ब्लग

गफाडी नहुने अनि जाँडरक्सी नखाने पनि झापाली हुन्छन् ?

  • सुमन बराल
  • ७ श्रावण बुधबार, २०७७ | १३:१७:०० मा प्रकाशित

आज म सबै जाँडरक्सी खानेहरु संग माफी माग्दै मेरो उनीहरू प्रतिको गलत बुझाई लेख्न चाहन्छु । 'गफाडी नहुने अनि जाँडरक्सी नखाने पनि झापाली हुन्छन् ?' भनेर मलाई स्वीडेनमा कतिपय साथीभाइहरुले झापाली नै होइन होला भनेर जिस्काउने गर्नु हुन्थ्याे । अनि नेपाल गएको बेला साथी भाइहरुले 'विदेशमा, त्यो पनि युरोप यत्रो वर्ष बसेर पनि रक्सी चल्दैन?' भनेर आश्चर्य व्यक्त गर्नु हुन्छ । मैले जाँड रक्सी नपिउनुका पछि अनेक कारण छन्, कुन कारण मुख्य हो भन्ने म यसै भन्न सक्दिन तर मैले सम्झिएका सबै कारण लेख्ने कोशिश गरेको छु ।

१. म एउटा सामान्य किसान परिवारमा जन्मिएको, हुर्किएको व्यक्ति हुँ । मेरो ममी बुबाले असाध्यै धेरै संघर्ष गरेर छोराछोरी पढाउनु भयो, घर व्यवहार सम्माल्नु भयो । वहाँहरुको संघर्ष नजिकबाट देखेका कारण अनि हाम्रो घरमा 'जाँड रक्सी भनेको पिउन त परको कुरा हेर्न वा छुन पनि नहुने वस्तु हुन' भन्ने मानसिकता थियो । सम्भवतः यही मानसिकताले गर्दा अनि ममी बुबाको विश्वासमा ठेस पुग्ला भनेर स्कुल - कलेज हुँदा जाँडरक्सी पिउने वा चाख्ने आँट गर्न सकिएन ।

२. जाँडरक्सी प्रति अत्यन्त नकारात्मक मानसिकता हुनुका पछि मेरा छिमेकीहरुको ठूलो हात रहेको छ। पहिलो छिमेकी :- वहाँ हाम्रो समाजले जाँडरक्सी नखाने जात भनेर मानेको समुदायको हुनुहुन्थ्यो । रक्सी खाएका कारण वहाको सबै परिवार लज्जित महसुस गर्ने गर्थेँ, धेरैपटक  रक्सी छुटाउने असफल कोसिसले थाकेका थिए, रक्सी खाने गरेको कुरा सकेसम्म लुकाउने प्रयास गर्थे । छोराछोरी पनि वहाँसंग डराउने गर्थे, परिवारमा खासै राम्रो सम्बन्ध थिएन । यो घटनाले मलाई सानो उमेर देखि नै 'जाँडरक्सी खायो भने, परिवारका अन्य सदस्यले मन दुखाउने रहेछन्, घर बिग्रने रहेछ' भन्ने गहिरो छाप पर्यो ।

३. दोस्रो छिमेकी :- वहाँ सामान्य अवस्थामा असाध्यै मज्जाको हुनुहुन्थ्यो । केटाकेटी मन पराउने र बजार बाट आउँदा बेलामौकामा चकलेट ल्याइदिने गर्नु हुन्थ्याे । तथापि रक्सी खाएको बेला रातारात आँखा बनाएर हल्लिँदै हिँड्नु हुन्थ्याे । छाडा शब्द भनिएका सबै प्रयोग गर्दै 'यो बाटो, यो केटी, यो घर सबै मेरो हो । कोही छ म संग भिड्ने ? ओए फलानो आइज, भिड्न सक्छस् ?' भन्ने गर्नु हुन्थ्याे । समाजले वहाँलाई राम्रो मान्दैन थियो । मेहनत गरेको सबै रकम जाँडरक्सी र जुवातासमा सिध्याउने भएकाले घरमा श्रीमती र छोराछोरीले धेरै दुःख पाउने गर्थे । यो घटनाले पनि जाँडरक्सी खायो भने समाजले पनि राम्रो मान्दैन रहेछ भन्ने गहिरो छाप पर्यो ।

