दृष्‍टिकोण

“ओली, प्रचण्ड, देउवालाई भन्दा पूर्व राजा ज्ञानेन्द्रलाई देश र जनताको हजारौँ गुणा बढी माया रहेछ”

  • सुमन बराल
  • ८ पौष बुधबार, २०७७ | ०९:५३:०० मा प्रकाशित

प्रधानमन्त्री केपी ओली र  राष्ट्रपति  विद्या भण्डारी अनि  पूर्व प्रधानमन्त्रीहरु  प्रचण्ड, शेर बहादुर देउवा, माधव कुमार नेपाल, झलनाथ खनाललगायत सत्तामा पटकपटक पुगेर असफल र भ्रष्ट साबित भएका नेताहरु भन्दा पूर्व राजा ज्ञानेन्द्रलाई देश र जनताको हजारौँ गुणा बढी माया रहेछ भन्ने विस्तारै प्रमाणित हुँदैछ । ओलीलाई "नेपाल आफूले जोगाएको । आफू नरहे नेपाल रहँदैन, आजीवन आफैँ पदमा रहनु पर्छ" भन्ने भ्रम छ । भ्रम भन्दा पनि यहि नाटक मन्चनलाई उनले जनता अल्मल्याउने र सत्तामा टिकीरहने अस्त्र बनाएका छन् ।  आफ्नो पदका निम्ति संविधान, अन्तर्राष्ट्रिय प्रचलन, जनमत सबैलाई लत्याउन सक्ने यो हदको सत्तालिप्सा ज्ञानेन्द्रमा पनि थिएन । ज्ञानेन्द्रले चाहेको भए २०६२/२०६३ को आन्दोलनमा सेना र प्रहरी लगाएर १० औँ हजार नागरिक मार्न सक्ने थिए  तर उनले धेरै जनधनको क्षति हुन दिएनन् । बरु "जनताको नासो जनतालाई  नै सुम्पिएँ" भनेर  राजगद्दी छोडिदिए ।

राजसंस्था अन्त्य भएपछि अधिकांस देशका राजाले देश छोडेका छन् तर अनेकन अपमान सहेर भए पनि ज्ञानेन्द्र आफ्नो देशमै बसेका छन् । उनि मन्दिर जाँदा वा कुनै सार्वजनिक कार्यक्रममा समाबेस हुँदासमेत गणतन्त्रका नवराजा रानीहरुको सात्तो जाने गरेको छ किनकि "गणतन्त्रका हजारौँ छोटे राजा रानी भन्दा एउटा राजा रानी नै ठिक रहेछन" भन्ने मनस्थितिमा जनता विस्तारै पुगेको देखिँदैछ । "स्वर्गीय राजा बिरेन्द्रको बंश नास हुने गरि रचिएको हत्याकाण्डमा मेरो कुनै पनि संलग्नता छैन र उक्त काण्ड  निष्पक्ष अनुसन्धान गरेर  दोषीलाई कारबाही गर्छु" भन्ने बित्तिकै अहिले राजतन्त्रको पक्षमा सडकमा देखिने नागरिक थेग्न नसक्ने स्थितिमा पुग्छ । यो अवस्था आउनुमा ज्ञानेन्द्रको केहि सबल पक्ष संगै गणतन्त्रका नवराजा रानीहरुको कयौ  दुर्बल पक्ष जिम्मेवार छ । जनतालाई गणतन्त्रका राजा रानी पाल्न भन्दा एउटा राजा रानी पाल्न लाभदायक देखिएको छ ।

