दृष्‍टिकोण

गाईगोरू मार्दा १२ वर्ष तर श्रीमती मार्दा ८ वर्ष मात्रै जेल !

  • सुमन बराल
  • २६ भदौ शुक्रबार, २०७७ | १३:०३:०० मा प्रकाशित

बहस

नेपालको राष्ट्रिय जनावर गाई हो। नेपालभित्र कतिपयलाई राष्ट्रिय जनवार गाई भएको मन परेको छैन तर बहुसंख्यक नागरिकलाई भने मन परेको छ। गाई काटेर मासु बेचेको आरोपमा मानिसहरु प्रहरीले पक्राउ गर्ने गरेको, कतिपय अवस्थामा गाई काटेको आरोप लाग्नेहरुलाई गोली प्रहार गरि हत्या गरेको, गाई काट्ने र काट्नु हुँदैन भन्ने दुई समूहबीच झडपमा घाइते हुनुका साथै केहि व्यक्तिको हत्या भएको लगायत समाचार नेपालमा बनि रहन्छन्। मुलुकी ऐन बमोजिम जानीजानी गाई वा गोरु मारेमा १२ वर्ष कैद र मार्न आदेश दिनेलाई ६ वर्ष कैद सजायको व्यवस्था गरिएको छ। नेपालमा औमकार परिवार भित्र मानिएका कतिपय समुदायले गाईको मासु खाने गर्छन्। नेपालमा मासु के के खान दिने वा नदिने र कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा यहाँ तीन उपाय राखिएका छन्। यी मध्ये सबै भन्दा उपयुक्त र अधिकांश जनतालाई स्वीकार्य उपाय अवलम्बन गर्न सकिन्छ। 

पहिलो उपाय :-  नेपालमा सबै प्रकारका मासु उत्पादन गर्न, बेच्न र खान प्रतिबन्ध गर्नुपर्छ। बाहुन, क्षेत्रीलगायत हिन्दूहरुले कुखुरा, खसी, बोका लगायत काटेर आफनो संस्कृति अनुसार दुर्गापूजा र देवाली गर्ने अनि कतिपय जनजातिका साथै अन्य विभिन्न धर्मालम्बीहरुले आफनो संस्कृति अनुसार गाई गोरु बली दिने प्रथा दुवै प्रतिबन्धित गर्नु पर्छ।  संसारमा कतिपय अध्येताले मासु स्वास्थ्यका लागि राम्रो होइन भन्ने दावी गर्ने गर्छन्। हिन्दू धर्मका अधिकांश पण्डितहरुले "मानिस मासु खानलाई बनेको प्राणी होइन। मानिसको पाचन शक्ति र दात अन्य मासु खाने प्राणीको भन्दा फरक छ। साकाहारी खानाले स्वास्थ्यलाई फाइदा गर्छ।  मासु खाने तुलनात्मक रुपमा हिंश्रक हुने गर्छन्।"  भन्ने गरेका छन्। हिन्दू धर्म भित्रकै प्रणामी, वैष्णव लगायत समुदायले पनि मासु खाँदैनन्। बुद्ध धर्मावलम्बीहरुमा पनि मूलतः जनावार काटमार गर्नु हुँदैन र मासु खानु हुँदैन भन्ने मान्यता छ। तथापि बुद्ध धर्म भित्रका केहि साम्प्रदायले भने मासु खाने गर्छन्।