४. तेस्रो छिमेकी :- मेरो बाल्यकालमा देखेको जाँडरक्सी खानेमध्ये सबै भन्दा पढे लेखेको वहाँ हुनुहुन्थ्यो । अङ्ग्रेजी पनि बोल्न सक्ने । रक्सी खाएको बेला सबैले बोल्ने अङ्ग्रेजी नभई नखाएको बेला समेत वहाँ मज्जाले अङ्ग्रेजी बोल्न सक्नु हुन्थ्याे । सम्भवतः वहाँले एसएलसी पास गरेर कलेज सम्मको शिक्षा लिएको हुनु पर्छ । सामान्य अवस्थामा वहाँ सारै सरल र मृदुभाषी हुनुहुन्थ्यो । आफ्ना वयोवृद्ध आमा बुबालाई माया र हेरविचार गर्नु हुन्थ्याे । तथापी रक्सी खाएपछि वहाँभित्र अर्कै मानिस प्रवेश गर्थ्यो । वयोवृद्ध आमाबुबा लाई समेत कुट्ने, घरको पैसा चोर्ने, घरका सामानहरू चोरेर बेच्ने गर्नु हुन्थ्याे । अरुबेला चिटिक्क राम्रो कपडा लगाएर हिँड्ने मानिस रक्सी खाएपछि कपडामा नै होस् गुमाएर दिसा पिसाब र बान्ता गर्ने गर्नु हुन्थ्याे ।  गाउँका चुल्ठे मुन्द्रेहरुले आफ्नो बाबु - काका उमेरको वहाँलाई हेप्ने, कुट्ने, जिस्काउने गर्थे । पछि वहाँको अलिक शंकास्पद तरिकाले मृत्यु भयो । कतिपयले गाउँका केटाहरुले कुटेका कारण मृत्यु भएको भन्ने आरोप लगाए, कतिपयले दशकौँदेखि जाँड रक्सीले कमजोर बनाएको शरीरले थेग्न नसकेकाले मृत्यु भयो भने । छानबिन भने भएन ।  यो घटनाले जाँडरक्सी खायो भने घर परिवार र समाजले पनि राम्रो मान्दैन रहेछ अनि अकालमा मृत्यु हुने रहेछ भन्ने गहिरो छाप पर्यो ।

५. चौथो छिमेकी :- वहाँ पनि शिक्षित नै हुनुहुन्थ्यो । सायद कलेज शिक्षा सम्म लिएको मानिस । सामान्य अवस्थामा असाध्यै सरल हुनुहुन्थ्यो तर रक्सी खाने बानीका कारण वहाँको घर झगडा सधैं हुने गर्थ्यो । वहाँलाई पैसा चोर्ने गरेको, आफ्नो काम नगर्ने गरेकोलगायत आरोप लाग्ने गर्थ्यो । घरमा झगडा, ऋण लगायत कुराले सधैं पारिवारिक तिक्तता हुने गर्थ्यो । अहिले वहाँले जाँडरक्सी त्याग्न सफल हुनु भएको छ र एउटा राम्रो पारिवारिक जीवन जिउनु हुँदै छ । यो घटनाले पनि मलाई जाँडरक्सी प्रति नकारात्मक छाप पार्यो ।

६. पाँचौं छिमेकी :- वहाँ हाम्रो समाजले 'जाँडरक्सी खान जातले पाएको' भनिने समुदायको हुनुहुन्थ्यो । त्यो बेला सानोतिनो व्यवसाय गरेर आफ्नो आर्थिक हैसियत उकास्न सफल हुनुहुन्थ्यो । विस्तारै वहाँले रक्सी होइन रक्सीले वहाँलाई खान थाल्यो । व्यवसाय गर्न नसक्ने स्थिति भयो । घरमा प्रत्येक दिन झगडा  हुन थाल्यो । श्रीमती र छोराछोरीले कुटाई खाने र गाउँलेकोमा गएर लुक्ने कुरा दैनिकी बन्न थाल्यो। सबै पैसा रक्सीमा सकिने भएकाले वहाँका श्रीमती र सन्तानले धेरै दुःख पाउन थाले । पछि वहाँको अनेकन रोगको सिकार भएर अल्पायुमा नै मृत्यु भयो । श्रीमती र नाबालक छोराछोरीले धेरै दुःख पाए अनि सम्पत्ति सबै सकियो । यो घटनाले पनि जाँडरक्सी खानु राम्रो होइन भन्ने गहिरो छाप पर्यो ।