म राजतन्त्र वा गणतन्त्र वा कुनै तन्त्र वादी भने होइन किनकि साशक इमान्दार हुने हो भने संसारमा प्रयोगमा आएका सबै तन्त्र दुवै सफल र असफल भएको दृष्टान्त छन् । ओलीले देश र जनताको हित गर्ने भए र  उनी इमान्दार भएको भए, म लगायत लाखौँ नेपालीलाई  उनी आफैँ राजा बने पनि, सेना लगाएर एकलौटी शासन चलाए पनि फरक पर्दैन थियो । मेरो निम्ति जनसंख्या अनुपातमा संभवतः संसारकै सबै भन्दा धेरै नागरिक सस्तो श्रमिक भएर विदेशीएको, संसारकै एक गरिब र भ्रष्ट तर नामको मात्रै लोकतान्त्रिक देश भन्दा साउदी अरब जस्तै एक तानाशाही देश ठिक लाग्छ । कम्तिमा जनताले गाँस,बास, कपास, शिक्षा, श्वास्थ्य जस्ता आधारभूत आवश्यकता पनि पूर्ति नहुने नाम मात्रैको लोकतन्त्र भन्दा देश र जनताको हितमा समर्पित नरम तानाशाही ठिक लाग्छ । तथापि ओलीमा त्यसरी देश र जनताको हित गर्न सक्ने नैतिक बल र इमान नै छैन । उनी नजिक कै मान्छेहरु भ्रष्ट रहेको पटकपटक प्रमाणित भएको छ तर उनले आफैँ न्यायाधीश बनेर चोख्याइदिए । साथै, नेपालमा भारत, चीन वा अमेरिका मद्धे कम्तिमा एउटा देशको दरो समर्थन नरहे सम्म सैनिक शासन वा कुनै पनि प्रकारको कु सम्भव छैन । ओलीको अहिलेको कदम पनि कुनै शक्ति केन्द्रको इसारामा भएको हुन् सक्छ ।

"ओलीलाई काम गर्न दिइएन" भन्नु भनेको सुसुको न्यानोमा एकछिन रमाउने जस्तो मात्रै हो । ३ वर्षसम्म प्रधानमन्त्री पद ओगटेर "विश्व् चकित पार्ने काम गरेको छु । भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न दिन्न" भन्दै गफ चुट्दै हिँड्ने अनि अहिले संसद र पार्टीमा अल्पमतमा पर्ने बित्तिकै काम गर्न दीइएन भनेर लज्जास्पद कुतर्क गर्ने ? ओलीलाई देश र जनताको हित हुने काम गर्न कसले रोकेको छ ? भ्रष्ट र विवादित नभई इमान्दार र योग्यहरुलाई राजनैतिक नियुक्ति गर्न कसले रोकेको छ ? खराब म्यानपावर, कन्सल्टेन्सी, ठेकेदार हरुलाइ दण्डित गर्न कसले रोकेको छ ? प्रमाणित भ्रष्टाचारीलाई कानुन बमोजिम दण्डित गराउन कसले रोकेको छ ? "नक्सा त प्रिन्ट गर्दा हुने कुरा हो जमिन नै फिर्ता ल्याउने हो" भन्दै गफ चुट्ने ओलीलाई भारतसंग ठोस वार्ता गर्न कसले छेकेको छ ?

उखु किसानलगायत किसानहरुको उत्पादनको सहि मूल्य नदिने र करोडौँ पैसा नतिर्ने खराब व्यवसायीलाई दण्डित गर्न कसले छेकेको छ ? ओलीका सबैभन्दा सक्षम र प्रिय सारथी पूर्व मन्त्री गोकुल बास्कोटामाथि लागेको ७० करोड कमिसन काण्ड छानबिन गर्न कसले छेकेको छ ? तसर्थ, जनतालाई रेल, पानी जहाज, स्याटेलाइट, घरघरमा ग्याँसलगायत अनेकन गफ चुट्ने अनि भ्रष्टाचारी र अपराधीहरुको रक्षा गर्ने बाहेक ओलीले केही पनि गरेका छैनन् । स्वास्थ सामग्री खरिदको ओम्नी प्रकरण, राज्यको सम्पतिलाई यतीकरण, ७० करोड कमिसनको कोकुल टेप प्रकरण, आफ्ना आफन्त र आसे पासेलाइ संवैधानिक पद र राजदूतलगायत ठाउँमा राजनैतिक नियुक्ति अनि पोल पोलमा नयाँ युगको सुरुवात ओलीको सबै भन्दा धेरै महसुस गरिएका कार्यक्रम हुन् ।