विश्वमा मानिस साकाहारी हुने लहर बढी रहेको छ। गाई वस्तुबाट उत्पादित मासु मात्रै होइन दूधजन्य सामग्री समेत नखाने भेगनहरु पनि नेपाल सहित विश्वभरी बढी रहेको छन्।  वातावरण प्रदुषण गर्नमा मासु उद्योगको ठूलो हात रहेको, मासुका लागि पालिने गाई वस्तुलाई खुवाउने खाद्यान्नले संसारका मानिसमा भएको भोकमरी हटाउन सकिने, कुखुरा - पशुपंछी हरुलाई अत्यन्त अमानवीय ढंगले राखिने वा काटिने लगायत कारणले गर्दा विश्वमा साकाहारी हुने लहर बिस्तारै बढेको पाइन्छ। अधिकांश वातावरण र मानव अधिकारकर्मी हरुपनि साकाहारी हुनु राम्रो भनेर वकालत गर्छन। अधिकांश हिन्दूले आमा समान मानेर गाईलाई पूजा गर्छन्। अर्कोतिर, इस्लामहरुले सुँगुरलाई घृणा गरेर खाँदैनन् तर अन्य धर्मावलम्बी हरुले खाने गर्छन्। तसर्थ, कसैलाई पनि मासु खान नदिए पछि कुनै धर्म वा समुहले पूजा गर्ने वा घृणा गर्नेको मासु खाएकोमा विवाद हुन पाउँदैन।  तथापि मानिसलाई मासु नखान प्रेरित गर्दै स्वतः बजार माग घटाउने प्रयास गर्न सकिए पनि सबै प्रकारका मासु प्रतिबन्ध गर्न तत्काल कठिन देखिन्छ।

दोस्रो उपाय :- सबैलाई साकाहारी बनाउन सकिंदैन भने निश्चित पशुपंछी खान नमिल्ने तर अन्यको उत्पादन, बिक्री र खानपिन निश्चित मापदण्ड बमोजिम गर्न पाउने बनाउनु पर्छ। केही मानिसहरूले "मासु सबै एउटै हो, खसी, कुखुरा, गाई, कुकुर लगायत सबै उस्तै भएकाले खान मन हुने लाई खान दिनु पर्छ" भन्ने गरेको कुरा भने उचित होइन। कुनै मानिसले "मलाई मान्छेको मासु खान मन पर्छ। मासुका निम्ति म मानिस पाल्छु गाई वस्तु जस्तै" भने भने के गर्ने? फेरी विश्वमा मानिसको मासु सेवन गर्ने गरेका मानिस हुने गरेको पनि प्रशस्त तथ्य छन्।  तसर्थ, कुनैपनि देशमा निश्चित धर्म वा समुदायका बहुसंख्यक जनताले अत्यन्त सम्मान वा घृणा गर्ने पशुपंक्षी खान प्रतिबन्धित गर्नुपर्छ। 

तेस्रो उपाय :- मानिस लगायत लोपन्मुख वा विशेष महत्व बोकेका पशुपंक्षी बाहेक अन्यलाई मासुका निम्ति उत्पादन, बेचबिखन र खान कानुनी मान्यता दिनुपर्छ। सार्वजनिक स्थानमा नभई निश्चित तोकिएको मासु पसलमा मात्रै मासु काट्न र किन्न पाइने बनाउनु पर्छ। आफूले खोजे बमोजिमको मासु किन्न र मासुमा गुणस्तर कायम गराउन यो उपाय उपयोगी हुने देखिन्छ। सुँगुर खान बर्जित भएका अधिकांश इस्लाम धर्म अपनाएका देशमा समेत तोकिएको ठाउँमा 'मुस्लिम बाहेकका लागि' भनेर सुँगुर बेच्न र खान पाइने व्यवस्था गरिएको हुन्छ। यसो गर्ने हो भने कसैले सम्मान वा घृणा गर्ने पशुपंक्षी सार्वजनिक रुपमा काटिने र विवाद हुने अवस्था अन्त्य हुन्छ। तथापी, भविश्यमा यो उपाय लागु गर्न सकिए पनि तत्काल नेपालमा असम्भव प्रायः देखिन्छ किनकि अत्यन्त ग्रामीण भेगमा मासु पसल हुँदैनन् अनि विभिन्न धर्म र जात जातिको आफैँ पूजा गरेर बली दिने परम्परा छ। 

