अपूर्वकै कमेडीमा मधेसीलाई पनि कमेडी गरिएको छ । नेवारी कमेडियनले मधेसी लगायत अरु समुदायको कमेडी गर्न पाउने तर एउटा मधेसीले पहुंच र शक्ति भएका नेवारी माथि गरेको कमेडी नपच्ने ? म दावाका साथ भन्न सक्छु कुनै नेवार वा अन्य जातिको कमेडियनलाई मधेसीमाथि यस्तै कमेडी गर्दा कसैले थुन्ने आँट गर्दैन । यहाँ हेपिएको एउटा मधेसीलाई हो, कमेडीलाई होइन ।

कथित 'नेवारी संस्कृति अभियन्ताहरु' लाई एकपल्ट आफू नेवार नभई मानव मात्रै भएर सोच्न विनम्र आग्रह गर्छु । म समाजको निम्ति बराल (बाहुन) भनिने परिवारको हुँ तर म जात सातमा विश्वास गर्दिन । आफूलाई मानव मान्छु । नेवार माथि गरिएको कमेडी देख्दा हजुरको चित्त दुख्दो रहेछ तर मलाई बाहुन माथि गरिएको कमेडी सयौँ छन्, ती हेर्दा अलिकति पनि चित्त दुख्दैन । कमेडी भनेको कमेडी नै हो भन्ने राम्रो चेत छ । हजुरलाई नेवार माथि गरिएको कमेडी हेर्दा मात्रै चित्त दुख्छ की मधेसी, बाहुन लगायत अरु समुदायलाई गरिएको कमेडी हेर्दा पनि असैह्य हुन्छ ? त्यस अर्थमा कोही प्रति मेरो पूर्वाग्रह वा विशेष लगाव दुबै छैन ।

कुन कानुन टेकेर उनलाई कारबाही गर्दो रहेछ अदालतले हेर्न आतुर छु । उनलाई कारबाही हुदैन भन्ने लाग्छ मलाई तर यो थुनाउने कामले त दुःख एउटा जाबो कमेडी गर्ने ले पाए नी । कुन हदको मानसिक तनाव भएको होला । उनलाई बिगतको जसरी आफ्नो कुरा बोल्ने - लेख्ने हिम्मत फेरी कहिले पनि नआउन सक्छ । अदालत मा कस्ता कस्ता न्यायाधीश छन् भन्ने हामीले बुझेका नै छौं, शक्तिको आडमा उनलाई कारबाही गरियो भने, हजारौं सिके राउतको जन्म हुन्छ, हुनु पर्छ । यस्तै अत्याचारले गर्दा मधेसमा सिके राउत हरुको जन्म हुने गरेको हो ???? "अति गर्नु तर अत्याचार नगर्नु " भन्ने उक्ति जस्तै ।

मलाई हजारौं वर्ष देखि हेपिएको एउटा समुदायको एक सदस्यको एउटा जाबो कमेडीलाई लिएर यो हदको अन्याय गरेको प्रति दुःख लागेको हो । यही समाजमा जातका आधारमा दिन दिनै मान्छे कुटिन्छ, मारिन्छ, दिसा - पिसाब खुवाइन्छ तर कारबाही अपवाद बाहेक हुँदैन ।अनि एउटा कमेडी गर्नेलाई यत्रो दुःख/अन्याय ? कमेडियन अपूर्वलाई केही पहुँचवाला हरुको बलमा पटक पटक थुन्ने काम गरिएको, डर धम्की दिइएको कुराले अत्यन्त निरिह महसुस हुन्छ, लज्जाबोध हुन्छ। हाम्रो देश कुन युगमा छ ? कस्तो प्रजातन्त्र, वाक स्वतन्त्रता छ हाम्रो ? एउटा कमेडी गर्नेलाई जेल हाल्ने अनि अमानवीय विभेद गर्ने भने दमन गरी रहने कुरा कल्पना गर्दा पनि आँखा रसाएर आउँछ । पढेलेखेको र पेसाले चार्टर्ड एकाउन्टेन्ट र सोखले कमेडियन अपूर्व माथि यो हदको अन्याय हुन्छ भने अन्य गरीब र अशिक्षित समुदायहरु माथि कुन हदको अन्याय र अत्याचार हुँदै होला ?