आफ्नै सहयात्रीहरु प्रधानमन्त्री हुँदा र आफ्नै जीवनसाथी राष्ट्रपति हुँदासमेत स्वर्गीय मदन भण्डारीको षड्यन्त्रपूर्वक ढंगले भएको सवारी दुर्घटना र हत्याको छानबिन नभएकाले कतिपयले उक्त हत्यालाई धेरै शंका उपशंका गर्ने गरेका छन् । पूर्व प्रधानमन्त्री माधव नेपालले त 'सहिद पत्नी ताक्ने ' भनेर घुमाउरो तरिकाले ओली र भण्डारीको सम्बन्ध माथि नै प्रश्न उठाएका थिए । ओली र भण्डारीको सम्बन्ध व्यक्तिगत हो तर उनीहरुको  समन्ध बुढाबुढीको सम्बन्ध भन्दा पनि धेरै माथि छ किनकि ओलीकै कारण मात्रै भण्डारी राष्ट्रपति बन्न पाएको हुन् । साथै, एउटा बुढाबुढीमा कुनै निर्णय गर्न समेत समय लाग्छ, मतमतान्तर हुन्छन् । तथापि प्रधानमन्त्रीले भन्ने बित्तिकै राष्ट्रपतिले एक मिनेटमा सदर अनि अर्को एक मिनेटमा बदर गरिदिने यति प्रिय सम्बन्ध सायद कसैको पनि हुँदैन ।

प्रतिनिधिसभा पुनर्स्थापित हुन्छ वा हुँदैन भन्ने अहिले पेचिलो विषय बनेको छ । मेरो बुझाइमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको ओलीलाई तत्काल समर्थन भएको देखिन्छ । यस अर्थमा ओलीको विपक्षमा निर्णय लिन कार्यकर्ता न्यायाधीशहरुले सक्दैनन । बरु राजतन्त्र हुँदा इमान्दार र स्वतन्त्र न्यायाधीशहरुले राजाको विपक्षमा समेत निर्णय लिने गर्थे । तथापी ओली असफल हुने परिस्थिति स्पष्ट देखिएमा र आफूपनि संगै बस्ने अवस्थामा अथवा शक्ति केन्द्रको दवाबमा भने सर्बोच्चले ओलीको विपक्षमा निर्णय गर्ने सम्भावना छ ।

ओलीको कोरोना महामारीकाबीच चुनाव गराउने नियत र क्षमता दुवै छैन र राजालाई पनि नसहेका जनता सडकमा आउने प्रबल सम्भावना छ । ओलीले आफ्नो कुर्सिका निम्ति जनतामाथि गोली बर्साउन आदेश दिन सक्छन र ठूलो जनधनको क्षति हुन् सक्छ । ओलीको विपक्षमा सडकमा आउने पक्षधरले पनि शान्तिपूर्ण रुपमा आफ्नो विरोध जारी राख्नु पर्छ । आन्दोलनकर्मीको तारोमा आफ्नो घर परिवार पाल्न जागिर खाएका सेना प्रहरी पर्नु हुँदैन र हिँसा नै गर्ने हो भने ठूला नेता केन्द्रित हुनु पर्छ । साथै, यो बेलामा भ्रष्टाचारीहरुलाई सफाया गर्ने वा जेल कोच्ने सामर्थ्य नभए पनि कम्तिमा जनता माथि गोली बर्साउने काम नेपाली सेना र प्रहरीले गर्नु हुँदैन । सेना प्रहरीहरुले भ्रष्टाचारी नेताहरुको आदेश नभई आफ्ना सन्तानको भविश्य सम्झिएर सोहि बमोजिम बिबेक प्रयोग गर्नु पर्छ । भ्रष्ट नेता हरुलाई सलाम गर्न अनि उनीहरुको जनविरोधी आदेश पालना गर्न जनताले आफ्नो रगत पसिनाबाट सिंचित करले सेना प्रहरीलाई सेवा सुविधा दिएका होइनन भन्ने महसुस गर्नु पर्छ ।