७. आफू संगै हुर्केका गाउँका समकालीन  केही साथी भाइहरु रक्सी खान्थे, केही लागुऔषधको दुर्व्यसनीमा पनि फसेका थिए । अपवादबाहेक उनीहरूको पढाइ राम्रो थिएन । उनीहरु मध्ये केहीका बाबुआमा 'सुमन मेरो छोरो संगतले बिग्रियो, सम्झाइ देऊ न' भनेर म संग रुने र गुनासो गर्ने गर्थे । शिक्षकले पनि सधैंजसो पिट्ने गर्थे । चोरीका घटना, झगडा, कुटपिट सामान्य थियो उनीहरूका लागि । उनीहरूको बाबु आमालाई आफ्नो  सन्तान जाँडरक्सीको कारण मर्ला वा मार्ला भन्ने पिर सधैँ हुन्थ्याे । उनीहरूको जाँडरक्सी र लागुऔषध संग जुन रफ्तारमा सम्बन्ध नजिक भयो, त्यै रफ्तारमा मेरो उनीहरू सँगको सम्बन्ध टाढा भयो । यी घटनाले पनि जाँडरक्सी राम्रो होइन भन्ने गहिरो छाप पर्यो ।

८. 'फलानोको छोरी त कति भाग्यमानी, ज्वाइँले जाँडरक्सी खाँदा रहेछन्' । 'फलानोले जाँडरक्सी खान सुरु गरेपछि कत्रो प्रगति गर्यो' जस्ता कुरा मैले कहिले सुन्न पाईन । ठीक विपरीत, जाँडरक्सी खाएर श्रीमती र छोराछोरी कुटेको, सम्पत्ति सिध्याएको, रक्सीका कारण अनेक रोग लागेर अल्पायुमा नै मृत्यु भएको, रक्सी खाएर सवारी साधन चलाउँदा घाइते वा मृत्यु भएको लगायत नराम्रा कुरा मात्रै सुन्न र देख्न पाएँ ।

९. ५-६ कक्षा तिर पढ्थेँ । केही दिनको अन्तरालमा बजारमा एकजना आफूलाई पढाउने शिक्षक र आफन्त भेट भयो । सदाझैं  देख्ने बित्तिकै नमस्कार गरेँ, तर वहाँहरू नमस्कार नफर्काई र केहि नबोली हतार हतार आफ्नो बाटो लाग्नु भयो । भट्टीबाट रक्सी खाएर हल्लिँदै गरेको अवस्थामा आफन्त वा शिक्षक भेटियो भने एकअर्कालाई नदेखे - नचिने झैँ गर्नु पर्छ भन्ने कुरा निक्कैपछि मात्रै चाल पाएँ । यसरी समा संग सकेसम्म लुक्दै भट्टी पस्ने र निस्किने घटनाले मलाई रक्सी पिउनु त परको कुरा छुनु पनि नहुने रहेछ भन्ने छाप पर्यो । 