अधिकांश अवस्थामा हिन्दू धर्म भित्र सबै भन्दा सानो जात भनिएको दलित समुदाय र केहि जनजाति हरुले लुकिछिपी गाई गोरु काट्ने गरेको पाइन्छ। केहि दलित र जनजाति अधिकारकर्मीहरुका अनुसार "बिगतमा कथित उपल्लो जातिका मानिसले आफ्ना मरेका गाई, गोरु लगायतका पशुलाई खानका लागि दलितलाई दिने चलन थियो। गरिबीका कारण र उपल्लो जातको आदेश मान्न उनीहरु वर्षौदेखि गाई, गोरु खाने गर्थे। विशेषगरी दलितभित्र सार्की र चमार थर भएकाहरुलाई छालाको पेशा जबर्जस्ती तोकिएको थियो। गाई लगायत मरेका जनावर व्यवस्थापन गर्नु पर्ने, त्यस बाट जुत्ता लगायत छालाको अन्य सामाग्री उत्पादन गरिदिनु पर्ने उनीहरुको बाध्यता थियो। बिरोधस्वरुप 'सिनो आन्दोलन' समेत बिगतमा भएका छन।" 

कतिपयले "तामाङ लगायत केहि जनजातिहरुले विभिन्न पूजाका निम्ति समेत गाइको बली दिने र गाईको मासु खाने चलन अझै पनि छ। बिगतमा ऋषिमुनि लगायत अन्य हिन्दुहरुले पनि गाई खान्थे। इस्लाम धर्ममा सुँगुर खान ग्रन्थमा नै प्रतिबन्ध गरिएजस्तै हिन्दू धर्मका कुनै पनि मूल ग्रन्थमा गाई खान प्रतिबन्ध गरिएको छैन। तसर्थ, गाई खानेलाई दण्डित गर्नु जायज देखिँदैन" भन्ने गरेको पाइन्छ। हिन्दू धर्मका मूल ग्रन्थहरुमा गाई खान प्रतिबन्ध गरिएको छ वा छैन भन्ने कुरा जानकारहरुले बहस गरेर निर्क्योल गर्ने विषय हुन्। तथापी, सयौँ वर्ष  देखि नेपाल, भारत लगायत देशको सांस्कृतिक, परम्परागत तथा धार्मिक जीवनमा गाईको सम्मानजनक स्थान रहेको छ। 

दूध खाने, गाईको मलमुत्रलाई पूजाआजा र औषधिका निम्ति प्रयोग गर्ने लगायत कारणले नेपालको बहुसंख्यक नागरिकले गाईलाई आमा समान मानेर पूजा गर्छन र गाईको मासु खाँदैनन्। यहिकारण कैलाली जिल्लाको गोदावरी क्षेत्रमा रहस्यमय तरिकाबाट ठूलो संख्यामा गाइको हत्या, लुकिछिपी गाईको मासु खाने लगायत घटनाले नेपालको बहुसंख्यक नागरिकलाई चोट पुग्छ। यसरी हेर्दा, धर्म निरपेक्ष देशको हवाला दिँदै गाई नखाई हुँदैन भन्ने समुदायले बहुसंख्यक नागरिकको आत्मसम्मानका निम्ति कम्तिमा नेपालमा गाई नखानु उचित देखिन्छ। भविश्यमा गाई खानु पर्छ भन्ने समुदायको नेपालमा बहुमत भएमा वा गाईसंग हिन्दू धर्मको कुनै सम्बन्ध नरहेको नेपालका बहुसंख्यक नागरिकहरुले स्वीकार गरेको अवस्थामा सोहि बमोजिम कानुन परिवर्तन गर्न सकिन्छ।