कतिपयले प्रचण्ड, माधव नेपालभन्दा ओली नै ठिक भएकाले संसद् विघटन गर्ने कदम लाइ जायज ठानेका छन् । केहिले लोकतन्त्रमा ताजा जनादेशका लागि जनतामा जाने कुरालाई सामान्य रुपमा लिनु पर्ने कुतर्क राख्ने गरेका छन् । अर्को एउटा सानो समूहले विगतमा पनि संसद भंग भएका कारण ओलीको कदमलाई सामान्य रुपले लिनु पर्ने तर्क छ । एउटा व्यक्तिले आफ्नो पदको लागि संविधान मिच्न मिल्दैन अनि बिगतका कमि कमजोरीबाट पाठ सिकेर नै संविधानमा लहडका भरमा संसद भंग गर्न नमिल्ने प्रावधान राखिएका हुन् । दावी गरिए जस्तै ओली संसद र पार्टी दुवैमा बहुमतमा थिए भने उनले किन हतारहतार संसद भंग गर्नु पर्यो ? साथै, ओली संसद र पार्टीमा अल्पमतमा नै  परे भने पनि विधि अनुसार विश्वासको मत जित्ने वा पदबाट राजिनामा दिने लोकतान्त्रिक विधि अवलम्बन गर्नु पर्छ ।

उनिसंग ५० औँ लाख नागरिक सडकमा ल्याउने अथवा अर्को चुनावसम्म कुर्ने लोकतान्त्रिक विधि जीवित थियो । भविश्यमा आफ्नो संसद भित्र अल्पमतमा पर्ने संकेत पाउनेवित्तिकै कुनै सन्की प्रधानमन्त्रीले संसद भंग गर्दै जाने हो भने देशको स्थिति के हुन्छ ? चुनाव गर्न अर्बौं खर्च लाग्छ, के त्यो खर्च ओलीले आफ्नो पुर्ख्याैली सम्पति बेचेर बेहोर्ने हो ? साथै, ओलीले देश र जनताको पक्षमा अलिकति मात्रै राम्रो काम गरिदिएको भए आज ओलीको पक्षमा ५० औँ लाख नागरिक सडकमा हुने थिए । ठिक बिपरित एक जना असक्षम प्रधानमन्त्रीका कारण व्यवस्था कै विरुद्ध जनता सडकमा ओर्लिन थालेका छन् ।

म ओली, देउवा, प्रचण्डलगायत पटकपटक सत्तामा पुगेर असफल प्रमाणित भएका नेता हरुसंग देश र जनताको हित गर्ने नैतिक बल र इमान छैन अनि भविश्यमा अख्तियारमा इमान्दार मानिस पुगेको खण्डमा अधिकांस सत्तामा बसेका ठूला नेता र उच्च पदस्त कर्मचारी आजीवन जेल र सम्पति जफत हुन्छ भन्ने मानिस हुँ । ओली भ्रष्टाचारी र अपराधीहरुको नाइके हुन, नाकाबन्दी ताका जे बोले, त्यो भारतसंग अनुमति लिएर नै बोले तर म लगायत धेरै नेपाली झुक्किए । ओलीको यस्तो लज्जास्पद कदमको समर्थन गर्न मेरो विवेकले दिएन ।

अब नेपाली जनतासंग केवल दुई विकल्प छन्ः

१. जुठोपुरो खान पाएकाले ओली र भण्डारीलाई भगवान मान्ने भ्रष्टाचारी र अपराधीहरु पनि हाम्रो देशमा छन् तर देश र जनताको हित चाहने लाखौँ नागरिक पनि छन् भने देखाउने अवसर भनेको सडक प्रदर्शन र चुनाव नै हो । ढिलो चाँडो चुनाव हुन्छ नै । चुनावमा जनताले आफ्नो बिबेक प्रयोग गरेर इमान्दार नेतृत्वलाइ सत्तामा पुर्याउनु पर्छ । कुनैदिन सरकार र अख्तियारमा इमान्दार नेतृत्व पुगेको खण्डमा आजीवन जेल सजाय हुने र उनीहरुको सबै स्रोत नपुगेको सम्पति राष्ट्रियकरण हुने  कांग्रेस र नेकपाका अधिकांस भ्रष्ट नेता हरुलाई जनताले चुनावबाटै सुरुमा दण्डित गर्न सक्नु पर्छ । तसर्थ, नेकपा र कांग्रेस भित्रबाट नयाँ र इमान्दार नेतृवलाई  जिताउने अथवा विवेकशील-साझा वा अन्य कुनै नयाँ दललाई एक पटक अवसर दिने पहिलो विकल्प छ ।