तुलानात्मक रूपमा सम्पन्न र समृद्ध नेवारी समुदायका केही "रक्षक" हरुलाई जाबो एउटा कमेडी पचेन, कमेडीले नेवारी समुदायलाई खतरा पुग्यो रे । यस्तो खतरा महसुस गर्ने डिग्री धारी शिक्षित तर मानव वन्ने चेतना नभएका पनि छन् अनि पाका उमेरका देखि युवा समेत छन् । मलाई केही डिग्र धारी तर मानव बन्न नसकेका अग्रज नेवारहरूले "नेवार प्रति पूर्वाग्रही छस" भन्ने बेतुकको आरोप लगाएपछि, सम्झे सम्म सबै नेवार साथी भाइलाई अपूर्वको कमेडी बारे धारणा राख्न अनुरोध गर्दै सम्पर्क गरेँ । केहीले "खुचिङ पर्यो, मेरो समुदाय माथि खतरा पुर्याउनेलाई हदैसम्म दण्डित गर्नु पर्छ" भन्नु भयो । तथापि अधिकांसले "केही कथित रक्षकहरुको हर्कतले आफ्नो कुनै गल्ति नभए पनि, नेवार भएकै कारण लाजमर्दो भएको छ । यो अरु केही नभएर जातिय राजनीति गर्ने हरुको खेल हो ।अहिले चुनावको मुखमा अपूर्वको कमेडीलाई भजाएर भए पनि अलिकति बढी भोट पाउन सकिन्छ की भन्ने घिनलाग्दो खेल हुँदै छ । केही भने ब्रेन वास पनि भएका छन्, उनीहरुलाई कमेडीले साँच्चै खतरा पो पुर्याउने हो कि भन्ने अलिकति डर लागेको छ । तथापि यो कुरा खुलेर सामाजिक सञ्जालमा लेख्न - बोल्न सहज छैन । आफ्नो र परिवार माथि नै आक्रमण हुने डर छ" भन्नु भयो । हजारौँ शिक्षित र युवा नेवारी साथीभाइहरुले अपूर्वको बिना सर्त रिहाइको माग गरि रहनु भएको छ ।

रवीन्द्र मिश्र लगायत हातमा गन्न सकिने राजनीतिज्ञ अनि मनोज गजुरेल लगायत केही कलाकार बाहेक अपूर्व विषयमा मौन छन् धेरै । राजनीतिज्ञलाई भोट घट्ला भन्ने अनि कलाकारलाई दर्शक घट्लान भन्ने चिन्ता होला । के अहिले अपूर्व माथि भएको अन्याय भोलि अन्य माथि नहोला ? डर - त्रास - प्रलोभन वा के कारणले हो उत्तर कोरिया र चिनको बिरुद्ध पटकपटक सडकमा उत्रिने कथित मानव अधिकारवादी र नागरिक समाजका अगुवाहरु अनि मिडिया पनि अपूर्वमाथि भएको अन्याय बिरुद्ध बोलेको देखिँदैन ।

हजारौं वर्षदेखि नेवारी भित्र कै दलित अनि मधेश र पहाडका दलित हरु अमानवीय विभेद सहन बाध्य छन् । केही दशक अघि सम्म राज्यले नै विभेद गर्थ्यो, एउटै बाटो हिँड्न पाउँदैन थिए, आफूले चाएको पेसा/व्यवसाय रोज्न पाउँदैन थिए, शिक्षा आर्जन गर्न वर्जित थियो । अहिले पनि समझदारीमा ठूला भनिएका जातका संग विवाह गर्दा कुटिने/ मारिने क्रम जारी छ । धेरै ठाउँमा सार्वजनिक धारा/ मन्दिर/ होटल प्रयोग गर्न वर्जित छ । धेरै श्रम र यौन शोषणको शिकार भएका छन् । आफ्नो थर भनेपछि सहरमा कोठा पाउन मुस्किल पर्छ । माथि उल्लेखित सबै अमानवीय कृयाकलाप अहिलेको संविधान बमोजिम गैर कानूनी भए पनि व्यवहार मा यथावत छ । हजारौं वर्षदेखि यस्ता अमानवीय विभेद कसरी सहँदै आएका होलान् ?

सुमन बराल

कामी दाइ लेख्नुहुन्छ ५ कार्तिक, २०७९ ०८:४३ am

कसैले कसैलाइ हेप्ने काम नगराैँ, एकता कायम गराैँ । कलाकार देशका गहना हुन् ।

Ramesh Neupane लेख्नुहुन्छ ५ कार्तिक, २०७९ ०८:४२ am

कथित 'नेवारी संस्कृति अभियन्ताहरु' लाई एकपल्ट आफू नेवार नभई मानव मात्रै भएर सोच्न विनम्र आग्रह गर्छु ।

Keshav Sandai लेख्नुहुन्छ ५ कार्तिक, २०७९ ०८:४१ am

कलाकारलाइ दुःख दिनेलाइ खै सजाय ?

Salikram Lamichhane लेख्नुहुन्छ ५ कार्तिक, २०७९ ०८:४१ am

हावाका अधिकारवादी कहाँ छाैँ,

नम्रता रेग्मी लेख्नुहुन्छ ५ कार्तिक, २०७९ ०८:४० am

तपाइँकाे विचारलाइ उच्च सम्मान ।

Yubaraj Shrestha लेख्नुहुन्छ ५ कार्तिक, २०७९ ०८:३९ am

Had atyachar ekdamai prayogit xa...

तपाईँको मत