गाई खानु हुँदैन भन्ने आस्थाको सम्मान गर्नै पर्छ तर गाईलाइ पूजा गरिने भएकाले मात्रै गाई खानु हुँदैन भन्ने तर्क भने फितलो छ। हिन्दूसहित अन्य धेरै धर्मावलम्बी पनि, खाद्यान्न लगायत प्रकृतिमा पाइने लगभग सबै कुरा पूजा गर्छन, खानेकुरा भगवानलाई चढाएर खाने गर्छन तर ति कुरा खान बर्जित छैनन्। राष्ट्रिय जनवार भएकै कारण गाईको मासु खानु हुँदैन भन्ने कुरा पनि तर्कसंगत देखिँदैन किनकि राष्ट्रिय फूल लालीगुराँस टिप्न र खान प्रतिबन्धित छैन। अर्कोतिर, अस्ट्रेलिया, स्पेन, स्वीडेन, साउदी अरब, अमेरिका लगायत कतिपय देशमा समेत राष्ट्रिय जनवार खान प्रतिबन्धित छैनन्। गाईगोरु नखानु नै नेपाली सभ्यता र संस्कृति हो भन्ने मान्यताले भविश्यमा द्वन्द्व निम्त्याउन सक्छ।  तसर्थ, गाईको मासु खाने दलित, जनजातिलगायत अन्य समुदायको अधिकारको पनि सम्मान गर्न सक्नुपर्छ वा कम्तिमा गाईलाई आमा समान मान्ने समुदायले पनि गोरुको मासु खानेलाई पनि दण्डित गर्नु पर्छ भन्ने मुडे ढिप्पी त्याग्नु पर्छ।

गाईको मासु खान प्रतिबन्ध गरेपछि दूध दिन छोडेका अनि जोत्न नसक्ने रोगी र बुढा गाईगोरुलाई सडकमा छोड्ने वा मासुका निम्ति बेच्ने हिन्दूलगायत अन्य गाईलाई आमा समान मान्ने धर्मावलम्बी हरुलाई पनि समान रुपमा दण्डित गर्नु पर्छ। ब्याएसम्म बाच्छाबाच्छी ब्याउन लगाउने, दूध दिउन्जेल बाच्छाबाच्छीको भाग समेत खोसेर दूध दुहने तर थारो भए पछि सकेसम्म मियालाई बेच्ने, नसके सडकमा छाडा छोड्ने प्रवृतिले गाईको र हिन्दू धर्मको रक्षा गर्दैन। "दुध दिउञ्जेल आमा समान मान्छौँ, दुध दिन छोडेपछि सडकमा छोड्छौँ वा मासुका निम्ति थोरै पैसाको लोभमा मियालाई बेच्छौँ । नेपाल बाहिर पाले पनि मारे पनि हामीलाई मतलब छैन। फ्यालेको चिजको वास्ता गर्दैनौँ तर नेपालमा चाहिँ काट्न दिँदैनौँ।" भन्ने बुझाइ पाखण्डको पराकास्टा हो। तसर्थ, गाई काटि खानका निम्ति बेच्ने, काट्ने र खाने  समान रुपमा दण्डित हुनु पर्छ। अन्यथा, गाईलाई पनि कुखुरा, खसी लगायत अन्य मासु जस्तै रुपमा लिनु पर्छ।

केहि ठूला सपिङ्ग मल र तारे होटल हरुमा समेत गाईको मासु किन्न र बेच्न प्रतिबन्धित गर्नु पर्छ। गाई खाने गरिबलाई गोली हानी मार्ने तर तारे होटल र ठूला सपिङ्ग मलमा चाहिँ छुट दिने कुरा तत्काल अन्त्य गर्नुपर्छ। गाई र गोरुलाई आफ्नो आमा बाबु समान भनेपछि, उनिहरुलाई आजीवन पाल्नु पर्छ। आफ्नै आमा बुबालाई समेत बृद्दाश्रम र सडकमा पुर्याउने नयाँ पुस्ता बढिरहेको अवस्थामा रोगी र बुढो गाईगोरुलाई पाल्ने सम्भावना न्यून देखिन्छ। तथापी, कम्तिमा आफूलाई गाई र हिन्दू धर्मको रक्षक बताउने व्यक्ति र समुहहरुले सडकमा छाडा छोडिएको गाई गोरुहरुको उचित पालन पोषण गर्नु पर्छ। साथै, धर्म परिवर्तनका निम्ति सहज बनाउन ल्याइएको धर्म निरपेक्षता नभई 'धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको' पक्षमा उभिएका दललाई गाईलाई पूजा गर्ने बहुसंख्यक जनताले मतदान गर्नुपर्छ। 