२. 'सुँगुरले स्वर्गमा मलमुत्र खान पाइँदैन भनेर स्वर्ग नजाने भन्छ'  भन्ने उखान जस्तै, भ्रष्टाचारी र अपराधीहरुको पर्याय बनेका पुरानै दल र नेतृत्वलाई पुन चुनावमा जिताउने । केहि पैसा, जाँड रक्सी, जागिर र मासुभातको लोभमा ओली, प्रचण्ड, देउवालगायत भ्रष्टहरुकै नेतृत्वको नेकपा र कांग्रेसलाई आफ्नो अमूल्य मत बेच्ने । सस्तो श्रमिकका रुपमा विदेशीने । भ्रष्ट नेताहरुलाई उपचार गर्न राष्ट्रको ढुकुटीबाट करोडौँ खर्चिएर विदेश पठाउने अनि करिब ९५% नागरिकलाई अलिकति महँगो रोग लागेको खण्डमा उपचार खर्चका निम्ति चन्दा उठाउने वा आत्महत्या गर्ने तर दोष भने आफ्नै भाग्यलाई दिने दोस्रो विकल्प छ ।

सुमन बराल

Kedar Shrestha लेख्नुहुन्छ ९ पौष, २०७७ १०:०३ pm

गणतन्त्रे नेताहरूमा देशप्रति माया भनेको फिटिक्कै छैन ।

TR Pathak लेख्नुहुन्छ ९ पौष, २०७७ १०:०१ pm

उन्कै पुर्खाको आर्जेको मुलुक हो ।माया उन्लाइ नभए के तिनीहरुलाइ हुने कुरै भएन ।

Rajtantra Jindabad लेख्नुहुन्छ ९ पौष, २०७७ ०८:१८ am

King. is king haamro raja haamro desh praan bhandaa pyaaro 6

Tirtha sigdel लेख्नुहुन्छ ८ पौष, २०७७ १२:१५ pm

Yo 1000 guna sahi ho

Time kattel लेख्नुहुन्छ ८ पौष, २०७७ १२:१४ pm

Jangalikopucchar

ठगुन्ना सुरेश लेख्नुहुन्छ ८ पौष, २०७७ १०:१२ am

जय देश जय नरेश ।

सतिश शाह लेख्नुहुन्छ ८ पौष, २०७७ १०:११ am

अब प्रष्ट हुनुपर्याे, राजाकाे विकल्प देशमा देखिएन ।

jay desh jay naresh लेख्नुहुन्छ ८ पौष, २०७७ १०:१० am

ज्ञानेन्द्रले चाहेको भए २०६२/२०६३ को आन्दोलनमा सेना र प्रहरी लगाएर १० औँ हजार नागरिक मार्न सक्ने थिए तर उनले धेरै जनधनको क्षति हुन दिएनन् । बरु "जनताको नासो जनतालाई नै सुम्पिएँ" भनेर राजगद्दी छोडिदिए ।

unus ansari लेख्नुहुन्छ ८ पौष, २०७७ १०:०९ am

bharsta jati sabailai thunnu parxa desh ko bikasko lagi

uwa aawaz लेख्नुहुन्छ ८ पौष, २०७७ १०:०८ am

ओली, प्रचण्ड, देउवालाई भन्दा पूर्व राजा ज्ञानेन्द्रलाई देश र जनताको हजारौँ गुणा बढी माया रहेछ Sachai ho rahexa

Harish Bohara लेख्नुहुन्छ ८ पौष, २०७७ १०:०७ am

'सुँगुरले स्वर्गमा मलमुत्र खान पाइँदैन भनेर स्वर्ग नजाने भन्छ' भन्ने उखान जस्तै, भ्रष्टाचारी र अपराधीहरुको पर्याय बनेका पुरानै दल र नेतृत्वलाई पुन चुनावमा जिताउने ।

SRISTI lAMA लेख्नुहुन्छ ८ पौष, २०७७ १०:०६ am

फटाहा नेताले देश सके ।

जानुका काफ्ले लेख्नुहुन्छ ८ पौष, २०७७ १०:०५ am

देश जस्ताकाे तस्तै उतार्नुभएकाेमा लेखकलाइ धन्यवाद । यीनिहरू कहिल्यै सुध्रिएनन्, हामीले विश्व्ास गरिरह्याैँ ।

तपाईँको मत