१०. सन् २००९ मा म स्वेडेन आएँ । त्यतिन्जेल रक्सी पिएको थिइन । भट्टीमा सेकुवा र सुकुटी खान गएको बेला साथीहरुको ग्लासको रक्सी सुँगेको भने थिएँ । रक्सीको गन्ध नै  अत्यन्त नमिठो लाग्थ्यो । धेरैले 'भट्टी दूध खान कोही जाँदैन, रक्सी खान नै जाने हो' भन्ने गरेको सुनिन्छ तर भट्टी जाने सबै रक्सी खान मात्रै जाँदैनन् । म र केहि साथि भाई रक्सीबाहेक अन्य खाजा खान पनि जान्थ्यौँ।  स्वेडेनमा पछि, धेरै स्वीडेनका नागरिक र नेपालीहरुले पनि रक्सी खाएको देखें । अपवादबाहेक कोही सडकमा सुत्ने गरी पिउने गर्थेनन्, झगडा पनि त्यस्तो कहिले देख्न पाइँन । सबै सम्पत्ति पनि सक्दैन थिए । यो घटनाले रक्सी आफैँमा खराब होइन रहेछ, आवश्यक भन्दा धेरै खानु चाहिँ नहुने रहेछ भन्ने लाग्न थाल्यो । रक्सी खानु सम्म ठिकै हुने रहेछ तर जब रक्सीले आफूलाई खान थाल्छ, त्यो चाहिँ गलत रहेछ भन्ने लाग्यो । अत्यधिक जाँडरक्सीको सेवन गर्नु एक प्रकारको रोग/समस्या हो, मानिसले अपवादबाहेक चाहेर अल्कोहोलिक हुन, आफ्नो सबै सम्पत्ति सिध्याउन, घर झगडा गर्न चाहँदैन भन्ने स्वेडेन आएपछि मात्रै बुझें ।

११. डेनमार्क गएको थिएँ, २००९ तिरको कुरा हो ।  एक दिन एक जना अग्रज दाइले रुममा केही बाेतल रक्सी लिएर आउनु भएछ । रक्सी देखाउँदै 'लू सुमन सुरु गरौं' भन्नु भयो । मेरो कपाल लामो थियो, त्यहिमाथि झापाली । वहाँलाई मैले रक्सी खाँदिन भन्ने लागेकै रहेनछ । 'अलिकति  चाख न त, नत्र म पनि खाँदिन' भन्नु भयो । एकछिन नाई भनेँ तर वहाँले नखाएपछि 'कति खान मन लागेको होला, एक घुड्की खाइदिनु पर्यो, अलिकति खाँदैमा म जडीँया हुने होइन' भन्ने लाग्यो । मैले एक घुडकी खाएपछि वहाँले पनि खान सुरु गर्नु भयो । जीवनमा मेरो जिब्रोमा रक्सी परेको त्यो पहिलो घटना थियो । स्वाद पनि तीतो, अनि गन्ध पनि नमिठो लाग्यो, त्यसपछि अरू खाइन् । पहिलो चोटी खाएर हो वा त्यसै मनमा डर लागेर हो, आफैँलाई मातेको-पूर्ण होशमा नभएको जस्तो भान भयो । 

१२.  स्वीडेनमा एक दुई पटक साथीहरु संग फरक खालका रक्सी थोरै चाखेको छु तर कुनै पनि रक्सीको स्वाद मन परेन ।  मेरा निम्ति महँगा वाइन, व्हिस्की, भोड्का, सेम्पिनहरु  लोकल रक्सी समान नमिठो र दुर्गन्धित भए । त्यसपछि फेरि कुनै रक्सी पिएको/चाखेको छैन । भविश्यमा रक्सी नखाई निन्द्रा नलाग्ने र जुरुक्क उठेर रक्सी खानु पर्ने अवस्था पनि नआउला भन्न सकिँदैन किनकि भविश्य कसैले देखेको छैन । तथापी आजका मितिसम्म चाहिँ औषधिका रूपमा कुनै दिन रक्सी खानु परेको अवस्थामा बाहेक आजीवन रक्सी खाँदिन जस्तो लाग्छ ।