सबैप्रकारको मासु प्रतिबन्धित गर्ने वा निश्चित मापदण्डमा तोकिएको मासु उपभोग गर्न दिने उपाय अपनाउन सकिन्छ तर मानिसलाई भन्दा गाईगोरु लाई धेरै महत्व दिएको, गाई मार्नेलाई गोली हानी मारिने कुरा जायज देखिँदैन। गाईगोरु मार्दा १२ वर्ष तर श्रीमती मार्दा ८ वर्ष मात्रै जेल सजाय हुने अवस्था आउनु हुँदैन। हाम्रो देश नेपालमा भोकमरीले लाखौँ मानिस पीडित छन्, पेशा - व्यवसायको अभावमा आफ्नो बच्चासंगै आत्महत्या गरेको धेरै उदाहरण छन्, भोक सहन नसकेर घाँस खान बाध्य मानिस पनि हाम्रै देशमा छन, हजारौँ मानिस निको हुने रोगमा समेत उपचारबिहिन भएर मर्न बाध्य छन्, हजारौँ मानिस सडकमा जीवन बिताउन बाध्य छन्, सन्तानले आफ्नै आमा बाबुलाई सडक वा बृद्दाश्रममा छोडेका हजारौँ उदाहरण छन्, आजको २१ औँ शताब्दीमा समेत सानो जात भन्दै विभिन्न दलित समुदायलाई कुट्ने - मार्ने घटनाले निरन्तरता पाएका छन्। यस्तो अवस्थामा मानिस भन्दा गाईलाइ धेरै महत्व दिनु पाखण्डको पराकास्टा हो। यी सबका बाबजुद कुनै पनि देशमा अमन चयन कायम गर्न बहुसंख्यक नागरिकले सम्मान वा घृणा गर्ने कुरालाई मासुका रुपमा प्रयोग हुन् दिनु हुँदैन।

सामाजिक संजालमा भेटिएको एउटा सानो कथा उपयुक्त छ । एउटा गिद्दको बच्चालाई मान्छेको मासु खान असाध्यै मन लागेछ। गिद्धका आमाबुबाले दिनभरी खोज्दा पनि कतै मरेको मानिस भेट्न सकेनछन्। दुवैले जुक्ति लगाएर सुँगुरको मासुको टुक्रा मस्जिदमा अनि गाईको मासुको टुक्रा मन्दिरमा लगेर राखिदिने काम गरेछन्। त्यसपछि इस्लाम र हिन्दु धर्मावलम्बीहरुले एक अर्कालाई दोषारोपण गर्दै काटमार सुरु गरेछन्। यसरी सयौँ मानिसको एकै छिनमा हत्या भएपछि, गिद्धका आमाबुबाले आफ्नो बच्चालाई मान्छेको मासु लगेछन्। आफू सधैँ शक्तिशाली बनिरहन र आफ्नो हतियारको बजार बनाउन शक्तिकेन्द्रहरुले विभिन्न धर्म, जात, भाषा, समुदायबीच द्वन्द्व गराउन चाहन्छन्। उनिहरु गिद्धले जस्तै नेपालसहित विश्वभरी द्वन्द्वकाे बिजारोपण गर्न प्रयासरत छन्। साथै, केहि नेपालका चतुर राजनीतिज्ञहरु धर्मको सहारा लिएर सत्तामा पुग्न प्रयासरत छन र अधिकांश अवस्थामा धर्मको रक्षक र विरोधि दुवैलाई शक्तिकेन्द्रले नै परिचालन गर्ने गर्छन्। तसर्थ, नेपालमा बसोबास गर्ने सबै धर्म र जातजातिका मानिसले एक अर्काको आस्थामाथि सम्मान गर्न आवश्यक छ।

[email protected]

सुमन बराल

तपाईँको मत