१३. मैले औषधिका रूपमा भने सानै हुँदा एक दुई सुरुप रक्सी पिएको थिएँ । म सानो हुँदा असाध्यै दुब्लो थिएँ, हात खुट्टा ४-५ चोटी भाँचिएको थियो । बुबालाई कसैले 'बियर ख्वाउनु छोरालाई अलिकति, मोटाउँछ' भनिदिएछ । 'लौ एकपल्ट कोशिश गरौं' भन्ने लागेर होला, बुबाले एक दिन एक वाेतल बियर ल्याउनु भएछ र अलिकति मलाई ग्लासमा दिनु भयो । के हो भन्ने त्यो बेला मलाई थाहा थिएन । औषधि हो भन्नु भयो, मैले अलिकति खाएँ, बाकी सबै खान सकिन जस्तो लाग्छ । पछि मात्रै मैले त्यो रक्सी रहेछ भन्ने थाहा पाएँ । मोटाउँछ भने , अरु कसैको सल्लाहमा मलाई फुपु दिदीले सुँगुरको मासु खुवाउनु भएको कुरा घरमा अरूले पछिसम्म जिस्काउँदै सुनाउनु हुन्थ्यो, अचम्म मान्दै सुन्थेँ ।त्यो बेलासम्म सुँगुर देख्यो कि भाग्ने चलन थियो किनकि 'बाहुनले सुँगुर खानु वा छुनु हुँदैन' भनेर सिकाइएको थियो । मैले बुबाले रक्सी खानु भएको देखेको छैन, खानु हुँदैन जस्तो लाग्छ अझै । युवाअवस्थामा चाख्नु चाहिँ भयो होला, मैले जस्तै ।

१४.  एसएलसी दिनु अघि सम्म मलाई जाँड रक्सी खाने साथीभाई वा अग्रजसंग संगै बसेर खान वा धेरै बोल्न डर लाग्थ्यो । कतै जाँडरक्सीको कुलत मलाई पनि सर्छ की भन्ने लाग्थ्यो किनकि 'संगतले मेरो छोरा बिग्रियो' भनेर साथीभाइका आमाबाबुले मसंग गुनासो गरेको कुराले दिमाग भरिएको थियो । रक्सी नखाने र रक्सी खाने पनि साथी हुन् सकिन्छ, संगै बसेर खान सकिन्छ भन्ने कुरा एसएलसी पछि मात्रै बुझें । रक्सी खाने साथीहरुहरू रक्सी सहित अन्य कुरा खान्छन्, म लगायत रक्सी नखानेहरु जुस - पानी सहित अन्य कुरा खान्छौँ । न मेरो संगतले उनीहरूले रक्सी खान छोडे, न त उनीहरूको संगतले मैले रक्सी खान नै थालेँ । न मैले उनीहरुलाई रक्सी छोड्न दबाब दिन्छु, न त उनीहरू मलाई रक्सी खान नै दबाब दिन्छन् ।  मानिसले संगतलाई त्यसै दोष मात्रै दिने रहेछन् भन्ने लाग्छ आजभोलि ।

१५.  म सारै सोझो छु जस्तो चाहिँ लाग्दैन तर माथि उल्लेख गरिए जस्तै धेरै गफ गर्न नजान्ने र जाँडरक्सी नखाने भएकाले स्वीडेनमा कतिपयले झापाली होइन होला भन्दै जिस्काउनु हुन्थ्यो । झापा - स्याङ्जा लगायत केहि जिल्लाका अधिकांश नागरिक धेरै बाठा हुन्छन् भन्ने मान्यता रहेर पनि होला । तथापि कुनै पनि जिल्लामा सबै प्रकारको मानिस बस्छन् । अनि विदेश बस्ने बित्तिकै पनि सबैले रक्सी खाँदैनन् । मलाई रक्सी खाएर निद्रा लगाउनु पर्दैन किनकी अपवादबाहेक सुत्न खोजेको १ मिनेट नभई निन्द्रा लाग्छ । रक्सीले मातेको आनन्द महसुस छैन तर मलाई मन परेको पुस्तक, खोजमूलक लेख पढ्दा अनि मन परेको व्यक्तिको अन्तर्वार्ता वा जीवनी पढ्दा वा समसामयिक विषयमा आफ्नो धारणा लेख्दा रक्सीले दिने भन्दा कयौँ गुणा बढी आनन्द हुन्छ जस्तो लाग्छ । मलाई रक्सी खाएर तनाव कम हुन्छ वा मनोरञ्जन हुन्छ भन्ने कुरामा पनि विश्वास लाग्दैन। रक्सी आफैँमा खराब नहोला, तर रक्सीले तपाईंहरूलाई खाने अवस्था भने आउन दिनु हुँदैन । विशेष अहिले को युवा पुस्ता जाँडरक्सी र लागुऔषधको कुलतमा फसेको देख्दा दुःख लाग्छ।

[email protected]

सुमन बराल

तपाईँको मत